२०८३ आश्विन ११

नेप्से ९ अंकले घट्यो, कारोबार रकम साढे ३ अर्ब नाघ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक ९.०२ अंकले घटेर २६४१.०६ विन्दुमा झरेको छ।

यस दिन ३५२ वटा स्क्रिप्सको एक करोड नौ लाख ६६ हजार ७४५ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम रु तीन अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ पुगेको छ।

कारोबारमा आएका कम्पनीमध्ये ८२ वटा स्टक्सको मूल्य बढेको छ भने १७९ वटाको घटेको छ। १५ वटा स्टक्सको मूल्य स्थिर रह्यो। कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ८.४७ प्रतिशतले बढेको छ भने रिलायबल समृद्धि योजना–२ को सेयर मूल्य ९.७० प्रतिशतले घटेको छ।

समूहगत उपसूचकतर्फ हाइड्रोपावर, म्युचुअल फन्ड, माइक्रोफाइनान्स र नन–लाइफ इन्स्योरेन्स समूह सकारात्मक रहे। बाँकी समूहका उपसूचक भने घटेका छन्।

Read More

बाढीपहिरोदेखि मल अभावसम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २५ साउन । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले बाढीपहिरो, सडक अवरोध, रासायनिक मलको अभाव, सडक दुर्घटना तथा विभिन्न जिल्लाका स्थानीय समस्याबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन् ।

बैठकको आकस्मिक समयमा सांसदहरूले वर्षाका कारण विभिन्न क्षेत्रमा जनधनको क्षति हुनुका साथै सडक तथा यातायात अवरुद्ध भएको भन्दै उद्धार, राहत र दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । किसानले रोपाइँ सकेर रासायनिक मलको प्रतीक्षा गरिरहेकाले तत्काल मल आपूर्ति सहज बनाउन पनि उनीहरूले माग गरे ।

सांसद आशिष गजुरेलले सडक दुर्घटनाबाट दैनिक ठूलो संख्यामा जनधनको क्षति भइरहेको उल्लेख गर्दै सडक सुरक्षा प्रभावकारी बनाउन सरकारसँग आग्रह गरे । उनले सिन्धुलीमा साउन १८ गते बसको ठक्करबाट कार नदीमा खस्दा तीन जना बेपत्ता भएको घटनामा खोजी तथा उद्धारलाई तीव्रता दिन माग गरे ।

सांसद पार्वती विकले जाजरकोट सदरमुकाममा पहिरोका कारण आवतजावत प्रभावित भएको उल्लेख गर्दै दीर्घकालीन समाधान खोज्न आग्रह गरिन् । उनले रासायनिक मलको अभावसँगै खाना पकाउने ग्यासको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद समीक्षा बाँस्कोटाले मेची राजमार्गको माइखोला खण्डमा पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुने गरेको भन्दै दिगो समाधान खोज्न माग गरिन् । सांसद रमेश मल्लले पश्चिम सल्यानमा खडेरीका कारण धानखेती प्रभावित भएको उल्लेख गर्दै तत्काल सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहत उपलब्ध गराउन आग्रह गरे । उनले आधीखोलामा डुबेर बेपत्ता भएका बलदेव बस्नेतको खोजी तथा उद्धार गर्न पनि माग गरे ।

सांसद आशिका तामाङले वर्षायाममा निषेध हुँदाहुँदै धादिङलगायत क्षेत्रमा ढुङ्गा तथा बालुवा उत्खनन भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले खानी सञ्चालनसम्बन्धी कानुनलाई समयानुकूल संशोधन गर्न माग गरिन् ।

सांसद इन्दिरा रानामगरले भक्तपुरस्थित सुधार केन्द्रमा भएको मृत्युको घटनाप्रति ध्यानाकर्षण गराउँदै सुधार केन्द्रमा सिर्जनात्मक गतिविधि, खुला वातावरण र नियमित सरकारी अनुगमनको व्यवस्था गर्न माग गरिन् ।

