२०८३ आश्विन २

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेका क्षेत्रमा सरकारले विद्युत् सेवा पुनःस्थापनाको कामलाई तीव्रता दिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा विद्युत् अवरुद्ध भएपछि तत्कालै पुनःस्थापनाको काम अघि बढाएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आइसकेको छ। नुवाकोटमा भदौ २४ गतेसम्म सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित गरिएको थियो भने धादिङमा त्यसअघि नै विद्युत् आपूर्ति नियमित भइसकेको मन्त्रालयले जनाएको छ।

बाढीबाट सबैभन्दा बढी प्रभावित रसुवामा भने करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। प्रवक्ता शाक्यका अनुसार उत्तरगया गाउँपालिका–१ तथा गोसाइँकुण्ड गाउँपालिकाका वडा नं. १, २ र ३ बाहेक जिल्लाका अन्य अधिकांश क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गरिएको छ।

राष्ट्रिय विद्युत् वितरण प्रणाली तत्काल पुग्न नसकेका क्षेत्रमा वैकल्पिक उपायमार्फत विद्युत् सेवा उपलब्ध गराउने काम भइरहेको मन्त्रालयले जनाएको छ। त्यस्ता क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वयमा संस्थागत तथा घरेलु सौर्य ऊर्जा प्रणाली जडान गरी क्रमशः विद्युत् सेवा पुनः सञ्चालन भइरहेको प्रवक्ता शाक्यले जानकारी दिए।

बाढीका कारण क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःनिर्माणसँगै बाँकी प्रभावित क्षेत्रमा पनि विद्युत् आपूर्ति नियमित गर्ने काम जारी रहेको मन्त्रालयले जनाएको छ।

Read More

हुन्डी कारोबारको आशंकामा काठमाडौं र विराटनगरबाट चार जना पक्राउ

काठमाडौँ । हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौं र विराटनगरबाट चार जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। काठमाडौंमा नगद रकमसहित दुई जना तथा विराटनगरमा बैंकिङ कारोबारको अनुसन्धानका क्रममा थप दुई जना पक्राउ परेका हुन्।

काठमाडौंको अनामनगरस्थित किम्ची रेस्टुरेन्टबाट अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगन्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महतो पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूको साथबाट स्रोत खुल्न नसकेको ३४ लाख ९५ हजार रुपैयाँ बरामद भएको छ। रकमको स्रोत र कारोबारको प्रकृति खुल्न नसकेपछि हुन्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार अनामनगरस्थित रेस्टुरेन्टमा हुन्डी कारोबार भइरहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सम्बन्धित व्यक्तिहरूको गतिविधिमाथि केही समयदेखि निगरानी र सूचना संकलन गरेपछि उनीहरूलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।

यसैबीच, हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा विराटनगरबाट पनि दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ रानीका ४६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर–१७ का ३४ वर्षीय सुरजप्रसाद साह रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शंकास्पद बैंकिङ कारोबारमाथि गरिएको विश्लेषणका क्रममा उनीहरूले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा खोलिएका बैंक खातामार्फत ठूलो रकमको कारोबार गरेको देखिएपछि पक्राउ गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूसँग सम्बन्धित बैंक खातामार्फत १ अर्ब ५७ करोड ६४ लाख ३२ हजार ३ सय ४० रुपैयाँ ८१ पैसा बराबरको रकम हुन्डी कारोबारमा प्रयोग भएको देखिएको छ। प्रहरीले उक्त कारोबारको प्रकृति, रकमको स्रोत तथा त्यसमा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान गरिरहेको जनाएको छ।

पक्राउ परेका शम्भुप्रसाद र सुरजप्रसादविरुद्ध सुनसरी जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ। उनीहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ लगायतका कानुनी व्यवस्थाअनुसार अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीले काठमाडौं र विराटनगरका घटनामा संलग्न व्यक्तिहरूको थप विवरण, रकमको स्रोत र कारोबारको सञ्जालबारे अनुसन्धान जारी रहेको जनाएको छ।

