२०८३ भाद्र ३०

इरानलाई ट्रम्पको पुनः चेतावनी, ‘सम्झौता नगरे गम्भीर परिणाम भोग्नुपर्नेछ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकासँग सम्झौता गर्न पुनः कडा चेतावनी दिएका छन्। उनले सम्झौता नगरे इरानले गम्भीर परिणाम भोग्नुपर्ने र देशसँग “केही पनि बाँकी नरहने” दाबी गरेका छन्।

फक्स न्युजसँग मंगलबार प्रसारित अन्तर्वार्तामा ट्रम्पले इरानलाई लक्षित गर्दै भने, “इरानले सम्झौता गर्नुपर्छ, अन्यथा त्यहाँ कोही पनि बाँकी रहने छैन।”

उनले अमेरिकी नागरिकको सुरक्षाप्रति आफ्नो प्रशासन अत्यन्त सावधान रहेको दाबी गर्दै इरानले समयमै सम्झौता नगरे गम्भीर परिणाम सामना गर्नुपर्ने चेतावनी दोहोर्‍याए। ट्रम्पका अनुसार यही सन्देश उनका प्रतिनिधि र तेहरानबीच भएको पछिल्लो संवादमार्फत पनि इरानलाई दिइएको थियो। उनले उक्त संवाद अन्तर्वार्ता दिनुभन्दा करिब एक घण्टाअघि भएको बताएका छन्।

इरानले सम्झौता गर्नेमा आफू विश्वस्त भए–नभएको प्रश्नमा ट्रम्पले भने, “उनीहरूले सम्झौता गर्नैपर्छ। तर उनीहरूले गर्छन् वा गर्दैनन् भन्ने कुरा भने मलाई थाहा छैन।”

Read More

राष्ट्र बैंकद्वारा एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको छ।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै निक्षेप सङ्कलनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माग गरेको हो।

सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन्।

बोलकबोल गर्दा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि पाँच करोड रुपैयाँको गुणकमा, कुल आह्वान गरिएको एक खर्ब रुपैयाँसम्मको रकमका लागि बोलकबोल गर्न सकिनेछ।

Read More

कैद भुक्तान गरिरहेका युवकको कारागारमै मृत्यु

काठमाडौं । जिल्ला कारागार खोटाङमा कैद भुक्तान गरिरहेका एक कैदीको सुतेकै अवस्थामा मृत्यु भएको छ।

सवारी ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका साकेला गाउँपालिका–४ मात्तिम पारुङका २३ वर्षीय निसान राईको मृत्यु भएको कारागारका सूचना अधिकारी कपिन्द्र कठायतले जानकारी दिनुभयो।

उहाँका अनुसार असार ३० गते बेलुकाको खाना खाएर सुतेका राई मध्यराति बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि तत्काल जिल्ला अस्पताल खोटाङ लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

जिल्ला अस्पतालका डा. पुष्कल राईका अनुसार अस्पताल ल्याइपुर्‍याउँदा नै उनको मृत्यु भइसकेको थियो। “मृत्युको कारण खुलेको छैन। शव परीक्षणको प्रतिवेदन आएपछि मात्रै वास्तविक कारण थाहा हुन्छ,” उहाँले भन्नुभयो।

मृतक राई सवारी ज्यान मुद्दामा दुई वर्षको कैद सजाय भुक्तान गरिरहेका थिए। जरिवाना बुझाएको अवस्थामा उनी आगामी साउन ११ गते जेलमुक्त हुने अवस्थामा रहेको बताइएको छ।

Read More

सञ्चारगृहमा गाडी राखेर अवरोध गर्ने कार्यप्रति सांसद मनिष झाको आपत्ति

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर आवागमन अवरुद्ध गर्ने कार्यको विरोध गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत उनले यस्तो गतिविधि गलत भएको भन्दै यसमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताएका छन् ।

‘सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो । यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ झाले लेखेका छन् ।

