२०८३ जेष्ठ २३

यो सरकार गरिबको होइन, शक्तिशालीको पक्षमा उभिएको छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारमाथि गरिब, सुकुम्वासी र निमुखा वर्गको हितविपरीत काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार राजधानीमा आयोजित अखिल नेपाल महिला संगठन एकताको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकार जनसरोकारभन्दा टाढिएको टिप्पणी गरे।

पाण्डेले भदौ २३–२४ को ‘जेन–जी आन्दोलन’ योजनाबद्ध घटनाको परिणाम भएको दाबी गर्दै कम्युनिष्ट शक्तिहरूलाई पुनः संघर्षका लागि तयार रहन आग्रह गरे। उनले आन्दोलनका क्रममा राज्यका संवेदनशील संरचना तथा राजनीतिक नेतृत्वका घरमा भएको आगजनीको उल्लेख गर्दै निर्वाचित संसद् विघटन गरिएको आरोपसमेत लगाए।

Read More

स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीको कोर्स अनिवार्य- सभापति थापा

काठमाडौं । नेपाली कां‌ग्रेसका सभापति गगन थापाले लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा नगरे स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन् ।

शनिबार नेपाली काँग्रेसको भातृसंघ नेपाल थारु संघको महाअधिवेशनको उद्घाटन सत्रमा बोल्दै सभापति थापाले स्थानीय तहमा काँग्रेसबाट उम्मेदवार बन्न लिडरशिप एकेडेमीमा भर्ना भई निर्धारित कोर्स पूरा गर्नुपर्ने बताएका हुन् ।

सभापति थापाले भने- ‘हामीले अहिले नेतृत्वको एउटा छुट्टै युनिट बनाएका छौं, लिडरशिप एकेडेमी भनेर, जसमा पार्टीको तर्फबाट अब हामी केही दिनमा यसको खुला आह्वान गर्छौं । ७५३ पालिकामा निर्वाचन लड्न चाहने, इच्छा राख्नुभएको कोही पनि हुनुहुन्छ, म उम्मेदवार बन्न चाहन्छु भनेर कोही अहिले दोहोरिन चाहनुभएको छ वा नयाँ उम्मेदवार बन्न चाहनुभएको छ भने अनिवार्य रुपमा लिडरशिप एकेडेमीमा भर्ना हुनैपर्छ र एउटा कोर्स पूरा गर्नैपर्छ । त्यो कोर्स पूरा गरिसकेपछि मात्रै त्यसका निम्ति योग्य बनिन्छ ।’

उनले नेतृत्व विकासका लागि लिडरशिप एकेडेमीको छुट्टै संरचना स्थापना गरिएको स्पष्ट गरेका थिए ।

Read More

लिभरपुलका मुख्य प्रशिक्षक आर्ने स्लट बर्खास्त

काठमाडौँ । प्रिमियर लिग क्लब लिभरपुलले मुख्य प्रशिक्षक आर्ने स्लटलाई बर्खास्त गरेको छ ।

यस सिजनमा क्लबले खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक स्लटलाई क्लबले तत्काल प्रभावबाट लागु हुने गरि बर्खास्त गरेको जानकारी दिएको छ । क्लबले नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया शुरु भएको जानकारी दिदै आफ्नो नाममा प्रिमियर लिग उपाधि र क्लबसँग गहिरो कृतज्ञता र प्रशंसाका साथ स्लट बिदा भएको उल्लेख गरेको छ ।

नेदरल्याण्डसका ४७ बर्षिय स्लट २०२४ को जुन १ मा लिभरपुलको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा लिभरपुलले खेलेका ११३ खेल मध्ये ६६ खेल जितेको थियो भने २८ खेलमा हार र १९ खेल बराबरी खेलेको थियो ।

उनले लिभरपुललाई २०२४-२५ सिजनको प्रिमियर लिगको उपाधि जिताएका थिए भने सोहि सिजनमा इएफएल कपको उपविजेता बनाएका थिए ।

Read More

चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको ई-रिक्सालाई ना ८ ख ३२०५ नम्बरको टिप्पनले ठक्कर दिदा ई-रिक्साका चालकसहित ८ जना घाइते भएका छन् ।

घाइतेहरुको हाल मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले ई-रिक्सा, टिप्पर र टिप्परका चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

Read More

रोजगारीको प्रलोभनमा भारतमा अलपत्र पारिएका ४५३ नेपाली नागरिकको उद्धार

बुटवल । रोजगारीको प्रलोभनमा भारतमा अलपत्र परेका ४५३ नेपाली नागरिकको उद्धार गरिएको छ ।

रुपन्देही प्रहरीका अनुसार भारतको कुशीनगर क्षेत्रमा रोजगारीको प्रलोभनमा परि अलपत्र परेका ४५३ जनाको उद्धार गरिएको हो ।

उनीहरुलाई भारतस्थित नेपाली दुताबास एवं भारतीय प्रहरीको समन्वयमा उद्धार गरि बेलहिया नाका मार्फत नेपाल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