Read More

राष्ट्र बैंकले नयाँ विशेषतासहित ५० रुपैयाँको नोट चलनमा ल्यायो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले परिमार्जित डिजाइन तथा थप सुरक्षा विशेषतासहित ५० रुपैयाँ दरको नयाँ बैंकनोट शुक्रबारदेखि प्रचलनमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ नोटको आकार र मूल डिजाइन साविककै रहे पनि विभिन्न विशेषता परिमार्जन गरिएको छ।

नयाँ बैंकनोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश राखिएको छ। नोटको अगाडिको भागमा हिमालको चित्रसँगै लालीगुराँसको पानी छाप समावेश गरिएको छ। त्यस्तै, पानी छापको तल्लो भागमा ‘५०’ अंक पनि देखिने गरी व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

नोटको तल्लो भागमा विसं २०८२ को सिरिज नम्बर राखिएको छ भने गभर्नर प्राडा विश्वनाथ पौडेलको दस्तखत रहनेछ। बैंकनोटमा १.२ मिलिमिटर चौडाइको सुरक्षा धागो प्रयोग गरिएको छ, जसमा ‘NRB’ लेखिएको हुन्छ।

नोटको पछाडिको भागमा हिँडिरहेको चितुवाको चित्र राखिएको छ। त्यसको माथिल्लो भागमा ‘NEPAL RASTRA BANK’ उल्लेख गरिएको छ भने तल्लो भागमा ‘RUPEES FIFTY’ र ‘2025 A.D.’ सिरिज नम्बर राखिएको छ।

Read More

बागमती प्रदेशमा १३४ दरबन्दी घटाउने निर्णय

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणसम्बन्धी खाका स्वीकृत गर्दै हाल कायम दरबन्दीमध्ये १३४ पद घटाउने निर्णय गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशअन्तर्गतका कार्यालयको संख्या १८० कायम गर्ने निर्णय गरेको हो। हाल चार हजार ८१४ दरबन्दी रहेकोमा त्यसलाई घटाएर चार हजार ६८० कायम गर्ने निर्णय गरिएको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीले मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै ओएनएम सर्वेक्षणका लागि आवश्यक खाका स्वीकृत गरिएको जानकारी दिए। उनका अनुसार स्वीकृत खाकाअनुसार प्रदेश सरकारअन्तर्गत १३४ दरबन्दी घट्नेछ।

बैठकले बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका लागि सदस्य सचिवदेखि कार्यालय सहयोगीसम्म २४ जनाको अस्थायी दरबन्दी पनि स्वीकृत गरेको छ। समितिको काम सम्पन्न भएपछि उक्त अस्थायी दरबन्दी स्वतः समाप्त हुने व्यवस्था गरिएको मन्त्री केसीले जानकारी दिए।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयअन्तर्गत प्रदेश वन सेवा केन्द्रका प्रमुख एवं ११औँ तहका कर्मचारी निरञ्जन श्रेष्ठले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता केसीले जानकारी दिए।

Read More

काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा. दीपक कुँवर

काठमाडौं । काठमाडौं विश्वविद्यालयको चिकित्सा विज्ञान अध्ययन संस्थानको डिनमा प्रा.डा. दीपक कुँवर नियुक्त भएका छन्।

विश्वविद्यालय कार्यकारी परिषद्को हालै बसेको बैठकले डा. कुँवरलाई डिन नियुक्त गर्ने निर्णय गरेको हो। यसअघि उनी सोही संस्थानको सहायक डिनका रूपमा कार्यरत थिए।

चिकित्सा शिक्षा तथा प्राज्ञिक क्षेत्रमा लामो समयदेखि सक्रिय डा. कुँवरले काठमाडौं विश्वविद्यालय र चिकित्सा विज्ञान अध्ययन संस्थानमा विभिन्न शैक्षिक तथा प्रशासनिक जिम्मेवारी सम्हालिसकेका छन्। उनी संस्थानको प्राध्यापक परिषद्का संस्थापक सचिव तथा निवर्तमान अध्यक्षसमेत हुन्।

