२०८३ भाद्र ३०

ब्राजिललाई हराउँदै नर्वे अन्तिम आठमा, हालान्ड बने जितका नायक

काठमाडौं। एर्लिङ हालान्डको दुई गोलको प्रेरणामा नर्वेले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा नर्वेले आक्रामक खेल प्रस्तुत गर्दै खेल आफ्नो पक्षमा पार्न सफल भयो।

खेलको ७९औँ मिनेटमा आन्द्रेस सेलड्रुपको आकर्षक पासलाई सदुपयोग गर्दै हालान्डले पहिलो गोल गरे। त्यसपछि निर्धारित समयको अन्तिम मिनेट (९०औँ) मा उनले व्यक्तिगत दोस्रो गोल गर्दै नर्वेको अग्रता दोब्बर बनाए।

हार टार्ने प्रयासमा रहेको ब्राजिलले इन्जुरी समयमा पेनाल्टी पाएको थियो। कप्तान नेइमारले त्यसलाई गोलमा परिणत गरे पनि त्यसपछि थप गोल गर्न नसक्दा ब्राजिलको यात्रा प्रि–क्वार्टरफाइनलमै टुंगियो।

यस जितसँगै नर्वे विश्वकपको अन्तिम आठ (क्वार्टरफाइनल) मा प्रवेश गरेको छ भने पाँचपटकको विश्वविजेता ब्राजिल प्रतियोगिताबाट बाहिरिएको छ।

Read More

टेलिटकद्वारा पोको एम८ सिरिजका दुई स्मार्टफोन सार्वजनिक

काठमाडौँ । टेलिटकले नेपाली बजारमा POCO M8 सिरिज अन्तर्गत दुई नयाँ ५जी स्मार्टफोन सार्वजनिक गरेको छ।

शक्तिशाली ब्याट्री, उच्च क्षमताको प्रोसेसर, आकर्षक डिस्प्ले र आधुनिक क्यामेरा प्रणालीसहितका यी स्मार्टफोनले मध्यम मूल्य वर्गका प्रयोगकर्तालाई लक्षित गरेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार POCO M8 5G मा ७,०००mAh क्षमताको ठूलो ब्याट्री दिइएको छ, जसले लामो समयसम्म चार्जको चिन्ता बिना फोन प्रयोग गर्न सकिने सुविधा प्रदान गर्छ। यसमा ३३ वाट टर्बो चार्जिङ र १८ वाट रिभर्स चार्जिङको सुविधा पनि उपलब्ध छ।

फोटोग्राफीका लागि यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ। साथै, ६.९ इन्चको फुल एचडी प्लस डिस्प्ले, १४४ हर्जसम्मको रिफ्रेस रेट तथा Snapdragon 6s Gen 3 प्रोसेसरले गेमिङ, भिडियो स्ट्रिमिङ र दैनिक प्रयोगलाई अझ सहज बनाउने कम्पनीको दाबी छ।

त्यसैगरी POCO M8 Pro 5G लाई सिरिजकै प्रिमियम मोडेलका रूपमा सार्वजनिक गरिएको छ। यसमा ६.८३ इन्चको CrystalRes AMOLED डिस्प्ले, १.५K रिजोलुसन, १२० हर्ज रिफ्रेस रेट तथा अधिकतम ३,२०० निट्स ब्राइटनेस रहेको छ, जसले उत्कृष्ट भिजुअल अनुभव दिने कम्पनीले जनाएको छ।

यस स्मार्टफोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश गरिएको छ। ६,५००mAh ब्याट्री, १०० वाट हाइपरचार्ज र २२.५ वाट रिभर्स चार्जिङ सुविधाले यसलाई अझ प्रभावकारी बनाएको छ। फोनमा ४ न्यानोमिटर प्रविधिमा आधारित Snapdragon 7s Gen 4 प्रोसेसर प्रयोग गरिएको छ।

दुवै स्मार्टफोनमा IP वाटर तथा डस्ट रेसिस्टेन्स सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ, जसले धुलो र पानीका छिटाबाट फोनलाई सुरक्षित राख्नेछ।

