२०८३ श्रावण ४

शुक्रबार दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) सम्बन्धि अध्यादेश जारी गरेका छन् ।  सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालले जनाएको छ । यसअघि राष्ट्रपति पौडेलले आजै सहकारी सम्बन्धी र  सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए ।  सरकारले सिफारिश गरेका अन्य अध्यादेश भने राष्ट्रपतिले अझै जारी गरेका छैनन् । सरकारले सिफारिश गरेका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र  केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश  राष्ट्रपति पौडेलले होल्ड गरेका छन् ।

२- सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललाई सेवाबाट अवकाश हुने क्रममा सम्मानसहित बिदाई गरिएको छ । हल्चोकस्थित प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई फौजी परम्पराअनुसार बिदाई गरिएको हो । सोही अवसरमा उनले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी तथा सशस्त्र प्रहरीको झण्डा हस्तान्तरण गरेका छन् । समारोहमा नवनियुक्त महानिरीक्षक पौडेलले अर्याललाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाई गरेका थिए । त्यस्तै सशस्त्र प्रहरी परिवार महिला संघतर्फ अर्यालकी श्रीमती अनिता लामिछानेलाई संघकी उपाध्यक्ष सावित्रा कुमारी पौडेलले फूलमालासहित बिदाई गरेकी थिइन् । बिदाई कार्यक्रममा अर्यालले संगठनको नेतृत्व सम्हाल्नु र सफलतापूर्वक अवकाश पाउनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले संगठनलाई परिवारका रूपमा लिँदै अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको महत्व बुझ्ने अवसर पाएको उल्लेख गरे । उनले संगठन सुधार निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै राष्ट्र, संगठन र जनताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताए । साथै सशस्त्र प्रहरीको वर्दीलाई नागरिकका लागि भरोसा र अपराधीका लागि डरको प्रतीक बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा नवनियुक्त महानिरीक्षक पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने उल्लेख गर्दै अर्यालको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि उपयोगी रहने विश्वास व्यक्त गरे । उनले संगठनलाई आधुनिक, सक्षम र जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता जनाए । समारोहमा पूर्व महानिरीक्षकहरू, उच्च पदाधिकारीहरू तथा सशस्त्र प्रहरीका विभिन्न तहका अधिकारी र जवानहरूको उपस्थिति रहेको थियो । 

३- नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको हो । बर्षाले प्रभावित खेलमा नेपालले युएईलाई दिएको २५५ रनको लक्ष्य पछाएको युएईले ३८ ओभरमा ८ विकेट गुमाएर २४८ रन बनाएको थियो । बर्षाले प्रभावित बनेको यो खेलमा युएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिइएको थियो । युएईका लागि मुहमद शहदादले सर्बाधिक ६५ रन बनाएका थिए भने खुजैमा तनवीरले ४९ रन, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रन बनाएका थिए ।   त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिएका थिए ।  यसआघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका थिए । त्यस्तै विनोद भण्डारीले ५६ रन बनाए भने गुलशन झाले ४४ रन बनाएका थिए ।  त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए भने अर्जुन कुमाल र आरिफ सेखले ११-११ रन बनाएका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिएका थिए । यो जितपछि नेपालको लिग-२ मा २३ खेलमा १६ अंक भएको छ भने युएईको २३ खेलमा १२ अंक रहेको छ । अब सिरिजको अर्को खेल आइतबार ओमान र युएईबीच हुने तालिका रहेको छ ।

४- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहायतासम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सो भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ । गोरले यसअघि आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए । विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् ।

५- रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटनामा मृत्यु हुनेको सबै २० जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार विहिबार भएको दुर्घटनामा मृत्यु हुनेमा पूर्वी रुकुमका २८ वर्षका गोर्ख बहादुर बि.सी., ५३ वर्षकी तिल कुमारी बुढाथोकी, २८ वर्षका युवा बुढाथोकी, १० वर्षका दिब्यान बुढाथोकी, २४ वर्षकी सृजना बुढाथोकी, १३ वर्षका सुदिप बुढाथोकी, ४० वर्षकी ओम कुमारी बुढाथोकी, ६० वर्षकी मिना बि.क., ६० वर्षकी लक्ष्मी शाह, २७ वर्षकी रुक्मिना थापा बस्नेत तथा टेक प्रसाद बुढा, दाङका ५० वर्षकी द्रोपती जि.सी., ३२ वर्षकी तिला जि.सी., ७ वर्षका जेनिस घर्ति, १२ वर्षकी जेनिसा जि.सी., २५ वर्षकी एलिसा घर्ति र भनमाया बिष्ट, लमजुङका ७ वर्षका संयोग थापा तथा उमेर नखुलेका यम बहादुर जि.सी. र ४२ वर्षका बेदु राम बि.क. रहेका छन् । थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो ।  दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ ।

६- बल्खुस्थित सुकुम्बासी बस्तीका एक पुरुषले आत्महत्या गरेका छन् । शुक्रबार सरकारले बस्तीमा डोजर चलाएको केही घण्टामै उनले बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन् । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन भने शव अहिले बागमतीबाट बाहिर निकालिएको छ । यसअघि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले पनि आत्महत्या गरेका थिए ।

७- परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकाका विशेष दूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-अमेरिका सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले उल्लेख गरेको छ । भेटमा विशेषगरी लगानी र व्यापार प्रवर्द्धनमा जोड दिँदै द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा कुराकानी भएको बताइएको छ । विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् ।

८- जापानले विमानस्थलमा काम गर्ने कर्मचारीको भार घटाउन मानवजस्तै देखिने रोबोट प्रयोगको परीक्षण सुरु गर्ने भएको छ । जापान एयरलाइन्सले मे महिनाको सुरुआतदेखि टोकियोस्थित हानेदा विमानस्थलमा यस्ता रोबोटको परीक्षण गर्न लागेको जनाएको हो । चीनमा निर्मित ती रोबोटलाई यात्रुहरूको सामान तथा कार्गो उठाउने काममा प्रयोग गरिनेछ । हरेक वर्ष ६ करोडभन्दा बढी यात्रु आवतजावत गर्ने हानेदा विमानस्थलमा यस प्रयोगबाट कर्मचारीमाथिको शारीरिक दबाब घट्ने अपेक्षा गरिएको छ । सन् २०२८ सम्म सञ्चालन हुने यो परीक्षणमार्फत कामलाई थप सहज बनाउने योजना रहेको बताइएको छ । हालै सार्वजनिक गरिएको प्रदर्शनमा करिब १३० सेन्टिमिटर उचाइका रोबोटले विमान नजिक कन्वेयर बेल्टमा कार्गो सार्ने र संकेत गर्ने काम गरेको देखाइएको थियो । एकपटक चार्ज गरेपछि ती रोबोटले २ देखि ३ घण्टासम्म निरन्तर काम गर्न सक्ने जनाइएको छ । भविष्यमा विमानको भित्री सफाइजस्ता काममा पनि प्रयोग गर्ने योजना बनाइएको छ । तर सुरक्षासम्बन्धी संवेदनशील काम भने मानिसले नै गर्ने स्पष्ट पारिएको छ । जापान अहिले घट्दो र वृद्ध हुँदै गएको जनसंख्या तथा बढ्दो पर्यटकको चापजस्ता दोहोरो चुनौतीसँग जुधिरहेको छ । कूटनीतिक तनावका कारण चिनियाँ पर्यटक केही घटे पनि पछिल्लो वर्ष रेकर्ड ४ करोड २७ लाख पर्यटक जापान पुगेका थिए । सन् २०२६ को सुरुका दुई महिनामै ७० लाखभन्दा बढी पर्यटक पुगेको तथ्यांक छ । आर्थिक लक्ष्य पूरा गर्न सन् २०४० सम्म जापानलाई करिब ६५ लाख विदेशी कामदार आवश्यक पर्ने अनुमान गरिएको छ । तर आप्रवासन नियन्त्रणको राजनीतिक दबाब पनि उच्च रहेको छ । कम्पनीका अधिकारी तोमोहिरो उचिदाले विमानस्थल बाहिरबाट आधुनिक देखिए पनि भित्री कामकाज अझै ठूलो मात्रामा मानव श्रममा निर्भर रहेको उल्लेख गर्दै रोबोट प्रयोगले उक्त दबाब कम गर्न सहयोग पुग्ने बताएका छन् । 

