काठमाडौं । लगातारको वर्षासँगै भिजिबिलिटी घटेपछि देशका विभिन्न गन्तव्यतर्फका हवाई उडान प्रभावित भएका छन्। प्रतिकूल मौसमका कारण विमानस्थलमा यात्रुको चापसमेत बढेको छ।
कम दृश्यता र धुम्मिएको मौसमका कारण पोखरा, भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान सञ्चालन हुन सकेको छैन। उडान प्रभावित भएपछि यात्रुहरू विमानस्थलमै रोकिएका छन्।
मौसममा सुधार आएपछि मात्रै नियमित उडान सञ्चालनमा आउने सम्बन्धित विमानस्थल तथा वायुसेवा कम्पनीहरूले जनाएका छन्।
काठमाडौं । सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका ५६ मध्ये २५ वटा ढोका खोलिएको छ। शुक्रबार बिहान १० बजे गरिएको मापनअनुसार नदीमा पानीको बहाव १ लाख ९८ हजार २२० क्युसेक प्रतिसेकेन्ड पुगेको छ।
लगातारको वर्षाका कारण सप्तकोसीमा पानीको सतह बढ्दै गएपछि ब्यारेजमा सुरक्षा सतर्कता पनि बढाइएको छ। माथिल्लो जलाधार क्षेत्रमा वर्षा जारी रहेमा बहाव थप बढ्न सक्ने भएकाले कोशी नदीको तटीय तथा तल्लो भूभागमा जोखिम बढेको छ।
तटीय क्षेत्रमा सतर्कता बढाइयो
सप्तरी र सुनसरीसहित कोशी नदी आसपासका बस्तीमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। नदी किनार, खेतबारी तथा तल्लो भूभागमा बसोबास गर्ने स्थानीयलाई पानीको अवस्थाबारे निरन्तर जानकारी लिन र प्रशासन तथा स्थानीय तहका सूचनामा ध्यान दिन भनिएको छ।
पानीको बहावअनुसार कोशी ब्यारेजका ढोका खोल्ने वा बन्द गर्ने गरिन्छ। बहाव अझ बढेमा थप ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले नदीको जलस्तर निरन्तर निगरानी भइरहेको छ।
काठमाडौं । रसुवाको टिमुरेमा भदौ १० गते आएको भोटेकोशी बाढीपछि ठूलो संख्यामा सवारीसाधन तथा त्यसमा संलग्न व्यक्तिहरू सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। विभिन्न यातायात व्यवसायी संघ, कम्पनी तथा प्रालिबाट संकलित विवरणअनुसार ५ सय ३३ वटा सवारीसाधन र तिनमा संलग्न ७ सय ४१ चालक, सहचालक, परिचालक तथा व्यवसायी अझै सम्पर्कविहीन छन्।
बाढीमा ट्रक, कन्टेनर, बस, जिप, माइक्रोबसलगायतका सवारीसाधन परेको व्यवसायीहरूको विवरणमा उल्लेख छ। तर घटना भएको तीन साताभन्दा बढी समय बितिसक्दा पनि हराएका सवारीसाधन र व्यक्तिको यकिन तथा एकीकृत सरकारी तथ्यांक भने सार्वजनिक हुन सकेको छैन।
ट्रक र कन्टेनरमा सबैभन्दा ठूलो क्षति
नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागमा बुझाएको विवरणअनुसार मात्रै ३ सय २५ ट्रक तथा कन्टेनरसँग सम्बन्धित ४ सय ४० जना सम्पर्कविहीन छन्। भदौ १० गते बिहान चीनतर्फबाट आएको बाढीले टिमुरे क्षेत्रमा पार्किङ तथा आवतजावतमा रहेका सवारीसाधन बगाएको महासंघले जनाएको छ।
महासंघका अनुसार नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका २ सय १७ सवारीसाधन हराएका छन् भने २ सय ५१ चालक, परिचालक तथा व्यवसायी सम्पर्कविहीन छन्। अन्य संस्थाबाट संकलित विवरण यस्तो छ:
संस्था
हराएका सवारीसाधन
सम्पर्कविहीन व्यक्ति
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालि
२१७
२५१
नारायणी यातायात व्यवसायी संघ
५५
७८
तराई यातायात व्यवसायी संघ
२१
३५
ट्रक यातायात व्यवसायी संघ नेपाल
१०
२०
गण्डकी ट्रक व्यवसायी संघ
२१
३४
पश्चिमाञ्चल यातायात व्यवसायी समिति
११
२२
जम्मा
३२५
४४०
महासंघले थप विवरण प्राप्त भएमा तथ्यांक अद्यावधिक गर्ने जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उसका सदस्य संघ, समिति, कम्पनी तथा प्रालिअन्तर्गतका १ सय ११ सवारीसाधन बाढीबाट प्रभावित भएका छन्। यसमा बस, मिनीबस, जिप, कन्टेनर, ट्रक, टिपर र माइक्रोबसलगायतका सवारीसाधन छन्।