Read More

प्रचण्ड अस्वस्थ्य, मेडीसिटीमा भर्ना

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड अस्वस्थ भएका छन् । 

प्रचण्डलाई केहि दिन अघिदेखि ज्वरो आइरहेको र हाल निमोनिया देखिएपछि शनिबार बिहान ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

शनिबार बिहान अस्पताल पुगेका प्रचण्डको हाल स्वास्थ्य सामान्य भएपनि चिकित्सकको सल्लाह अनुसार भर्ना गरिएको बताइएको छ ।

अस्वस्थ भएकैले उनी शुक्रबारको बजे भाषणमा संसदमा समेत अनुपस्थित रहेका थिए । 

Read More

झापामा बोरामा भेटियो महिलाको शव

झापा । झापामा प्लाष्टिकको बोरामा महिलाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार बिहान दमक- १० सेतुमाडी स्थित रहेको रतुवाखोलाको पुल मुनी बगिरहेको पानीमा प्लाष्टिकको बोरामा महिलाको शव भेटिएको हो ।

प्रहरीले मृतकको हालसम्म पहिचान नहुलेको र अनुसन्धान जारी रहेको जनाएको छ ।

Read More

कमल थापा भन्छन्- पार्टीमा नेतृत्वले सम्मान र अपनत्वको वातावरण बनाउनुपर्छ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता महसुस गर्दै विगतका तितामीठा अनुभवलाई बिर्सेर आफूहरू पार्टीमा आबद्ध भएको बताएका छन् ।

उनले राजनीतिक यात्रामा चुनावी हारजित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै त्यसबाट विचलित वा निराश हुन आवश्यक नरहेको बताएका छन् । राप्रपाको भविष्य उज्ज्वल रहेको दाबी गर्दै उनले पार्टीले अंगालेका विचार र सिद्धान्त कहिल्यै समाप्त नहुने बताएका छन् ।

थापाले पार्टीभित्र केही समस्या र विकृतिहरू रहेको स्वीकार गर्दै तिनको समाधान पार्टीभित्रै खोज्नुपर्ने धारणा राखेका छन् । उनले निकट भविष्यमा हुने महाधिवेशनले पार्टीलाई नयाँ ऊर्जा र स्पष्ट दिशा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनका अनुसार पार्टी नेतृत्वले सबैलाई समेटेर अघि बढ्नुपर्ने, सबै सदस्यमा सम्मान र अपनत्वको भावना कायम हुने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता छ ।

पार्टीबाट अलग हुने वा निष्क्रिय बस्ने मनस्थिति नराख्न कार्यकर्ता र समर्थकहरूलाई आग्रह गर्दै थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सबै राष्ट्रवादी नेपालीहरूको साझा शक्ति तथा बलियो राष्ट्रिय विकल्पका रूपमा स्थापित गर्न एकजुट हुन आह्वान गरेका छन् ।

Read More

परिक्षण रिपोर्टमा कस्तो देखियो ट्रम्पको स्वास्थ्य ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था उत्कृष्ट रहेको भन्दै ह्वाइट हाउसले नयाँ स्वास्थ्य प्रतिवेदन सार्वजनिक गरेको छ । आगामी जुन १४ मा ८० वर्ष पुग्न लागेका ट्रम्प राष्ट्रपति पदको जिम्मेवारी निर्वाह गर्न पूर्ण रूपमा सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ह्वाइट हाउसका चिकित्सक डाक्टर शन पी. बारबाबेलाले ट्रम्पको मुटु, फोक्सो र स्नायु प्रणालीको स्वास्थ्य बलियो रहेको बताएका छन् । प्रतिवेदनअनुसार ट्रम्पले कोलेस्ट्रोल नियन्त्रणका लागि दुई तथा मुटुसम्बन्धी जोखिम न्यूनीकरणका लागि एक गरी तीन प्रकारका औषधि सेवन गरिरहेका छन् ।

गत मंगलबार वाल्टर रीड नेशनल मिल्ट्री मेडिकल सेन्टरमा गरिएको स्वास्थ्य परीक्षणमा २२ जना विशेषज्ञ चिकित्सक सहभागी भएका थिए । परीक्षणका क्रममा शरीरको विस्तृत परीक्षण, मुटुको परीक्षण, क्यान्सर परीक्षण तथा अन्य रोकथामसम्बन्धी स्वास्थ्य जाँच गरिएको थियो ।

प्रतिवेदनमा ट्रम्पको मानसिक तथा शारीरिक कार्यक्षमता उत्कृष्ट रहेको उल्लेख छ । नियमित बैठक, सार्वजनिक कार्यक्रम र सक्रिय जीवनशैलीले उनको समग्र स्वास्थ्यलाई सकारात्मक सहयोग पुर्‍याएको चिकित्सकहरूको निष्कर्ष छ ।