९-  काठमाडौंको बल्खु र वंशीघाट क्षेत्रका ७२ जनाले आफ्नो घर, जग्गा र पैतृक सम्पत्ति नभएको र न्यून आयस्रोत भएको भन्दै विवरण टिपाएका छन् ।  ​स्वेच्छिक सहभागिता र तथ्याङ्क: आफ्नो सुरक्षित व्यवस्थापनको खोजीमा अहिलेसम्म ७२ जनाले स्वेच्छिक रूपमा रंगशाला पुगेर आफ्नो विवरण दर्ता गराइसकेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जानकारी दिएको छ । ​एकीकृत प्रयास: रंगशालामा शहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौं महानगर प्रहरीको संयुक्त टोलीले अभिभावकीय भूमिकामा विवरण संकलन गरिरहेको छ । त्यस्तै ​स्वास्थ्य र मनोपरामर्श: विवरण संकलनसँगै त्यहाँ आइपुग्नु भएका नागरिकहरूको स्वास्थ्य जाँच र आवश्यक मनोपरामर्श प्रदान गरिँदैछ, जसले उनीहरूमा रहेको त्रासलाई कम गरी आत्मविश्वास जगाउन मद्दत गरेको छ । साथै आतिथ्य र सम्मान: लामो समयदेखि असुरक्षित र कष्टकर बसोबास गरिरहेका नागरिकहरूलाई सम्मानजनक व्यवहारका साथ खाजा खुवाएर व्यवस्थित तरिकाले ‘होल्डिङ सेन्टर’मा लैजाने तयारी गरिएको छ। ​सुरक्षित होल्डिङ सेन्टरको व्यवस्था: विवरण संकलनपछि उहाँहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित रेडक्रस भवनमा व्यवस्थापन गर्ने तयारी भएको छ । 

१०- अमेरिकी पप गायिका ब्रिट्नी स्पेयर्समाथि मदिरा तथा लागूपदार्थको नशामा सवारी चलाएको आरोप लागेपछि कानुनी समस्या बढेको छ । भेन्चुरा काउन्टीका अभियोजन कार्यालयका अनुसार ४४ वर्षीया ब्रिट्नी स्पेयर्समाथि मदिरासहित कम्तीमा एक प्रकारको लागूपदार्थ सेवन गरेर सवारी चलाएको अभियोग दर्ता गरिएको छ । यसबारे थप जानकारी दिन उनको प्रतिनिधिसँग स्पष्टीकरण मागिएको भए पनि अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । आरोपमा कुन प्रकारको पदार्थ र कति मात्रामा प्रयोग गरिएको थियो भन्ने विवरण भने खुलाइएको छैन । यस विषयमा उनको अदालतमा पेशी सोमबारका लागि तय गरिएको छ । यद्यपि अभियोजन पक्षले यो सामान्य प्रकृतिको मुद्दा भएकाले अनिवार्य रूपमा अदालतमा उपस्थित हुनुपर्ने नपर्ने जनाएको छ । स्पेयर्सलाई गत मार्च ४ मा प्रहरीले नियन्त्रणमा लिएको थियो । तीव्र गतिमा तथा असावधानीपूर्वक सवारी चलाएको आशंकामा रोकिएको बेला उनी नशामा देखिएकी थिइन् । त्यसपछि उनलाई पक्राउ गरी भेन्चुरा काउन्टी कारागारमा राखिएको थियो र भोलिपल्ट जमानतमा रिहा गरिएको थियो । पछि अनुसन्धान पूरा गरिएको जनाइएको छ । गिरफ्तारीपछि करिब एक महिनापछि उनले नशाको लतबाट छुटकारा पाउन पुनःस्थापना केन्द्रमा भर्ना भएको उनका प्रतिनिधिले बताएका थिए । ९० को दशकमा निकै लोकप्रिय रहेकी स्पेयर्सलाई पप संगीतकी ‘राजकुमारी’ भनेर चिनिन्थ्यो । उनका गीतहरू अहिले पनि दर्शकमाझ लोकप्रिय छन् । यद्यपि उनी पटक–पटक विवादमा तानिँदै आएकी छन् र एक समय संगीत क्षेत्रबाट टाढा पनि रहनुपरेको थियो ।