महासंघका अनुसार ती सवारीसाधनसँग सम्बन्धित चालक, परिचालक तथा यात्रुसहित तीन सयभन्दा बढी व्यक्ति प्रभावित भएका छन्। विभिन्न यातायात कम्पनी तथा समितिबाट थप विवरण संकलन भइरहेको जनाइएको छ।
यसैगरी ट्रान्सपोर्टेसन पोर्टर सर्भिस प्रालिका चार पर्यटक सवारीसाधन हराएका छन् भने ती सवारीका चार चालकसमेत सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रविक्रम बानियाँका अनुसार हराएका सवारीसाधन तथा व्यक्तिको विवरण आउने क्रम अझै जारी छ। उनले हाल प्राप्त विवरण प्रारम्भिक भएकाले वास्तविक क्षति अझ ठूलो हुन सक्ने बताएका छन्।
व्यवसायीहरूले सरकारलाई विवरण बुझाए पनि खोजी तथा तथ्यांक अद्यावधिक गर्ने काम अपेक्षाअनुसार अघि नबढेको गुनासो गरेका छन्। नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रालिका अर्जुनबहादुर सापकोटाका अनुसार हराएका चालक तथा मजदुरका परिवारसमेत आफन्तको अवस्थाबारे जानकारी नपाउँदा चिन्तित छन्।
सरकारसँग अझै छैन एकीकृत तथ्यांक
यातायात व्यवसायी संघहरूले आफ्ना सदस्य तथा सम्बन्धित संस्थाबाट छुट्टाछुट्टै विवरण संकलन गरिरहेका छन्। तर ती सबै विवरणलाई एकीकृत गरी प्रमाणीकरण गरिएको सरकारी तथ्यांक भने अहिलेसम्म सार्वजनिक भएको छैन।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले सवारीसाधन तथा यातायात मजदुर हराएको विषयमा तथ्यांक संकलन भइरहेको बताएकी छन्। उनका अनुसार हालसम्म कति सवारीसाधन र व्यक्ति हराएका छन् भन्ने यकिन विवरण उपलब्ध छैन।
व्यवसायी संघहरूले उपलब्ध गराएको विवरणमा वर्गीकरण फरक रहेको र कतिपय तथ्यांक दोहोरिन सक्ने सम्भावना रहेकाले ५ सय ३३ सवारीसाधन र ७ सय ४१ व्यक्तिको संख्या अन्तिम सरकारी तथ्यांक होइन। सम्बन्धित निकायबाट प्रमाणीकरण र थप अद्यावधिक भएपछि मात्र वास्तविक क्षतिको यकिन विवरण आउनेछ।
काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ।
बिहीबार बिहान ८ः२५ बजे नेपालगञ्जबाट डोल्पाका लागि उडेको जहाज अवतरणका क्रममा उक्त समस्या देखिएको हो। डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी रामदत्त चौलागाईंका अनुसार जहाजमा सामान्य क्षति पुगे पनि सबै यात्रु सुरक्षित छन्।
जहाजमा चालक दलसहित १३ जना यात्रु रहेको र तीमध्ये सात जना विदेशी नागरिक रहेको बताइएको छ। घटनापछि प्राविधिक टोलीले जहाजको अवस्थाबारे परीक्षण गरिरहेको छ।
काठमाडौँ । प्रहरीले विभिन्न जिल्लामा सञ्चालन गरेको कारबाहीका क्रममा अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ। सुनसरी, कपिलवस्तु र कैलालीबाट पक्राउ परेकाहरूको साथबाट ब्राउनसुगर तथा हेरोइनजस्तो देखिने पदार्थ, गाँजा र नियन्त्रित औषधि बरामद भएको प्रहरीले जनाएको छ।
सुनसरीको इनरूवा नगरपालिका–३ सहमती चोकबाट मंगलबार राति ब्राउनसुगरजस्तो देखिने पदार्थ २ ग्राम ११० मिलिग्रामसहित मोरङको सुन्दरहरैँचा नगरपालिका–५ का २१ वर्षीय युवराज खत्री र २१ वर्षीय अमृत साह पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।
त्यस्तै, सुनसरीकै भोक्राहा नरसिंह गाउँपालिका–३ शिवचोकबाट २४ ग्राम ६२० मिलिग्राम गाँजा, स्पास्मो चार ट्याब्लेट र नाइट्राजेपाम १२ ट्याब्लेटसहित २८ वर्षीय हजरत अली पक्राउ परेका छन्। उनी सोही गाउँपालिका–२ अखाह बजारका बासिन्दा हुन्। इलाका प्रहरी कार्यालय लौकहीको टोलीले बुधबार बिहान उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–११ वरूवाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ ४ ग्राम ४५० मिलिग्रामसहित रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ का ३१ वर्षीय जनक गुरुङ पक्राउ परेका छन्। अस्थायी प्रहरी पोस्ट भड्डिहवाबाट खटिएको टोलीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो।