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन र किफायती मूल्यलाई एउटै प्याकेजमा उपलब्ध गराउने उद्देश्यले POCO M8 सिरिज नेपाली बजारमा ल्याइएको बताए। उनका अनुसार यी फोनले दैनिक प्रयोगदेखि गेमिङ र मनोरञ्जनसम्म उत्कृष्ट अनुभव दिनेछन्।

POCO M8 5G कालो र सेतो रंगमा उपलब्ध हुनेछ। यसको ६GB र्याम/१२८GB स्टोरेज संस्करणको मूल्य रु. ३७,९९९ तथा ८GB र्याम/२५६GB स्टोरेज संस्करणको मूल्य रु. ४४,९९९ तोकिएको छ।

त्यसैगरी POCO M8 Pro 5G कालो, हरियो र चाँदी रंगमा उपलब्ध हुनेछ। ८GB र्याम र २५६GB स्टोरेज भएको यस मोडेलको मूल्य रु. ५६,९९९ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार दुवै स्मार्टफोनमा एक वर्षको आधिकारिक वारेन्टी तथा अधिकतम ९ महिनासम्मको ईएमआई सुविधा उपलब्ध हुनेछ।

ग्राहकले यी फोनहरू टेलिटकका आधिकारिक शोरुम, आधिकारिक बिक्रेता तथा दराजमार्फत खरिद गर्न सक्नेछन्।

Read More

मौसम पूर्वानुमान : प्रदेशअनुसार आजको मौसम

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदरभन्दा दक्षिणतर्फ तथा पश्चिमी भू–भागमा सरदर स्थानको आसपास अवस्थित छ। यसको प्रभावले अधिकांश प्रदेशमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश

कोशी प्रदेशमा दिनभर आंशिकदेखि साधारणतया बदली रहनेछ। पहाडी तथा हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्छ। रातिको समयमा पहाडी तथा तराईका केही स्थानमा वर्षा जारी रहनेछ भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

मधेस प्रदेश

मधेस प्रदेशमा बिहान आंशिक बदली रहनेछ भने दिउँसो केही स्थानमा बादल विकास भई मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ। एक–दुई स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। राति पनि केही स्थानमा वर्षाको सम्भावना रहनेछ।

बागमती प्रदेश

बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना छ। पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्छ भने तराईका थोरै स्थानमा पनि वर्षाको सम्भावना छ। रातिको समयमा पहाडी तथा तराईका केही स्थानमा वर्षा जारी रहनेछ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा दिनभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्छ। रातिको समयमा प्रदेशका केही स्थानमा वर्षा जारी रहनेछ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्को अनुमान छ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशमा पहाडी तथा तराई दुवै क्षेत्रमा साधारणतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। राति पनि वर्षा जारी रहने सम्भावना रहेको छ। प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन सुझाव दिइएको छ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। रातिको समयमा पनि पहाडी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका थोरै स्थानमा पनि वर्षा हुन सक्छ। रातिको समयमा प्रदेशका केही स्थानमा वर्षा जारी रहने सम्भावना छ।

आज कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। साथै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोलानालाको आसपास बसोबास गर्ने, सडक यात्रा गर्ने तथा पहिरोको जोखिम भएका क्षेत्रमा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

Read More

आजको राशिफल: २०८३ असार २२ गते (६ जुलाई २०२६), सोमबार

आज आषाढ कृष्णपक्ष षष्ठी तिथि बिहान ९ः३९ बजेसम्म रहनेछ भने त्यसपछि सप्तमी तिथि प्रारम्भ हुनेछ। पूर्वभाद्रपदा नक्षत्र दिउँसो १ः०० बजेसम्म रहनेछ र त्यसपछि उत्तरभाद्रपदा नक्षत्रको प्रभाव सुरु हुनेछ। चन्द्रमा बिहान ६ः५८ बजेसम्म कुम्भ राशिमा रहनेछन् भने त्यसपछि मीन राशिमा प्रवेश गर्नेछन्।