यसअघि डिनको जिम्मेवारी प्रा.डा. मनोज हुमागाईंले सम्हाल्दै आएका थिए। अब संस्थानको नेतृत्व डा. कुँवरले गर्नेछन्।

नयाँ जिम्मेवारीसँगै डा. कुँवरले चिकित्सा शिक्षाको गुणस्तर सुधार, अनुसन्धानलाई प्राथमिकता र विद्यार्थीको व्यवहारिक सिकाइलाई प्रभावकारी बनाउने विषयलाई आफ्नो कार्यदिशाको आधार बनाउने बताएका छन्।

चिकित्सा शिक्षा कक्षाकोठामा हुने सैद्धान्तिक अध्यापनमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले वैज्ञानिक अनुसन्धान, प्रयोगात्मक अभ्यास र आधुनिक प्रविधिलाई शिक्षण प्रणालीसँग जोड्नुपर्ने बताए। विद्यार्थीले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्न सक्ने वातावरण निर्माण गर्नु आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

त्यसैगरी, विश्वविद्यालयअन्तर्गतका शिक्षण अस्पताल तथा स्वास्थ्य संस्थासँगको समन्वयलाई थप प्रभावकारी बनाउँदै विद्यार्थीलाई पर्याप्त प्रयोगात्मक अभ्यासको अवसर उपलब्ध गराउने विषयलाई पनि नयाँ नेतृत्वका लागि महत्वपूर्ण कार्यभारका रूपमा हेरिएको छ।

चिकित्सा शिक्षा र अनुसन्धानबीचको सम्बन्धलाई बलियो बनाउने, अनुसन्धानका नयाँ क्षेत्र पहिचान गर्ने तथा स्वास्थ्य सेवासँग शिक्षण प्रणालीलाई थप जोड्ने चुनौती पनि डा. कुँवरसामु रहनेछ।

चिकित्सा विज्ञान अध्ययन संस्थानले नेपालका लागि आवश्यक चिकित्सक तथा स्वास्थ्य जनशक्ति उत्पादनमा भूमिका निर्वाह गर्दै आएको छ। यस्तो अवस्थामा नयाँ नेतृत्वका लागि संस्थानको शैक्षिक गुणस्तर कायम राख्दै बदलिँदो चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको आवश्यकताअनुसार अध्ययन, अनुसन्धान तथा व्यवहारिक शिक्षालाई अघि बढाउनु प्रमुख जिम्मेवारी हुनेछ।

Read More

गणेशमान सिंहको २९औँ स्मृति दिवस आज, विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। नेपाली कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले सिंहको योगदानको स्मरण गर्दै विविध कार्यक्रम सञ्चालन गर्दैछन्।

राणाविरोधी आन्दोलनदेखि प्रजातन्त्र स्थापनासम्म
नेपाली राजनीतिक इतिहासमा त्याग, साहस र निष्ठाका प्रतीकका रूपमा स्मरण गरिने सिंहले २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रबाट प्रधानमन्त्री बन्न गरिएको प्रस्ताव अस्वीकार गरेका थिए। उनले आफ्नो स्थानमा सहकर्मी कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्रीका रूपमा अघि सारेका थिए।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मिएका सिंह प्रारम्भिक राजनीतिक जीवनदेखि नै निरंकुश शासनविरुद्धको अभियानमा सक्रिय थिए। उनी प्रजा परिषद्मा आबद्ध हुँदै राणाशासन अन्त्य गर्ने आन्दोलनमा सहभागी भएका थिए।

२००७ सालको क्रान्तिअघि भद्रगोल जेलबाट भाग्न सफल भएपछि उनी भारत पुगेका थिए। त्यहाँ उनको बिपी कोइरालासँग राजनीतिक सम्बन्ध स्थापित भएको थियो। २००३ सालमा स्थापना भएको नेपाली राष्ट्रिय कांग्रेसको नेतृत्वमा समेत सिंह सक्रिय थिए।

२००७ सालमा प्रजातन्त्र स्थापनाका लागि भएको सशस्त्र क्रान्तिका क्रममा उनले वीरगन्ज मोर्चामा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

