२०८३ आश्विन १३

काठमाडौँमा ट्राफिक कारबाहीबाट रु १ करोड ३३ लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई कारबाही गरी रु १ करोड ३३ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मादक पदार्थ सेवन (मापसे), तीव्र गति तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई कारबाहीको दायरामा ल्याएर उक्त राजस्व सङ्कलन गरिएको हो।

त्यसैगरी, सवारी साधनको स्वरूप आफूखुसी परिवर्तन गर्ने चालकलाई कारबाही गर्दा थप रु ५ लाख ७० हजार राजस्व उठेको उनले जानकारी दिए।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा दुई लाख ३१ हजार १३७ जनालाई ट्राफिक सचेतनामूलक कार्यक्रममा सहभागी गराएको जनाएको छ।

प्रहरीका अनुसार सोही अवधिमा सुर्खेतमा ९५७ वटा सवारी दुर्घटना भएका छन्, जसमा ३७ जनाको मृत्यु भएको छ।

प्रहरी निरीक्षक शाहीले सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको बताए। उनका अनुसार यान्त्रिक समस्या, पैदलयात्रीको लापरवाही, सडक पूर्वाधार, प्रतिकूल मौसम तथा पशुचौपायाको उपस्थितिले पनि दुर्घटना निम्त्याउने गरेका छन्।

Read More

आलोचनापछि संवादमुखी बन्दै बालेन सरकार

काठमाडौँ । सरकार गठनका प्रारम्भिक दिनहरूमा संवाद, सहकार्य र जवाफदेहिताको अभाव देखाएको भन्दै तीव्र आलोचना खेपेको प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार पछिल्ला दिनहरूमा आफ्नो कार्यशैली परिवर्तन गर्दै संवाद र समन्वयलाई प्राथमिकतामा राख्न थालेको देखिएको छ।

सरकारको सुरुवाती चरणमा प्रधानमन्त्री शाहले प्रतिनिधिसभा, विपक्षी दल, आफ्नै दलका नेता–सांसद तथा सञ्चारमाध्यमसँग पर्याप्त संवाद नगरेको भन्दै चौतर्फी आलोचना भएको थियो। सरकारको पपुलिस्ट र एकाङ्की शैलीका कारण सडकदेखि सदनसम्म असन्तुष्टि चुलिएको थियो भने असन्तुष्ट समूहहरूले सिंहदरबारको मुख्य प्रवेशद्वारमै पुगेर विरोध प्रदर्शनसमेत गरेका थिए।

तर, बढ्दो दबाब र आलोचनापछि पछिल्ला केही सातायता प्रधानमन्त्री शाह तथा सरकारका मन्त्रीहरूले विभिन्न सरोकारवालासँग भेटघाट, छलफल र परामर्शलाई तीव्रता दिएका छन्।

केही साताअघि प्रधानमन्त्री शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग निरन्तर छलफल गर्दै आर्थिक सुधार, लगानी प्रवर्द्धन तथा नीतिगत सुधारका उपायबारे सुझाव लिएका थिए। त्यसैगरी, मधेशमा उत्पन्न सामाजिक तथा राजनीतिक तनावपछि स्थिति सामान्य बनाउन उनले राजनीतिक दल, नागरिक समाज तथा अन्य सरोकारवालासँगको संवादलाई पनि तीव्रता दिएका छन्।

प्रधानमन्त्रीसँगै सरकारका प्रभावशाली मन्त्रीहरूले पनि आफ्ना मन्त्रालयसँग सम्बन्धित क्षेत्रमा संवादको दायरा फराकिलो बनाएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट कार्यान्वयन, आर्थिक सुधार तथा वित्तीय क्षेत्रका विषयमा व्यवसायी, बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायसँग नियमित संवादमा छन्। नीतिगत कार्यान्वयनलाई प्रभावकारी बनाउन उनले सरोकारवालाबाट प्राप्त सुझावलाई प्राथमिकता दिँदै आएका छन्।

गृहमन्त्री सुधन गुरुङले मधेशमा उत्पन्न असहज परिस्थितिपछि प्रभावित जिल्लाहरूको भ्रमण गरी स्थानीय समुदाय, जनप्रतिनिधि तथा अन्य सरोकारवालासँग प्रत्यक्ष संवाद गरेका थिए। सरकारका अनुसार उनको संवादमुखी पहलले मधेशमा देखिएको तनाव थप विस्तार हुन नदिन सहयोग पुगेको छ।