सांसद प्रकाश सिंह कार्कीले नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेभलपमेन्ट बोर्डलाई नेपाल ट्रान्जिट वेयर हाउस कम्पनी लिमिटेडमा गाभ्ने मन्त्रिपरिषद्को निर्णय पुनर्विचार गर्न माग गरे । दुवै संस्थाको उद्देश्य र कार्यक्षेत्र फरक रहेको भन्दै उनले आवश्यक सुधारसहित संस्थाहरूलाई सुदृढ बनाउन आग्रह गरे ।

सांसद बोधनारायण श्रेष्ठले सडक सुरक्षाका लागि सडक पूर्वाधारसँगै चालकको स्वास्थ्यमा समेत ध्यान दिनुपर्ने बताए । उनले प्रत्येक छ महिनामा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गर्न सरकार र यातायात व्यवसायीबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे ।

सांसद ताहीर अलि भाटले रुपन्देहीमा सुकुमवासीलाई जग्गा वितरणका विषयमा प्रचारभन्दा दीर्घकालीन समाधानमा ध्यान दिन आग्रह गरे ।

सांसद प्रकाश पाठकले वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा नेपाली नागरिक संकटमा पर्ने क्रम बढेको भन्दै विदेशमा रहेका संकटग्रस्त तथा जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गरी कूटनीतिक पहल गर्न सरकारसँग माग गरे ।

सांसद राजेन्द्रकुमार राईले धनकुटाका नवराज तामाङ असार २३ गतेदेखि सम्पर्कविहीन रहेको उल्लेख गर्दै उनको तत्काल खोजी गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद कामिनी कुमारीले महोत्तरीको जलेश्वर कारागार जीर्ण अवस्थामा रहेको र क्षमताभन्दा बढी कैदीबन्दी राखिएको भन्दै तत्काल पुनःनिर्माण गर्न माग गरिन् । उनका अनुसार ३०० जनाको क्षमता रहेको कारागारमा ५०० भन्दा बढी कैदीबन्दी रहेका छन् ।

Read More

सामुदायिक वनलाई हरित अर्थतन्त्र र रोजगारीको आधार बनाइने : मन्त्री चौधरी

काठमाडौँ कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सामुदायिक वनलाई हरित अर्थतन्त्र, रोजगारी सिर्जना र स्थानीय आयआर्जनको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने बताएकी छन् ।

सामुदायिक वन दिवसका अवसरमा काठमाडौँस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सभाहलमा आयोजित राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्र वितरण समारोहमा मन्त्री चौधरीले वनसम्पदाबाट स्थानीय समुदायले अधिकतम आर्थिक लाभ लिन सक्ने गरी नीति तथा कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिइन् ।

उनले ‘हरियो वन नेपालको धन’ भन्ने अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै वनजन्य उद्योग, जडीबुटी प्रशोधन, पर्यावरणीय पर्यटन तथा कार्बन क्रेडिट व्यापारलाई प्रवर्द्धन गर्नुपर्ने बताइन् । वनजन्य उत्पादनको मूल्य अभिवृद्धि, प्रशोधन र बजारीकरणमार्फत स्थानीयस्तरमै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न सकिने उनको भनाइ छ ।

मन्त्री चौधरीका अनुसार नेपालमा करिब चार दशकअघि सुरु भएको सामुदायिक वन कार्यक्रमअन्तर्गत हाल देशभर २३ हजारभन्दा बढी उपभोक्ता समूहले करिब २६ लाख हेक्टर राष्ट्रिय वन संरक्षण, व्यवस्थापन तथा सदुपयोग गर्दै आएका छन् । यसबाट करिब ३३ लाख घरधुरी लाभान्वित भएका छन् ।

सामुदायिक वनमा आधारित उद्यम विकासलाई प्राथमिकता दिँदै काठ, बाँस तथा गैरकाष्ठ वनपैदावारलगायत स्वदेशी उत्पादनको दिगो उपयोग र प्रवर्द्धन गरिने उनले बताइन् । पर्यावरणीय पर्यटन तथा प्रकृतिमा आधारित उद्यम विस्तार गरी स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्‍याउने नीति लिइने उनको भनाइ छ ।