प्रजातन्त्र अपहरणपछि लामो काराबास
२०१५ सालको पहिलो आमनिर्वाचनपछि गठन भएको सरकारमा सिंह वरिष्ठ मन्त्री बनेका थिए। २०१७ सालमा प्रजातान्त्रिक व्यवस्था समाप्त भएपछि उनले लामो काराबास भोग्नुपर्‍यो। सिंहले सिंहदरबार र सुन्दरीजलस्थित बन्दीगृहमा गरी करिब आठ वर्ष जेल जीवन बिताएका थिए।

२०२५ सालमा बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि उनी प्रवासमा राजनीतिक संगठन विस्तार गर्ने कार्यमा सक्रिय रहे।

राष्ट्रिय एकता तथा मेलमिलापको नीति
२०३३ सालमा बिपी कोइरालासँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंहले पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक अभियानलाई निरन्तरता दिएका थिए।

२०५४ साल असोज २ गते निधन भएका गणेशमान सिंह नेपाली लोकतान्त्रिक आन्दोलनका महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरिन्छन्। प्रजातन्त्र स्थापनाका लागि उनले पुर्‍याएको योगदानको स्मरण गर्दै हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना हुँदै आएका छन्।

Read More

तुइनखोला सडक केही दिन पूर्ण रूपमा सञ्चालनमा रहने

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा केही दिनका लागि सडक पूर्ण रूपमा सञ्चालनमा रहने भएको छ। पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट यातायात सञ्चालनमा आएपछि तराईबाट काठमाडौं जाने मुख्य सडकमार्गमा सहजता ल्याउन तुइनखोलामा भइरहेको स्लोप स्टाबिलाइजेसनको काम अस्थायी रूपमा रोकिएको हो।

सडक डिभिजन भरतपुरका सूचना अधिकारी एवं इञ्जिनियर कृष्णप्रसाद आचार्यका अनुसार तुइनखोलामा सडकको भीर स्थिरीकरणको काम भइरहेकाले गत भदौ २२ गतेदेखि उक्त क्षेत्रमा सवारी आवागमन आंशिक रूपमा सञ्चालन गरिएको थियो। कृष्णभीरको सडक खुलेसँगै काठमाडौं प्रवेश गर्ने मुख्य मार्गमा थप अवरोध हुन नदिन केही दिनका लागि तुइनखोलाको काम रोकिएको उनले बताए।

लामो समयसम्म पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौं जाने सवारीसाधन प्रभावित भएको र नारायणगढ–मुग्लिन सडकखण्डमा समेत अवरोध हुँदा यात्रु तथा मालवाहक सवारीसाधनलाई थप समस्या हुन सक्ने भएकाले तत्कालका लागि सडक पूर्ण रूपमा सञ्चालन गरिएको आचार्यले जानकारी दिए।

यातायातको अवस्था सहज भएपछि तुइनखोलामा रोकिएको पहिरो व्यवस्थापन तथा सडक स्थिरीकरणको काम पुनः सुरु गरिने उनले बताए।

यसअघि स्लोप स्टाबिलाइजेसनको कामका कारण बिहान ८ः३० बजेदेखि बेलुकी ६ बजेसम्म प्रत्येक दुई घण्टामा आधा घण्टाका लागि मात्रै सवारीसाधन सञ्चालन गर्ने व्यवस्था थियो। बेलुकी ६ बजेदेखि बिहान ८ बजेसम्म भने सडक निरन्तर खुला राखिँदै आएको थियो।

गत वर्षदेखि तुइनखोलामा वर्षायामसँगै हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएपछि सडक डिभिजन भरतपुरले यसको दीर्घकालीन समाधानका लागि विशेष प्रविधिबाट काम अघि बढाएको छ।

योजनाअनुसार भीरको ढलान व्यवस्थापन, ‘नेलिङ’ प्रविधिको प्रयोग, पानी निकासका लागि ‘होरिजोन्टल ड्रेन’ निर्माण तथा बायोइन्जिनियरिङ प्रविधि अपनाइनेछ। हाल तुइनखोलामा माथिबाट खस्न सक्ने ठूला ढुंगा काटेर सुरक्षित रूपमा पन्छाउने काम भइरहेको सडक डिभिजनले जनाएको छ।

