२०८३ जेष्ठ १४

एशियन गेम्स क्वालिफायर्समा आज नेपाली महिला क्रिकेट टिम इन्डोनेसियासँग खेल्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्स क्वालिफायर्स अन्तर्गत इन्डोनेसियासँग खेल्ने तालिका रहेको छ । मलेसियामा हुने यो खेल नेपाली समय अनुसार विहान ११: ४५ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगितामा नेपालको पहिलो खेलमा चीनलाई पराजित गरेर विजयी शुरुवात गरेको छ भने इन्डोनेसियाले पहिलो खेलमा चीनसँग हार बेहोरेको थियो । नेपालले आजको खेल जितेमा सेमिफाइनलमा पुग्ने छ । यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।  

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

Read More

काँग्रेसको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दैछ ।

कांग्रेसको संसदीय दलको बैठक आज बिहान साढे ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।

Read More

विभिन्न विश्वविद्यालयका उपकुलपतिका लागि १८८ आवेदन स्वीकृत

काठमाडौँ । विभिन्न ८ विश्वविद्यालयमा परेमा आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरिएको छ । 

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाबमोजिम प्राप्त २१८ आवेदनहरूमध्ये कार्यविधिको व्यवस्थाबमोजिम विश्वविद्यालयगत रूपमा १८८ दरखास्त स्वीकृत गरिएको हो ।

जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जना,  पूर्वाञ्चल विश्वविद्यालयका लागि ३४ जना,  पोखरा विश्वविद्यालयको लागि ३३ जना,  राजर्षि जनक विश्वविद्यालयका लागि २१ जना, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिका लागि १८ जना, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको लागि १९ जना, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १३ जना, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ७ जनाको आवेदन स्वीकृत भएको समितिले जानकारी दिएको छ ।

Read More

काभा महिला भलिबलको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दै

काठमाडौँ । काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले इरानको सामना गर्दैछ ।

यो खेल साँझ ५ बजेदेखि दशरथ रंगशालास्थित कभर्ड हालमा हुदैछ । यसअघि आजै दिउसो साढे २ बजेदेखि पहिलो सेमिफाइनल खेल भारत र काजकिस्तानबीच हुदैछ ।

समुह चरणमा पुल ए मा रहेको नेपालले २ खेल जितेर ७ अंकसहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो भने इरानले पुल बी मा तिनै खेल जितेर सेमिफाइनलमा पुगेको हो । 

प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिभ्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेशले भाग लिदैछन् । यस प्रतियोगितामा नेपाल पुल ए मा भारत, किर्गिस्तान र माल्दिभ्ससँग रहेको थिए ।

यस प्रतियोगिताका लागि निरुता ठगुन्नाको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला भलिबल टिमको घोषणा गरिएको छ । नेपाली टिममा निरुता ठगुन्ना (कप्तान), उषा भण्डारी, मिना सुनार, सलिना बुढामगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, बसन्ती साउद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, जसना महतो र शान्तिकला तामाङ रहेका छन्

Read More

बकर इदको शुभकामना दिदै राष्ट्रपति पौडेलले भने- समाजमा मेलमिलाप र भाइचाराको भावना बलियो बनाउछ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुस्लिम समुदायको पर्व ईद–उल–अज्हा (बकर इद) का अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै यस पर्वले मातृभूमिप्रतिको आत्मीय सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा मुस्लिम समुदायले ईद–उल–अज्हाका अवसरमा आपसी रिस, राग र द्वेष बिर्सेर खुसी, सद्भाव र शुभकामना साटासाट गर्ने परम्पराले समाजमा मेलमिलाप र भाइचाराको भावना बलियो बनाउने उल्लेख गरिएको छ । खुला स्थान, इदगाह तथा मस्जिदमा नमाज अदा गर्दै हर्षोल्लासका साथ पर्व मनाइने परम्पराले सामाजिक एकता प्रवर्द्धन गर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोकेका यस्ता चाडपर्वले धार्मिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता, सद्भाव, एकता र सहअस्तित्वको भावना मजबुत बनाउने बताउदै विविधताबीचको एकताले राष्ट्रिय भावना अझ प्रगाढ बनाउँदै समानता र भाइचाराको सन्देश फैलाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

सन्देशको अन्त्यमा राष्ट्रपति पौडेलले ईद पर्वले प्रेम, करुणा, त्याग, सहिष्णुता र राष्ट्रिय एकताको भावना थप मजबुत बनाउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

Read More

सनराइजर्सलाई हराउदै राजस्थान रोयल्स आइपिएलको दोस्रो क्वालिफायरमा

काठमाडौँ । राजस्थान रोयल्स जारी आइपिएलको दोस्रो क्वालिफायरमा पुगेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले सनराइजर्स हैदरावादलाई ४७ रनले पराजित गरेर दोस्रो क्वालिफायरमा पुगेको हो ।

राजस्थान रोयल्सले दिएको २४४ रनको लक्ष्य पछाएको सनराइजर्सले १९.२ ओभरमा अल आउट हुदै १९६ रन बनाएको थियो ।

सनराइजर्सका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ र इशान किशनले ३३ र शिभांग कुमारले २७ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर जोफ्रा आर्चरले ३ विकेट लिएका थिए भने नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाउदै २४३ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले २९ बलमा ९७ रन बनाएका थिए । उनले आफ्नो इनिंगमा १२ छक्का र ५ चौका प्रहार गरेका थिए । त्यस्तै ध्रुव जुरेलले २१ बलमा ५० रन बनाएका थिए भने यशश्वी जैसवालले २९ र कप्तान रियान परागले २६ रन बनाएका थिए ।