आजको दिन बिहानसम्म पूर्वभाद्रपदा नक्षत्रको प्रभाव रहने भएकाले नयाँ योजना, दूरदर्शी सोच तथा अधुरा कामको समीक्षा गर्न अनुकूल समय रहनेछ। त्यसपछि उत्तरभाद्रपदा नक्षत्र सक्रिय हुने भएकाले धैर्य, संयम, आध्यात्मिक सोच, जिम्मेवारी र दीर्घकालीन उपलब्धिमा केन्द्रित रहने संकेत देखिन्छ। बिहानपछि चन्द्रमा मीन राशिमा प्रवेश गर्ने भएकाले भावना, सिर्जनशीलता, पारिवारिक सम्बन्ध र सहकार्यको महत्व बढ्नेछ। आज केही राशिका व्यक्तिहरूले करियर, व्यवसाय र आर्थिक क्षेत्रमा राम्रो अवसर प्राप्त गर्नेछन् भने केहीले खर्च, स्वास्थ्य, निर्णय तथा सम्बन्धमा संयमता अपनाउनु लाभदायी हुनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो,

आज आर्थिक पक्षमा केही दबाब महसुस हुन सक्छ। आवश्यक खर्च बढ्ने तथा भविष्यका लागि केही योजना परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। व्यवसायमा थप लगानीको आवश्यकता देखिए पनि त्यसले दीर्घकालीन लाभ दिने सम्भावना छ। पुराना कमजोरी सुधार्ने अवसर प्राप्त हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ भने यात्रा वा नयाँ योजनाको सम्भावना पनि देखिन्छ। धैर्यका साथ अघि बढ्दा अपेक्षित परिणाम क्रमशः प्राप्त हुनेछ।

वृष – Taurus

, , , , वा, वि, वु, वे, वो

आजको दिन प्रगति र उपलब्धिको संकेत बोकेको छ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ भने मेहनतको उचित प्रतिफल पनि मिल्नेछ। आर्थिक पक्ष बलियो बन्नेछ र रोकिएका काम पूरा हुनेछन्। व्यवसाय, साझेदारी तथा लगानीका क्षेत्रमा सकारात्मक अवसर प्राप्त हुन सक्छ। परिवारका आवश्यकताहरू सहज रूपमा पूरा हुनेछन्। सही निर्णयले अपेक्षाभन्दा राम्रो लाभ दिलाउने सम्भावना देखिन्छ।

मिथुन – Gemini

का, कि, कु, , , , के, को, हा

मेहनतको राम्रो प्रतिफल प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ र प्रतिष्ठा प्राप्त गर्ने अवसर मिल्नेछ। व्यापार तथा व्यवसायमा लाभका संकेत देखिएका छन्। भूमि, सम्पत्ति वा पारिवारिक स्रोतबाट फाइदा हुन सक्छ। सहयोगीहरूको साथले उत्साह बढ्नेछ। यद्यपि विश्वास गर्दा सावधानी अपनाउनु उपयुक्त हुनेछ, किनकि नजिकका व्यक्तिबाट अपेक्षाअनुसार सहयोग नपाउने सम्भावना पनि देखिन्छ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

आज कामको जिम्मेवारी बढ्न सक्छ। अपेक्षाअनुसार परिणाम नआए पनि निरन्तर प्रयासले भविष्यका लागि राम्रो आधार तयार हुनेछ। स्वास्थ्यमा सामान्य थकान वा कमजोरी महसुस हुन सक्छ, त्यसैले आरामलाई पनि महत्व दिनु उपयुक्त हुनेछ। अरूको भरभन्दा आफ्नै सक्रियतामा विश्वास गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। दीर्घकालीन योजनामा लगानी गर्ने समय अनुकूल देखिन्छ।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

पुराना विषय वा अधुरा काम फेरि अगाडि आउन सक्छन्। हल्ला वा अपुष्ट जानकारीको पछि लाग्नुभन्दा तथ्यमा आधारित निर्णय गर्नु लाभदायी हुनेछ। शुभचिन्तकहरूको सुझावले कठिनाइ समाधान गर्न सहयोग पुग्नेछ। तत्काल ठूलो उपलब्धि नदेखिए पनि धैर्यका साथ अघि बढ्दा क्रमशः सफलता प्राप्त हुनेछ। स्वास्थ्य र व्यक्तिगत गोपनीयतामा विशेष ध्यान दिनु उपयुक्त हुनेछ।