वन व्यवस्थापनमा युवा, महिला, दलित, आदिवासी जनजाति तथा विपन्न समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्वलाई थप सुदृढ गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिइन् । उनका अनुसार जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण, वनडढेलो नियन्त्रण, जलाधार तथा जैविक विविधता संरक्षणलाई सामुदायिक वन व्यवस्थापनसँग जोडेर अघि बढाइनेछ ।

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि आवश्यक पहल गरिने उल्लेख गर्दै उनले सङ्घ, प्रदेश र स्थानीय तहसँगै निजी क्षेत्र तथा समुदायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने बताइन् ।

कार्यक्रममा वन संरक्षणमा योगदान पुर्‍याउने उपभोक्ता समूह तथा व्यक्तिलाई राष्ट्रिय पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट सामुदायिक वनका असल अभ्यासलाई अन्य क्षेत्रमा विस्तार गर्नुपर्नेमा समेत कार्यक्रममा जोड दिइएको थियो ।

Read More

जनकपुरधाम उपमहानगरपालिकाले लक्ष्यभन्दा रु तीन करोड बढी राजस्व उठायो

जनकपुरधाम, २५ साउन । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। बक्यौता असुलीमा कडाइ गरेपछि उपमहानगरपालिकाले रु १७ करोड १५ लाख सङ्कलन गर्ने लक्ष्य राखेकामा रु २० करोड ३७ लाख एक हजार ५५९ राजस्व उठाएको हो।

यो अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा रु तीन करोड ७२ लाख २१ हजार ६२६ ले बढी हो। आव २०८१/८२ मा रु १६ करोड २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १६ करोड ६४ लाख ७८ हजार ९३३ सङ्कलन भएको थियो।

राजस्व सङ्कलनको विवरण

राजस्व शीर्षकलक्ष्यसङ्कलन
कुल राजस्व (आव २०८२/८३)रु १७ करोड १५ लाखरु २० करोड ३७ लाख १ हजार ५५९
बेरुजुरु ५ लाखरु २१ लाख २६ हजार ४५३
सम्पत्ति कर—रु ५ करोड ६१ लाख ५ हजार ३३१
बहाल कर—रु ५ करोड ७५ लाख ३९ हजार ६४४
सिफारिस दस्तुर—रु १ करोड ३४ लाख ९५ हजार ८९६
नक्सापास दस्तुर—रु ३ करोड ३७ लाख ८१ हजार
बहाल बिटौरी कर—रु ९२ लाख ३२ हजार २००
व्यवसाय कर—रु ५१ लाख ५० हजार ३४७
अन्य सेवा शुल्क तथा बिक्री—रु २९ लाख ६८ हजार ४७५
अन्य प्रशासनिक सेवा शुल्क—रु ६८ लाख ३४ हजार ९३४
परीक्षा शुल्क—रु १७ लाख ८६ हजार ७००
व्यक्तिगत घटना दर्ता दस्तुर—रु ५ लाख ९७ हजार ७२०
प्रशासनिक दण्ड जरिवाना—रु ११ लाख ५ हजार ५६३
सरकारी सम्पत्ति बिक्री—रु १५ लाख

उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख परमेश्वर झाका अनुसार बक्यौता असुलीमा गरिएको कडाइसँगै विभिन्न राजस्व शीर्षकबाट भएको सङ्कलनले कुल राजस्व बढेको हो।

Read More

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरिरहेका बहुराष्ट्रिय कम्पनीका सञ्चालक तथा प्रतिनिधिसँग आज छलफल गर्ने भएका छन् ।

आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृङ्खाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीसँग अर्थमन्त्री वाग्लेले छलफल गर्न लागेका हुन् । छलफलका लागि कम्पनीका उच्चपदस्थ विदेशी अधिकारी तथा नेपाली साझेदारलाई मन्त्रालयमा बोलाइएको छ ।

अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो १२ बजे सुरु हुने छलफलमा बहुराष्ट्रिय कम्पनीले बजेटमार्फत प्राप्त गरेका सुविधा, नेपालमा व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या तथा लगानी विस्तारका विषयमा छलफल हुने जनाइएको छ ।