कैलालीको गोदावरी नगरपालिका–१ अत्तरीयाबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ११ ग्राम २८० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–७ क्याम्पसरोडका ३१ वर्षीय हितेश साहु पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीसहितबाट खटिएको टोलीले बुधबार दिउँसो उनलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
काठमाडौँ । उदयपुरको कटारी नगरपालिका–६ स्थित भुसुने जंगलबाट प्रहरीले १८२ किलो गाँजा बरामद गरेको छ।
शिखर सामुदायिक वन र गडमे खोलाबीचको ऐलानी जग्गामा रहेको झाडीमा गाँजा लुकाएर राखिएको सूचनाका आधारमा प्रहरीले खोजी गरेको थियो। सो क्रममा नौ बोरामा राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजा कसले र कुन उद्देश्यले त्यहाँ राखेको भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातको बसमा भएको आगलागीमा मृत्यु भएका व्यक्तिको पहिचान अझै यकिन हुन सकेको छैन। प्रहरीले मृतकको पहिचानसँगै घटनामा प्रयोग भएको परिचयपत्रबारे समेत अनुसन्धान अघि बढाएको छ।
आगलागीपछि मृतकको साथबाट भेटिएको सवारी चालक अनुमतिपत्रका आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा हुनसक्ने प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। तर, दावा लामा नाम गरेका व्यक्ति स्वयं सकुशल रहेको जानकारी आएपछि मृतकको वास्तविक पहिचानबारे थप अनुसन्धान आवश्यक भएको हो।
लाइसेन्स प्रयोगबारे पनि छानबिन
प्रहरीले मृतकसँग भेटिएको लाइसेन्सको विवरण, त्यसको प्रयोग तथा सम्भावित दुरुपयोगको विषयमा अनुसन्धान गरिरहेको छ। आफू दावा लामा भएको बताउने व्यक्तिलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा बोलाएर प्रहरीले सोधपुछ गरिरहेको छ।
प्रहरीका अनुसार मृतकको पहिचान पुष्टि गर्न उपलब्ध कागजात तथा अन्य प्रमाणको अध्ययन भइरहेको छ।
सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो।
आगलागी हुनुअघि बस चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ। विवाद भएको केही समयपछि बसको पछाडिको भागबाट आगो सुरु भएको थियो। घटनाको कारण र मृतकको पहिचानबारे प्रहरीले अनुसन्धान जारी राखेको छ।
काठमाडौँ । त्रिपुरेश्वरमा सोमबार भएको बस आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको निधन भएको हो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले चालकको उपचारका क्रममा मृत्यु भएको पुष्टि गरेका छन्।
सोमबार मध्यान्ह त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातको बसमा अचानक आगलागी भएको थियो। घटनामा चालक गम्भीर घाइते भएका थिए। चिकित्सकका अनुसार आगलागीबाट उनको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो।
घटनापछि तत्काल उद्धार
बसमा आगलागी भएपछि सुरक्षाकर्मी र स्थानीयवासीले चालकलाई तत्काल गाडीबाट बाहिर निकालेका थिए। त्यसपछि उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्याइएको थियो।
गम्भीर अवस्थामा उपचार भइरहेका चालकको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट प्रहरीले करिब २ हजार १ सय ३७ किलो गाँजाजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले दुवै जनाको घरमा खानतलासी गर्दा उक्त पदार्थ बरामद गरेको हो।
प्रहरीका अनुसार सदाको घरबाट ५६ वटा पोकामा राखिएको १ हजार ८ सय ३८ किलो ८ सय ७० ग्राम तथा मुखियाको घरबाट ८ वटा पोकामा रहेको २ सय ६१ किलो ५ सय ग्राम पदार्थ फेला परेको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।