उनले यस्ता गतिविधिलाई ‘स्तरहीन र गलत प्रयोग’ को संज्ञा दिँदै यसप्रति आपत्ति जनाएका छन् । ‘के यस्तै स्तरहीन र गलत प्रयोग गर्न GenZ सहादत भएको हो ? यस किसिमको कामप्रति घोर आपत्ति छ,’ उनले उल्लेख गरेका छन् ।

Read More

कर्णाली सरकारका कांग्रेसका चार मन्त्रीद्वारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार बिहान कांग्रेसका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाह, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत विकासमन्त्री विजय बुढा रहेका छन् ।

बुधबार बिहान बसेको कर्णाली सरकारको मन्त्रिपरिषद् बैठकमा कांग्रेसका कुनै पनि मन्त्री सहभागी भएनन् । अर्थमन्त्री शाह विदेश भ्रमणमा रहेको र ऊर्जामन्त्री विजय बुढा पनि बैठकमा उपस्थित नभएको बताइएको छ ।

मुख्यमन्त्री कार्यालय पुगेका वनमन्त्री अधिकारी र सामाजिक विकासमन्त्री भण्डारी मन्त्रिपरिषद् बैठकमा सहभागी नभई राजीनामा बुझाएर फर्किएका थिए ।

कर्णालीमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेको छ । एमालेबाट मुख्यमन्त्रीसहित दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा छन् । यसअघि एमाले र कांग्रेसबीच आलोपालो सरकार सञ्चालन गर्ने सहमति भएको थियो । तर उक्त सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएको बताएका छन् ।

Read More

प्रतिनिधिसभा बैठकको समय परिवर्तन, दिउँसो १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने समय परिवर्तन भएको छ । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना जारी गर्दै बैठक निर्धारित समयभन्दा ढिला हुने जानकारी दिएका हुन् ।

उनका अनुसार बिहान ११ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भएपछि सभामुखले आजै दिउँसो १ बजे बस्ने गरी नयाँ समय निर्धारण गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौं वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन पनि आजको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।

Read More

सुन र चाँदीको मूल्य बढ्यो, सुन प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला २ लाख ८४ हजार रुपैयाँ रहेको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको हो ।

यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले वृद्धि भएको छ । मंगलबार प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ४ हजार ४१५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार सुनको मूल्य १० ग्रामको २ लाख ४४ हजार १७० रुपैयाँ र चाँदीको मूल्य १० ग्रामको ३ हजार ७८५ रुपैयाँ निर्धारण गरिएको छ ।

Read More

करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णयविरुद्ध सिंहदरबारमा प्रदर्शन

काठमाडौं । सरकारले साउन १ गतेदेखि करार तथा दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि प्रभावित कर्मचारीहरूले विरोध प्रदर्शन जारी राखेका छन् ।

मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका कर्मचारीहरूले बुधबार काम बन्द गरी सिंहदरबार परिसरमा भेला भएर सरकारको निर्णयको विरोध गरेका हुन् । उनीहरूले सरकारको निर्णयका कारण संघ, प्रदेश र स्थानीय तहमा कार्यरत करिब ५७ हजार कर्मचारी रोजगारीविहीन हुने अवस्था आएको भन्दै निर्णय फिर्ता लिन माग गरेका छन् ।

हाल संघ सरकारअन्तर्गत करिब १४ हजार, प्रदेशअन्तर्गत ८ हजार र स्थानीय तहअन्तर्गत ३५ हजार करार तथा दैनिक ज्यालादारी कर्मचारी कार्यरत रहेको बताइएको छ ।

सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाएर आवश्यक जनशक्ति ‘आउटसोर्सिङ’ मार्फत व्यवस्थापन गर्ने तयारी गरेको छ । तर, कर्मचारीहरूले लामो समयदेखि सेवा दिँदै आएका आफूहरूलाई हटाउने निर्णय अन्यायपूर्ण भएको भन्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।