त्यसक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा थप लगानी आकर्षित गर्न, रोजगारीका अवसर बढाउन तथा कम्पनीले आर्जन गरेको प्रतिफल फिर्ता लैजाने प्रक्रियामा सरकारले गर्नुपर्ने सहजीकरणबारे कम्पनीका प्रतिनिधिलाई आफ्ना धारणा खुलस्त राख्न आग्रह गर्नेछन् । साथै, समस्या तथा सुझाव लिखित रूपमा समेत उपलब्ध गराउन भनिनेछ ।

बजेट कार्यान्वयनसम्बन्धी छलफलको यही शृङ्खलामा यसअघि अर्थमन्त्री वाग्लेले उत्पादनमूलक क्षेत्रमा लगानी गरी ठूलो रोजगारी सिर्जना गरेका तथा अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएका ३३ औद्योगिक घरानाका प्रतिनिधिसँग छलफल गरिसकेका छन् ।

यसैगरी, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग समेत बजेट कार्यान्वयनका विषयमा छलफल गरिसकेका छन् ।

Read More

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको कार्यढाँचा सार्वजनिक

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयको कार्य सञ्चालनसम्बन्धी प्रस्तावित ढाँचा सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त ढाँचालाई आधार बनाएर मन्त्रालयसम्बन्धी विधेयकको मस्यौदा तयार भइरहेको जानकारी दिएका हुन् ।

मन्त्री पुनले मन्त्रालयको संस्थागत संरचनासहितको कार्यढाँचा सार्वजनिक गर्दै वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक तथा मन्त्रालयका शुभेच्छुकबाट आवश्यक सुझाव मागेका छन् । उनले ढाँचामा कुनै महत्वपूर्ण त्रुटि भए त्यसबारे जानकारी गराउन तथा सुधारका लागि ठोस र उपयोगी सुझाव दिन आग्रह गरेका छन् ।

पुनका अनुसार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयसम्बन्धी विधेयकको मस्यौदा निर्माण कार्य करिब दुई महिनादेखि जारी छ । सार्वजनिक गरिएको ढाँचालाई विधेयक निर्माणको आधारका रूपमा प्रयोग गरिने उनले बताएका छन् ।

प्रस्तावित संस्थागत संरचनामा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन परिषद्, मन्त्रालय, परामर्श समिति, विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रवर्धन केन्द्र, कोषलगायत विभिन्न सम्बद्ध निकायको संरचना र भूमिकाको खाका समेटिएको छ ।

Read More

मलको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासायनिक मलको अभाव झेलिरहेका किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । उनले मलको आपूर्ति तथा वितरणमा देखिएको समस्या समाधान गर्न कालोबजारी र बिचौलियामाथि प्रभावकारी निगरानी तथा नियन्त्रण आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले रोपाइँ सकिइसक्दा पनि मधेशसहित देशका विभिन्न क्षेत्रमा किसानले पर्याप्त मात्रामा रासायनिक मल पाउन नसकेको उल्लेख गरेका छन् । सरकारले समयमा पर्याप्त मल उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि त्यसअनुसार आपूर्ति व्यवस्था प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

उपलब्ध मलसमेत कालोबजारी तथा बिचौलियाका कारण किसानसम्म समान र सहज ढङ्गले पुग्न नसकेको गुनासो व्यापक रहेको प्रचण्डले बताएका छन् । किसानले आवश्यक समयमा मल नपाउँदा कृषि उत्पादनमा समेत असर पर्न सक्ने भन्दै उनले यस विषयमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले समयमै मल आयात तथा वितरणको व्यवस्था मिलाउनुका साथै आगामी आर्थिक वर्षका लागि आवश्यक बजेटसमेत सुनिश्चित गरेको प्रचण्डले स्मरण गरेका छन् ।