Read More

आज चार संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चार वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा विभिन्न समसामयिक तथा विधेयकसम्बन्धी विषयमा छलफल हुने कार्यसूची रहेको छ।

अर्थ समिति
शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा रसुवा बाढीपछि अर्थतन्त्रमा परेको प्रभावबारे छलफल हुनेछ। साथै, जलवायु वित्तसम्बन्धी अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल गर्ने कार्यसूची रहेको छ।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति
बिहान साढे ११ बजे बस्ने बैठकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अध्ययन तथा भ्रमणसम्बन्धी विषयमा छलफल हुनेछ। त्यसैगरी समसामयिक विषय र समितिको आन्तरिक बैठक सञ्चालनसम्बन्धी विषयमा समेत छलफल हुने संसद् सचिवालयले जनाएको छ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
बिहान १० बजे बस्ने समितिको बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि सैद्धान्तिक छलफल गरिनेछ।

बिहान साढे १० बजे बस्ने बैठकमा गत भदौ १० गते भोटेकोशी लगायतका नदीमा आएको बाढी तथा त्यसबाट परेको प्रभावबारे छलफल हुनेछ। साथै, जलवायु परिवर्तनका असरलगायत विषयमा विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना तुलनात्मक रूपमा बढी रहेको छ भने केही स्थानमा भारी वर्षासमेत हुनसक्ने विभागले जनाएको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा समेत मध्यमसम्म वर्षा हुनसक्ने भएकाले सम्बन्धित क्षेत्रमा दैनिक गतिविधि गर्दा मौसमको अवस्थालाई ध्यान दिन विभागले आग्रह गरेको छ।

कोसी प्रदेश
हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। तराई क्षेत्रमा पनि केही स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

मधेस प्रदेश
प्रदेशको तराई भूभागमा मौसम आंशिक बदली रहनेछ। थोरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्ने सम्भावना रहेको छ। अन्य समयमा भने मौसम सामान्यतया आंशिक बदली रहने अनुमान गरिएको छ।

वाग्मती प्रदेश
हिमाली क्षेत्रमा केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा पनि थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

गण्डकी प्रदेश
हिमाली भूभागमा केही स्थानमा वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। प्रदेशको तराई क्षेत्रमा पनि थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।

लुम्बिनी प्रदेश
हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको छ। पहाडी क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।

कर्णाली प्रदेश
हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपात हुनसक्ने सम्भावना छ। पहाडी भूभागमा केही स्थानमा मध्यमसम्म वर्षा हुनसक्नेछ। रातिको समयमा पनि हिमाली क्षेत्रमा वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहनेछ।

सुदूरपश्चिम प्रदेश
हिमाली भूभागका थोरै स्थानमा वर्षा तथा हिमपात हुनसक्नेछ। पहाडी क्षेत्रमा केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। तराई भूभागका एक–दुई स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्ने विभागले जनाएको छ।

राति कोसी प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा वर्षा तथा हिमपात हुनसक्नेछ। कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा, वाग्मतीका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक–दुई स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराईका केही स्थान, मधेस प्रदेश तथा वाग्मती र गण्डकीका तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्म वर्षा हुनसक्नेछ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Read More