कन्या – Virgo

टो, पा, पि, पु, , , , पे, पो

आजको दिन उत्साहपूर्ण र लाभदायक रहने संकेत छ। प्रियजनसँगको भेटघाटले मन प्रसन्न हुनेछ। व्यवसाय वा पेशासम्बन्धी रमाइलो यात्रा हुन सक्छ। मेहनतको प्रतिफलस्वरूप जीवनशैलीमा सकारात्मक परिवर्तन आउने सम्भावना छ। आफन्त र शुभचिन्तकहरूको साथले आत्मविश्वास बढ्नेछ। पारिवारिक वातावरण सुखद रहनेछ र नयाँ अवसरले उत्साह थप्नेछ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

रोकिएका काम पुनः अघि बढ्नेछन्। प्रतिस्पर्धात्मक क्षेत्रमा राम्रो सफलता प्राप्त गर्ने सम्भावना छ। आफ्ना योजना गोप्य राख्दै निरन्तर प्रयास गरे अपेक्षित उपलब्धि हासिल गर्न सकिनेछ। स्वास्थ्य राम्रो रहनेछ र आत्मविश्वास बढ्नेछ। केही चुनौती आए पनि बुद्धिमानीपूर्वक सामना गर्दा विजय प्राप्त हुनेछ। आवश्यक यात्रा वा कार्यका लागि खर्च हुन सक्ने संकेत देखिन्छ।

वृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज केही योजनामा ढिलाइ वा अलमल हुन सक्छ। हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। आफ्नो मेहनतको प्रतिफल अरूले लिन खोज्न सक्छन्, त्यसैले काममा सतर्कता आवश्यक छ। स्वास्थ्यप्रति ध्यान दिनु उपयुक्त हुनेछ। अध्ययन वा नयाँ योजना तत्काल अघि नबढे पनि बुद्धिमानीपूर्वक काम गर्दा व्यवसायमा सामान्य लाभ प्राप्त हुनेछ। नयाँ सुरुवातका लागि केही समय प्रतीक्षा गर्नु लाभदायी हुनेछ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आज परिस्थितिअनुसार लचिलो भएर अघि बढ्नु आवश्यक हुनेछ। हतारमा गरिएको निर्णयले समस्या निम्त्याउन सक्छ। आफ्ना योजनामा सबैको साथ नपाउने सम्भावना भएकाले संयमता अपनाउनु राम्रो हुनेछ। बोली र व्यवहारमा सावधानी अपनाउँदा सम्बन्ध बलियो रहनेछन्। परिवार, विशेषगरी आमाको सहयोगले महत्त्वपूर्ण काम सम्पन्न गर्न सहज हुनेछ।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, , खि, खु, खे, खो, गा, गि

मेहनत र आत्मविश्वासले राम्रो उपलब्धि दिलाउने दिन रहेको छ। व्यवसाय, उद्योग तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। शत्रु वा प्रतिस्पर्धी कमजोर बन्नेछन्। सहयोगी तथा अग्रजको साथले महत्वपूर्ण काम सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक लाभका अवसर देखिए पनि सबै परिणाम अपेक्षाअनुसार नहुन सक्छन्। धैर्यका साथ निरन्तर प्रयास जारी राख्नु उपयुक्त हुनेछ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो,

आज आवेगमा निर्णय गर्दा समस्या आउन सक्छ। आर्थिक पक्षमा खर्च बढ्ने संकेत भएकाले सोचविचार गरेर खर्च गर्नु उपयुक्त हुनेछ। आफ्नो सम्मान कायम राख्न संयमित व्यवहार गर्नु लाभदायी हुनेछ। अरूको आकर्षक प्रस्तावमा सहजै विश्वास नगर्नु राम्रो हुनेछ। धैर्य, बुद्धिमत्ता र व्यवहारिक सोचले चुनौती समाधान गर्न सहयोग पुर्‍याउनेछ।

मीन – Pisces

दि, दु, , , , दे, दो, चा, चि

मेहनतले राम्रो उपलब्धि दिलाउने सम्भावना छ। पुराना कमजोरी सुधार्दै नयाँ सुरुवात गर्ने अवसर प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ भने सहयोगी तथा शुभचिन्तकहरूको साथ पनि प्रशस्त मिल्नेछ। पारिवारिक भेटघाट, रमाइलो वातावरण तथा स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। आत्मविश्वासका साथ अघि बढे करियर, व्यवसाय तथा व्यक्तिगत जीवनमा सकारात्मक प्रगति हुने संकेत देखिन्छ।

Read More