नेपालमा मल आयातको प्रक्रिया जटिल भएकाले आवश्यक तयारी समयमै गर्नुपर्ने उल्लेख गर्दै उनले आगामी वर्षका लागि समेत अहिलेदेखि नै योजना बनाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रचण्डले मल आयातको प्रक्रिया शीघ्र पूरा गरी पर्याप्त परिमाणमा रासायनिक मल उपलब्ध गराउन, आगामी वर्षको आवश्यकताका लागि समयमै तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका छन् । साथै, किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरणको व्यवस्था मिलाउन पनि उनले जोड दिएका छन् ।

Read More

चितवनमा लागुऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ। चितवनमा नियमित गस्तीमा खटिएको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार पक्राउ परेकाहरूको साथबाट गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोल, डाइजोपाम, नर्फिन र फेनारगनलगायत औषधि बरामद गरिएको छ ।

प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Read More

प्रधानमन्त्री शाहद्वारा राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न देशका राजदूतहरूसँग छुट्टाछुट्टै भेटवार्ता सुरु गरेका छन् ।

प्रधानमन्त्री शाहले सिंहदरबारमा केहीबेर अघिदेखि राजदूतहरूसँग भेटवार्ता गरिरहेका छन् । यसअघि राजदूतहरूसँग सामूहिक भेटवार्ता गरेका प्रधानमन्त्री शाहले आज भने एक–एक गरी भेटवार्ता गर्न लागेका हुन् ।

भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ ।

Read More

रियादको सोफा कारखानामा आगलागी हुँदा १६ बङ्गलादेशीको मृत्यु

काठमाडौँ । साउदी अरेबियाको राजधानी रियादस्थित एक सोफा कारखानामा भएको भीषण आगलागीमा १६ जना बङ्गलादेशी नागरिकको मृत्यु भएको छ । बङ्गलादेशको विदेश मन्त्रालयले सोमबार घटनाको पुष्टि गर्दै मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन साउदी अधिकारीसँग समन्वय भइरहेको जनाएको छ ।

रियादको मुसा सनैया क्षेत्रमा रहेको सोफा कारखानामा आइतबार आगलागी भएको थियो । आगलागीमा ज्यान गुमाउने सबै बङ्गलादेशी नागरिक रहेको बङ्गलादेशको विदेश मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विज्ञप्तिमार्फत घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कठिन परिस्थितिमा मृतकका परिवारसँग सरकार साथमा रहेको र आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि मन्त्रालयले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै रियादस्थित बङ्गलादेशी दूतावासका अधिकारी घटनास्थल पुगेका थिए । दूतावासले साउदी अधिकारीसँग समन्वय गरी मृतकको पहिचान पुष्टि गर्ने, शव हस्तान्तरण तथा अन्य कानुनी प्रक्रिया अघि बढाउने काम गरिरहेको जनाएको छ ।

घटनाबारे थप विवरण सङ्कलन गर्न तथा प्रभावित व्यक्तिलाई आवश्यक सहयोग उपलब्ध गराउन दूतावासले टोली परिचालन गरेको छ । मृतकको पहिचान पुष्टि, कानुनी औपचारिकता पूरा गर्ने तथा पीडित परिवारलाई आवश्यक सहजीकरण गर्ने कामलाई प्राथमिकतामा राखिएको दूतावासले जनाएको छ ।

दूतावासले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा मुसा सनैया क्षेत्रमा भएको आगलागीमा प्रवासी बङ्गलादेशी नागरिकको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । घटनाको खबर पाएपछि दूतावासको प्रतिनिधिमण्डल तत्काल घटनास्थल पुगेर विस्तृत विवरण सङ्कलन सुरु गरेको जनाएको छ ।

बङ्गलादेशको विदेश मन्त्रालयले घटनाको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ । मृतकको पहिचान तथा अन्य कानुनी प्रक्रिया पूरा गर्न सम्बन्धित साउदी अधिकारीसँग निरन्तर समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।

साउदी अरेबियामा ठूलो सङ्ख्यामा बङ्गलादेशी नागरिक रोजगारीका लागि कार्यरत छन् । रियादमा भएको पछिल्लो घटनाले प्रवासी श्रमिकको कार्यस्थल सुरक्षा तथा आपत्कालीन अवस्थामा उनीहरूको संरक्षणको विषयलाई पुनः चर्चामा ल्याएको छ ।

Read More