आजको राशिफल

२०८३ असोज २ गते (१८ सेप्टेम्बर २०२६), शुक्रबार भाद्र शुक्लपक्ष सप्तमी तिथि रहेको छ। दिउँसो १२ः१५ बजेपछि अष्टमी तिथि सुरु हुनेछ। आज ज्येष्ठा नक्षत्र र वृश्चिक चन्द्रराशिको प्रभाव रहनेछ। ज्योतिषीय मान्यताअनुसार ग्रह–नक्षत्रको यस्तो अवस्थाले विभिन्न राशिका व्यक्तिको दैनिक कार्य, आर्थिक पक्ष, सम्बन्ध, स्वास्थ्य तथा अवसरमा फरक प्रभाव पार्न सक्छ। कसैका लागि नयाँ काम अघि बढाउने वातावरण बन्न सक्छ भने केहीले खर्च, विवाद वा काममा ढिलाइप्रति सावधानी अपनाउनुपर्ने देखिन्छ। त्यसैले आजको दिन आफ्ना प्राथमिकता पहिचान गर्दै सोचविचार गरेर निर्णय लिनु उपयोगी हुनेछ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज खर्च र जिम्मेवारी बढ्न सक्छ। सामान्य काममै बढी दौडधुप गर्नुपर्ने देखिन्छ। स्वास्थ्य र खानपानमा ध्यान दिनुहोला। दोहोर्‍याएर प्रयास गर्दा रोकिएका काम अघि बढ्न सक्छन्।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
भेटघाट र मनोरञ्जनको अवसर मिल्नेछ। अरूको विषयमा अनावश्यक चासो लिँदा विवाद हुन सक्छ। कारोबारमा सावधानी अपनाउनु राम्रो हुनेछ। नियमित कामबाट भने लाभ कायम रहनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
प्रतिस्पर्धामा आफ्नो पक्ष बलियो बन्न सक्छ। कामप्रति उत्साह बढ्नेछ र मेहनतको राम्रो परिणाम मिल्ने संकेत छ। आर्थिक लाभका नयाँ योजना सुरु गर्न अनुकूल समय देखिन्छ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर आए पनि अपेक्षित परिणाम ढिलो हुन सक्छ। अरूको भरमा काम गर्दा समस्या आउन सक्ने भएकाले आफ्ना योजना गोप्य राख्नु उचित हुनेछ। धैर्य र निरन्तर प्रयास आवश्यक छ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कामका अवसर आए पनि तत्काल प्रतिफल नआउन सक्छ। अरूको आश्वासनमा मात्र निर्भर नहुनुहोला। रोकिएका काम पुनः प्रयास गर्दा प्रगति हुन सक्छ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
नयाँ काम थाल्न र योजना अघि बढाउन राम्रो समय छ। मेहनतले अपेक्षित सफलता दिलाउन सक्छ। पारिवारिक तथा प्रेमसम्बन्धमा आत्मीयता बढ्नेछ। लगानीबाट पनि लाभको सम्भावना छ।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
बोली र प्रस्तुतिको प्रभाव बढ्नेछ। अधुरा काम पूरा गर्ने अवसर मिल्नेछ। मेहनतबाट प्रतिष्ठा र आर्थिक लाभ प्राप्त हुन सक्छ। आम्दानीका नयाँ बाटा खोज्न सकिने दिन हो।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक भेटघाटले उत्साह बढाउनेछ। मेहनतको परिणामले आत्मविश्वास बलियो बन्न सक्छ। नयाँ अवसर र सहयोग प्राप्त हुने सम्भावना छ।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
अनावश्यक खर्च बढ्न सक्छ। अरूको आश्वासनमा भर पर्दा निराश हुन सकिने भएकाले सावधानी अपनाउनुहोला। व्यवसायिक निर्णय र लगानीमा सोचविचार आवश्यक छ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
नयाँ अवसरसँगै आम्दानीको सम्भावना देखिन्छ। अध्ययन र काममा ध्यान केन्द्रित हुनेछ। थोरै लगानीबाट पनि लाभ मिल्न सक्छ। छोटो प्रयासमै केही काम सम्पन्न हुने संकेत छ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
राम्रो कामका कारण प्रशंसा र परिचय बढ्न सक्छ। प्रभावशाली व्यक्तिको सहयोग मिल्ने सम्भावना छ। नयाँ अवसरलाई उपयोग गर्दै दीर्घकालीन योजनातर्फ अघि बढ्न सकिनेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
थकान वा कमजोरीका कारण केही असहजता हुन सक्छ। अरूको काममा समय र स्रोत खर्चिनुपर्ने अवस्था आउन सक्छ। निरन्तर प्रयासले भने उपयोगी उपलब्धि दिलाउन सक्छ।

Read More