त्यसैगरी, शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारमाध्यम र शिक्षा क्षेत्रका सरोकारवालासँगको संवादलाई तीव्रता दिएका छन्। मंगलबार उनले राजनीतिक विषयमा समाचार लेख्ने पत्रकारहरूलाई मन्त्रालयमै आमन्त्रण गरी सरकारी सूचना प्रवाह, पारदर्शिता र सञ्चार समन्वयका विषयमा छलफल गरेका थिए।

शिक्षामन्त्री पोखरेलको सचिवालयका अनुसार उक्त छलफलमा सरकारी सूचना प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, पत्रकारहरूले समाचार सम्प्रेषणका क्रममा भोग्ने व्यावहारिक चुनौती तथा सूचना प्रणालीलाई अझ विश्वसनीय बनाउने विषयमा विस्तृत विचार–विमर्श भएको थियो।

मन्त्री पोखरेलले सञ्चारमाध्यम, शैक्षिक संस्था, निजी क्षेत्र तथा अन्य सरोकारवालाबाट प्राप्त सुझावका आधारमा नीतिगत सुधार, पारदर्शिता र प्रभावकारी समन्वयलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

पछिल्ला गतिविधिले प्रारम्भिक आलोचनापछि प्रधानमन्त्री शाह नेतृत्वको सरकार संवाद, सहकार्य र सरोकारवालाको सहभागितामार्फत शासन सञ्चालनलाई थप प्रभावकारी बनाउने प्रयासमा रहेको संकेत गरेको छ।

Read More

चितवनमा अनलाइन ठगीका ५२१ उजुरी, १२ करोडभन्दा बढी रकम ठगी

काठमाडौं । चितवन जिल्लामा पछिल्लो एक वर्षमा अनलाइन ठगीसम्बन्धी ५२१ वटा निवेदन दर्ता भएका छन्। ती निवेदनका आधारमा गत आर्थिक वर्षमा अनलाइन माध्यमबाट १२ करोड २२ लाख ८४ हजार ३३८ रुपैयाँ ठगी भएको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगी भएको रकममध्ये २ करोड २९ लाख ९८ हजार ६४३ रुपैयाँ फिर्ता गरिएको छ।

प्रहरीका अनुसार पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक सञ्जालमार्फत लिंक पठाएर तथा उपहार पाउने प्रलोभन देखाएर ठगी गर्ने घटना बढिरहेका छन्। प्रहरी उपरीक्षक पौडेलले दैनिकजसो अनलाइन ठगीसम्बन्धी निवेदन आउने गरेको जानकारी दिए।

उनका अनुसार सामान्यतया २०० रुपैयाँदेखि लाखौँ रुपैयाँसम्मको ठगीसम्बन्धी उजुरी प्रहरीमा आउने गरेका छन्। उनले अनलाइन माध्यम प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

अपरिचित व्यक्तिले पठाएको रिक्वेस्ट स्वीकार नगर्न, शंकास्पद लिंक नखोल्न र अनलाइन कारोबारमा सतर्क रहन उनले सुझाव दिए। उनले अनलाइन माध्यमबाट ठगी भएको महसुस भए तत्काल नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरे।

साइबर अपराधका ३९० उजुरी दर्ता

गत आर्थिक वर्षमा चितवनमा साइबर अपराधसम्बन्धी ३९० वटा निवेदन दर्ता भएका छन्। तीमध्ये ३७५ वटा निवेदन फर्छ्योट भइसकेका छन् भने १५ वटा निवेदन बाँकी रहेका छन्।

प्रहरीका अनुसार साइबर अपराधसम्बन्धी उजुरीको अनुसन्धान नेपाल प्रहरी प्रदेश कार्यालयसँगको समन्वयमा भइरहेको छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा साइबर अपराधसम्बन्धी ४११ वटा निवेदन दर्ता भएका थिए। तीमध्ये ३९८ वटा फर्छ्योट भएका थिए भने १३ वटा बाँकी रहेका थिए।

Read More

एनएमबी बैंकको खुद नाफा ४ अर्ब नाघ्यो, ४०.६० प्रतिशतले वृद्धि

काठमाडौं । एनएमबी बैंकले आर्थिक वर्ष २०८२/८३ मा ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.६० प्रतिशतले बढेको हो। अघिल्लो वर्ष बैंकले २ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, शुल्क तथा कमिसन आम्दानी २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ६ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ। सञ्चालन नाफा अघिल्लो वर्षको तुलनामा २९.०६ प्रतिशतले बढेको हो।

नियामकीय समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। अग्राधिकार सेयरको लाभांश छुट्याएपछि साधारण सेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य नाफा उपलब्ध रहेको बैंकले जनाएको छ। बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा रहेको छ।

असार मसान्तसम्म एनएमबी बैंकको ग्राहक निक्षेप ३ खर्ब १५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको कर्जा प्रवाह २ खर्ब ४९ अर्ब ८० करोड रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ।