अब राजस्थानले दोस्रो क्वालिफायरमा गुजरात टाइटन्ससँग शुक्रबार खेल्ने छ । यस खेलको विजेताले आइतबार हुने फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुसँग खेल्ने छ ।

Read More

आज मुस्लिम समुदायले बकर ईद मनाउदै

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद आज मुस्लिम समुदायले मनाउदैछन् । 

इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ ।

यस अवसरमा जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत्अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ । ऐतिहासिक बकर ईद पर्वको आधार बनेका इब्राहिमको वंशमा सन् ५७१ मा मक्कामा मोहम्मद सलल्ला जन्मिई निरन्तरता दिएको बताइन्छ ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो । यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिन्छन् । 

धार्मिक मान्यताअनुसार अल्लाहका नवी(दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो । जसलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यता छ । यसैकारण अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्नत मागेका थिए । अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता थियो । सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्न पर्छ भनेका थिए भन्ने मुस्लिम धर्मावलम्बीको विश्वास छ ।

उनले धेरै जनावर कुर्बानी गरे तर अल्लााह खुशी भएका थिएनन् । अन्तिममा  आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए । यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान(बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जनाएको छ ।

हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भू-भागमा मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।  कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा,  मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

Read More

२०८३ जेठ १४ गते बिहिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ १४ गते बिहिबार ईस २०२६ मे २८ नेपाल सम्बत ११४६ अनालाथ्व  द्धादशी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल द्धादशी, चन्द्रमा तुला राशिमा, चित्रा नक्षत्र, वरियान योग, बालब करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५३ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा तुला राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दहि खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर  ९ मिनेट देखि ६ बजेर ५२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । आज मुस्लिम समुदायको बकर ईद (ईद-उल-अधा) पर्व परेको छ । 

मेष राशि

आजको दिन कामकाजमा सकारात्मक परिवर्तन ल्याउने खालको रहनेछ। रोकिएका योजना अघि बढ्न सक्छन् र नयाँ अवसरहरू पनि प्राप्त हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा तपाईंको मेहनत र निर्णय क्षमताको प्रशंसा हुन सक्छ। आर्थिक रूपमा सामान्य सुधार भए पनि खर्च बढ्न सक्ने भएकाले सावधानी आवश्यक हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो रहनेछ र घरमा रमाइलो वातावरण बन्न सक्छ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा सम्बन्ध अझ मजबुत बन्नेछ। स्वास्थ्यतर्फ थकान र तनाव बढ्न सक्ने भएकाले आराममा ध्यान दिनु राम्रो हुनेछ।

वृष राशि

आजको दिन स्थिर र सन्तुलित रहनेछ। व्यवसाय वा रोजगारीमा क्रमिक प्रगति हुने संकेत छ। आर्थिक रूपमा सानो लाभ प्राप्त हुन सक्छ वा रोकिएको रकम फिर्ता आउने सम्भावना देखिन्छ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र समझदारी बढ्नेछ। स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा लापरवाही नगर्नु राम्रो हुनेछ।

मिथुन राशि

आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा अधुरा काम पूरा गर्न उपयुक्त समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, सञ्चार, लेखन वा सिर्जनात्मक क्षेत्रमा राम्रो उपलब्धि हासिल हुन सक्छ। यात्राको सम्भावना पनि देखिन्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।

कर्कट राशि

आज मन केही संवेदनशील बन्न सक्छ। कामको चाप र जिम्मेवारीले मानसिक थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारसँग समय बिताउँदा राहत महसुस हुनेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ। दिनको अन्त्यतिर मन हलुका बन्ने संकेत देखिन्छ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईंको नेतृत्व क्षमता र निर्णय शक्ति प्रभावकारी देखिनेछ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढाउन सक्छ।

कन्या राशि

आज धैर्य र संयम आवश्यक पर्ने दिन हो। काममा केही ढिलाइ वा अवरोध आउन सक्छन्, तर निरन्तर प्रयासले समाधान मिल्नेछ। आर्थिक रूपमा स्थिरता कायम रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। नयाँ योजना वा लगानी अघि बढाउँदा सोचविचार गर्नु उपयुक्त हुनेछ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक र उपलब्धिमूलक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुने सम्भावना बलियो छ। आर्थिक रूपमा सुधार आउने संकेत देखिन्छ। प्रेम सम्बन्धमा खुसी र निकटता बढ्नेछ। सामाजिक भेटघाट र सहकार्यबाट लाभ मिल्न सक्छ। कला, संगीत वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने समय हो। परिवारमा रमाइलो वातावरण बन्नेछ।

वृश्चिक राशि

आज जिम्मेवारी र कामको दबाब बढ्न सक्छ। मेहनतअनुसार राम्रो परिणाम प्राप्त हुने सम्भावना छ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। स्वास्थ्यमा आरामको कमीले थकान महसुस हुन सक्छ, त्यसैले पर्याप्त विश्राम आवश्यक हुनेछ।

धनु राशि

आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। रोकिएका कामहरू अघि बढ्नेछन्। आत्मविश्वास बढ्नेछ र सकारात्मक सोचले सफलता दिलाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत छन्। परिवार र साथीभाइसँगको सम्बन्ध राम्रो रहनेछ। विद्यार्थीहरूका लागि दिन उपलब्धिमूलक बन्न सक्छ।

मकर राशि

आज काममा स्थिरता आउनेछ। जिम्मेवारी धेरै भए पनि मेहनत र धैर्यले राम्रो परिणाम दिलाउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारको साथ र सहयोगले मनोबल बढाउनेछ। भविष्यका योजना वा लगानीबारे सोच्ने समय उपयुक्त देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर प्राप्त भए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ, सहयोग र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्नेछ। अध्ययन, कला, लेखन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।

Read More