Read More

बुधबारदेखि १४.२ केजीकै ग्यास सिलिन्डर बिक्री हुने

काठमाडौं। नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने ग्यासको सिलिन्डर पुरानै तौलअनुसार बिक्री गर्ने निर्णय गरेको छ। निगमले मंगलबार जारी गरेको सूचनामार्फत देशभर १४.२ केजी क्षमताको पूर्ण सिलिन्डर ग्यास उपलब्ध गराउने जनाएको हो।

निगमका अनुसार इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्था सुधार हुँदै गएको र उपभोक्ताबाट १४.२ केजीकै सिलिन्डरको माग बढेपछि पुरानै व्यवस्थामा फर्किने निर्णय गरिएको हो।

यसअघि कम तौलको सिलिन्डर बिक्री हुँदै आएकोमा अब बजारमा नियमित रूपमा १४.२ केजी ग्यास सिलिन्डर उपलब्ध हुनेछ। निगमले यसको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ तोकेको छ।

निगमले देशभरका ग्यास बिक्रेतालाई बुधबारदेखि नै नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको जनाएको छ।

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर भएका प्रतिवादीहरूको सजाय निर्धारण गरेको छ। अदालतको फैसलाअनुसार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १४ जनालाई विभिन्न अवधिको कैद तथा जरिमाना तोकिएको छ।

अदालतले पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिमाना सुनाएको छ। त्यस्तै, पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिमाना तोकिएको छ।

भुटानी मानवअधिकारकर्मी टेकनाथ रिजाललाई पनि २ वर्ष कैद र २० हजार रुपैयाँ जरिमाना हुने फैसला भएको छ। पूर्वगृहसचिव टेकनारायण पाण्डेसहित अन्य केही प्रतिवादीलाई ४ वर्ष कैद र जरिमाना तोकिएको छ भने केहीलाई १ वर्ष कैद तथा जरिमाना सुनाइएको छ।

काठमाडौं जिल्ला अदालतले असार २४ गते रायमाझी, खाँण, पाण्डे, रिजाललगायतलाई विभिन्न अभियोगमा दोषी ठहर गरेको थियो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले संगठित अपराध, ठगी तथा राज्यविरुद्धको कसुरसम्बन्धी अभियोगमा संलग्नताको आधारमा फैसला गरेको हो।

अदालतले केही प्रतिवादीलाई राज्यविरुद्धको कसुरमा मतियारका रूपमा संलग्न भएको ठहर गरेको छ। यस प्रकरणमा मुद्दा चलाइएका केही व्यक्तिले भने सफाइ पाएका छन्।

सफाइ पाउनेमा रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।

कसलाई कति सजाय?

प्रतिवादीको नामसजाय
टोपबहादुर रायमाझी४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिमाना
बालकृष्ण खाँण२ वर्ष कैद, २० हजार रुपैयाँ जरिमाना
टेकनाथ रिजाल२ वर्ष कैद, २० हजार रुपैयाँ जरिमाना
टेकनारायण पाण्डे४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिमाना
केशवप्रसाद दुलाल४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिमाना
सानु भण्डारी४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिमाना
सागर राई४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिमाना
सन्देश शर्मा४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिमाना
डा. इन्द्रजीत राई४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिमाना
गोविन्दकुमार चौधरी४ वर्ष कैद, ४० हजार रुपैयाँ जरिमाना
नरेन्द्र केसी१ वर्ष कैद, १० हजार रुपैयाँ जरिमाना
शमशेर मियाँ१ वर्ष कैद, १० हजार रुपैयाँ जरिमाना
हरिभक्त महर्जन१ वर्ष कैद, १० हजार रुपैयाँ जरिमाना
निरञ्जनकुमार खरेल१ वर्ष कैद, १० हजार रुपैयाँ जरिमाना

Category: राष्ट्रिय समाचार / न्याय तथा अपराध

Read More