बैंकले ३ अर्ब रुपैयाँ बराबरको स्थायी गैर–सञ्चयी अग्राधिकार सेयर जारी गर्दै अतिरिक्त टियर–१ पुँजी थप गरेको छ। बैंकको कुल पुँजी पर्याप्तता अनुपात १२.७३ प्रतिशत र टियर–१ अनुपात ९.९० प्रतिशत रहेको छ।

नाफा र व्यवसाय विस्तार भए पनि बैंकको निष्क्रिय कर्जा अनुपात भने बढेको छ। अघिल्लो वर्ष ४.११ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४.९१ प्रतिशत पुगेको छ। बैंकले सम्भावित कर्जा नोक्सानी व्यवस्थापन ९२.५७ प्रतिशत कायम गरेको जनाएको छ।

आगामी रणनीति

एनएमबी बैंकले आगामी वर्ष कर्जा असुली सुधार, निष्क्रिय कर्जा नियन्त्रण, डिजिटल बैंकिङ विस्तार र सञ्चालन खर्च घटाउने रणनीति अघि सारेको छ। बैंकले ऊर्जा, कृषि, उत्पादनमूलक क्षेत्र तथा खुद्रा कर्जामा केन्द्रित भएर व्यवसाय विस्तार गर्ने योजना बनाएको जनाएको छ।

Read More

निर्माण व्यवसायी महासंघ कर्णालीको अध्यक्षमा मानव बम निर्वाचित

काठमाडौं । निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशको सातौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट मानव बम अध्यक्षमा निर्वाचित भएका छन् ।

वीरेन्द्रनगरमा दुई दिनसम्म सञ्चालन भएको अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो । अधिवेशनमा कर्णाली प्रदेशभरका निर्माण व्यवसायी, प्रतिनिधि तथा महासंघका पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष बम पूर्व कर्णाली प्रदेश महासचिव, बसना निर्माण सेवाका निर्देशक तथा कालिकोटको रास्कोट नगरपालिका निवासी हुन् । लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय बम संगठनभित्र अनुभवी, समन्वयकारी र व्यवसायीहरूको साझा आवाजका रूपमा परिचित छन् ।

अधिवेशनअघि उनले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए, जसलाई निर्माण व्यवसायीहरूले प्रतिस्पर्धात्मक र अर्थपूर्ण रूपमा लिएका थिए ।

निर्वाचनपछि अध्यक्ष बमले निर्माण व्यवसायीहरूको हक–हित संरक्षण, व्यवसायमैत्री वातावरण निर्माण, पारदर्शी तथा उत्तरदायी नेतृत्व, संस्थागत सुदृढीकरण र कर्णालीका निर्माण व्यवसायीहरूले भोगिरहेका साझा समस्याको समाधानलाई आफ्नो नेतृत्वको मुख्य प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले कर्णाली प्रदेशका सबै जिल्लाका निर्माण व्यवसायीलाई एउटै सूत्रमा आबद्ध गर्दै महासंघलाई अझ सशक्त, प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

साथै, सार्वजनिक खरिद प्रक्रिया सुधार, निर्माण सम्पन्न भएका आयोजनाको समयमै भुक्तानी, नीतिगत सुधार तथा व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गर्दै अघि बढ्ने योजना रहेको अध्यक्ष बमले बताएका छन् ।

Read More

प्रधानमन्त्री बालेन्द्र शाह र सुदूरपश्चिमका सांसदबीच छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान ११ बजे सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भइरहेको बताइएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सुदूरपश्चिम प्रदेशका सांसदहरू ताराप्रसाद जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, ज्ञानेन्द्र महता, जगत जोशी, कोमल ज्ञवाली र केपी खनाल सहभागी छन् ।

Read More

पाँच संसदीय समितिको बैठक आज, विभिन्न विधेयक र जनसरोकारका विषयमा छलफल हुँदै

काठमाडौँ । संघीय संसद्अन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक आज मंगलबार बस्दैछ। समितिहरूले विभिन्न विधेयक, कानुनी संशोधन तथा जनसरोकारसँग जोडिएका विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन्।

अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफललाई अघि बढाइने भएको छ। बैंकिङ क्षेत्रको नियमन, राष्ट्र बैंकको अधिकार क्षेत्र र वित्तीय प्रणालीसँग सम्बन्धित विषय समेटिएको उक्त विधेयकमाथि समितिले दफावार छलफल गर्नेछ।