स्वास्थ्य प्रतिवेदनअनुसार ट्रम्पको तौल हाल करिब १०८ किलोग्राम पुगेको छ। अघिल्लो वर्ष गरिएको परीक्षणमा उनको तौल करिब १०१ किलोग्राम रहेको थियो । उनको उचाइ ६ फिट ३ इन्च रहेको जनाइएको छ। चिकित्सकहरूले तौल घटाउन, स्वस्थ खानपान अपनाउन तथा शारीरिक गतिविधि बढाउन सुझाव दिएका छन् ।

पछिल्ला केही महिनादेखि ट्रम्पका हातमा देखिएका दागबारे पनि प्रतिवेदनमा स्पष्टीकरण दिइएको छ । बारम्बार मानिससँग हात मिलाउने तथा मुटुसम्बन्धी औषधिको प्रयोगका कारण हल्का दाग देखिएको चिकित्सकहरूको भनाइ छ ।

प्रतिवेदनमा ट्रम्पको खुट्टाको तल्लो भागमा देखिएको सामान्य सुन्निने समस्या अघिल्लो वर्षको तुलनामा सुधार भएको उल्लेख गरिएको छ । यसअघि ह्वाइट हाउसले उनलाई उमेरसँग सम्बन्धित रक्तसञ्चारसम्बन्धी समस्या रहेको जानकारी दिएको थियो ।

अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरमा राष्ट्रपति पद सम्हाल्ने नेतामध्ये एक मानिएका ट्रम्पको स्वास्थ्य अवस्थाबारे पछिल्लो समय विभिन्न चर्चा हुँदै आएको छ। यद्यपि ट्रम्प र उनका सहयोगीहरूले आफूलाई कुनै गम्भीर स्वास्थ्य समस्या नरहेको दाबी गर्दै आएका छन् ।

स्वास्थ्य प्रतिवेदनमा ट्रम्पको मुटुको वास्तविक उमेर उनको जैविक उमेरभन्दा १४ वर्ष कम रहेको दाबी पनि गरिएको छ । यद्यपि केही स्वतन्त्र चिकित्सकहरूले यस्तो विवरण स्वास्थ्य प्रतिवेदनमा समावेश गरिनु असामान्य भएको टिप्पणी गरेका छन् ।

स्वास्थ्य परीक्षणपछि ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत सबै परीक्षणको नतिजा उत्कृष्ट आएको प्रतिक्रिया दिएका थिए । तर केही स्वास्थ्य विज्ञहरूले छ महिनामै पूर्ण स्वास्थ्य परीक्षण गरिएको दाबीमाथि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार सामान्यतया विस्तृत स्वास्थ्य परीक्षण वर्षमा एकपटक मात्र गरिने प्रचलन छ ।

Read More

विद्युतमा भ्याट लगाउने सरकारको निर्णयप्रति कुलमान घिसिङको आपत्ति

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशतका दरले मूल्य अभिवृद्धि कर लगाउने निर्णयप्रति कडा आपत्ति जनाएका छन् ।

घिसिङले यो निर्णय आम उपभोक्ताको हितविपरीत, ऊर्जा रूपान्तरणको लक्ष्यविपरीत तथा देशभित्र उत्पादन भएको स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानसँग मेल नखाने भएको भन्दै यसको विरोध गरेका छन् ।

घिसिङले नेपालमा विद्युत पहुँच विस्तार भएसँगै घरायसी प्रयोजनमा विद्युत प्रयोग बढ्दै गएको उल्लेख गर्दै खाना पकाउने, पानी तताउने तथा अन्य घरेलु काममा विद्युत प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा उल्टै करको भार थपिएको बताएका छन् । उनका अनुसार मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने अधिकांश उपभोक्ता सामान्य घरपरिवार नै हुन्, जसले यस्तो निर्णयबाट प्रत्यक्ष असर भोग्नुपर्नेछ । उनले करको कारण लाखौँ परिवारको मासिक खर्च बढ्ने र भान्साको लागत समेत महँगो हुने चेतावनी दिएका छन् । साथै देशभित्रै उत्पादन भएको विद्युतको खपत बढाउने नीति ल्याउनुको सट्टा सरकारले उल्टै प्रयोग घटाउने कदम चालेको उनको आरोप छ ।

घिसिङले यो नीतिले विद्युतीय चुलो लगायतका उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ निर्भरता बढाउन सक्ने भन्दै यसले राष्ट्रिय ऊर्जा सुरक्षा, व्यापार घाटा न्यूनीकरण र हरित अर्थतन्त्र निर्माणको लक्ष्यलाई कमजोर बनाउने बताएका छन् ।

उनले विद्युतको आन्तरिक खपत बढाउनु आजको आवश्यकता भएको भन्दै महसुल प्रणालीलाई अझ न्यायोचित, प्रगतिशील र उपभोक्तामैत्री बनाउनुपर्नेमा जोड दिएका छन् । साथै नयाँ करको बोझ थप्नुको सट्टा स्वदेशी विद्युत उपयोग र स्वच्छ ऊर्जाको प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।

उनले उपभोक्तामाथि लगाइएको ५ प्रतिशत अतिरिक्त कर तत्काल फिर्ता लिन सरकारसँग जोडदार माग गरेका छन् ।

Read More