यसैगरी, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापनबारे सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गर्नेछ। ग्यास आपूर्ति, वितरण प्रणाली र उपभोक्ताका समस्याका विषयमा बैठक केन्द्रित हुने जनाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिक व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि सैद्धान्तिक तथा दफावार छलफल हुने भएको छ। समितिले कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदनमाथि समेत छलफल गर्नेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले ‘पर्यटन विधेयक, २०८१’ माथि मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्ने कार्यसूची राखेको छ। पर्यटन क्षेत्रको कानुनी सुधारसँग सम्बन्धित विषयमा बैठकमा विचारविमर्श हुनेछ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले पूर्वसभापति रामनारायण विडारीलाई आमन्त्रण गरी सरकारी आश्वासन कार्यान्वयनको अवस्था र आगामी रणनीतिबारे छलफल गर्ने कार्यक्रम तय गरेको छ।

संसदीय समितिका यी बैठकहरूमा कानुन निर्माण, नीति सुधार र सार्वजनिक सरोकारका विषयमा सांसदहरूले सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गर्नेछन्।

Read More

अर्थ मन्त्रालयले बीमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन गरी सुझाव पेस गर्न एक समिति गठन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन्।

समितिमा सहदेव तिवारी र श्रीकृष्ण थापा मगर सदस्य रहेका छन्। समितिलाई बीमा क्षेत्रको वर्तमान अवस्था अध्ययन गरी सुधारका लागि आवश्यक सुझाव पेस गर्न ९० दिनको समय दिइएको छ।

Read More

वर्षाका कारण मुख्य राजमार्ग अवरुद्ध, यात्रामा सतर्क रहन प्रहरीको आग्रह

काठमाडौं । केही दिनदेखि लगातार भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गमा बाढी र पहिरो जाँदा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले दिएको जानकारीअनुसार उपत्यका, कोशी र बागमती प्रदेशका विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

काठमाण्डु र ललितपुर जोड्ने तथा बाहिरी जिल्लातर्फ जाने वैकल्पिक सडकहरू पनि पहिरोका कारण प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका–३, पाण्डुरमा पहिरो खसेपछि कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, काठमाण्डुको नागार्जुन नगरपालिका–८, ठुलो खोलामा पहिरो जाँदा सितापाइला–धार्के सडक खण्ड पनि पूर्ण रूपमा बन्द भएको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुर र इलाममा समेत सडक अवरोध देखिएको छ। भोजपुर नगरपालिका–५, बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। यता, इलाम नगरपालिका–९, राजदुवालीमा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा पनि वैकल्पिक मार्ग प्रयोग गर्न सकिने जनाइएको छ।

बागमती प्रदेशमा विपद्को जोखिमलाई ध्यानमा राख्दै केही राजमार्गमा समय तोकेर सवारी सञ्चालनमा रोक लगाइएको छ। बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमका कारण बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म भने सडकको अवस्था हेरेर यातायात सञ्चालन गरिनेछ।

कान्तिलोकपथको हेटौँडा–ठिङ्गन–ललितपुर खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण रातिको समयमा सवारी आवागमन रोकिएको छ। उक्त खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन गर्न नदिइने जनाइएको छ।

यसैगरी, अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, चारकिलो र वडा नम्बर २, कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न र यात्राका क्रममा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Read More

सुनकोशीमा बेपत्ता कार र यात्रुको खोजी जारी

काठमाडौं । सुनकोशी नदीमा खसेर बेपत्ता भएको कार र त्यसमा सवार तीन जनाको खोजीका लागि सुरक्षाकर्मीले खोजी अभियानलाई तीव्र बनाएका छन्।

बेपत्ता यात्रु र सवारीसाधनको खोजी गर्न सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक निरेन्द्र गुरुङको नेतृत्वमा खटिएको टोलीसँगै नेपाल प्रहरीका सुरक्षाकर्मी पनि खोजी कार्यमा संलग्न छन्।

लगातारको वर्षाका कारण सुनकोशी नदीमा पानीको बहाव बढेकाले गोताखोरलाई खोजी गर्न कठिनाइ भइरहेको सुरक्षाकर्मीले बताएका छन्।

सोमबार दिउँसो सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि कार सुनकोशी नदीमा खसेको थियो। दुर्घटनामा प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारसहित त्यसमा सवार तीन जना बेपत्ता भएका हुन्।

प्रहरीका अनुसार कारमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ का ३९ वर्षीय दिलकुमार लामा, सिन्धुली तीनपाटन गाउँपालिका–९ का १७ वर्षीय सुरज बलम्पाकी र गोलान्जोर गाउँपालिका–१ का करिब २८ वर्षीय गणेश थापा सवार थिए।

लामा कार चालक रहेको र बलम्पाकी तथा थापा क्रमशः हेल्पर र स्काभेटर चालकका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका–६ का २६ वर्षीय हेमबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।

Read More