११- नेपाल प्रहरीले विगत एक महिनाको अवधिमा देशभरबाट ४१७ जना बिचौलियाहरूलाई पक्राउ गरेको छ । जसमध्ये उपत्यकाबाट १२३ जना, कोशी प्रदेशबाट ४५ जना, मधेश प्रदेशबाट ५० जना, बागमती प्रदेशबाट ७६ जना, गण्डकी प्रदेशबाट २७ जना, लुम्बिनी प्रदेशबाट ४४ जना, कर्णाली प्रदेशबाट २४ जना र सुदूरपश्चिम प्रदेशबाट २८ जना पक्राउ परेका हुन् । पक्राउ मध्ये १२१ जना व्यक्तिहरू उपर मुद्दा दर्ता गरिएको छ भने २९६ जना व्यक्तिहरूलाई छानविन पछि छाडिएको छ । समाजमा शान्ति सुव्यवस्था कायम राख्दै आम नागरिकको दैनिक जीवनयापनलाई सहज बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । वर्तमान परिपेक्षमा बिचौलिया रहित, नागरिक मैत्री, कानुन सम्मत, पारदर्शी र छिटो छरितो प्रभावकारी सेवा प्रवाहलाई नेपाल प्रहरीले उच्च प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।   काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूले सेवाग्राहीहरूलाई छिटो र छरितो काम गरिदिने लगायतका प्रलोभनमा पारी दु:ख हैरानी दिने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा प्रस्तुत हुँदै आइरहेको छ । 

१२- म्यानमारकी पूर्व नेतृ आङ साङ सूकीलाई निवासमै नजरबन्दमा सारिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । समाचारअनुसार उनी यसअघि हिरासतमा राखिएकी थिइन् । ८० वर्षीया नोबेल पुरस्कार विजेता सूकीलाई सन् २०२१ मा सैन्य ‘कू’ मार्फत सत्ताच्युत गरिएपछि निरन्तर नियन्त्रणमा राखिएको थियो । उनलाई राजधानी नेपिडोस्थित सैनिक कारागारमा राखिएको अनुमान गरिएको थियो । सैन्य प्रमुख मिन आङ ह्लाइङले जारी गरेको वक्तव्यमा सूचीको बाँकी सजाय तोकिएको निवासमै पूरा गर्न आदेश दिइएको उल्लेख गरिएको छ । उनैले म्यानमारमा सैन्य ‘कू’ को नेतृत्व गरेका थिए । सूकी सन् २०१५ मा सत्तामा आएकी थिइन्, जतिबेला म्यानमारमा लोकतान्त्रिक सुधार लागू गरिएको थियो । त्यसअघि उनी लामो समयसम्म सैन्य शासनविरुद्ध लोकतन्त्र पक्षधर अभियानमा सक्रिय रहँदै आएकी थिइन् र १५ वर्षभन्दा बढी समय नजरबन्दमै बिताएकी थिइन् । यसैबीच सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको एक तस्वीरमा सूकी दुई जना वर्दीधारी सुरक्षाकर्मीसँग बसेको देखिएको छ । तर उनका छोरा किम एरिसले उक्त दाबीप्रति शंका व्यक्त गरेका छन् । उनले आफ्नी आमा जीवित रहेको प्रमाणसमेत आफूहरूसँग नभएको बताएका छन् । सार्वजनिक गरिएको तस्वीर सन् २०२२ कै भएको दाबी गर्दै उनले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । उनले यो दाबी सत्य होस् भन्ने आशा गरे पनि अहिलेसम्म स्थानान्तरण भएको पुष्टि गर्ने ठोस प्रमाण नभेटिएको बताएका छन् ।

१३- नेपालका पूर्व प्रशिक्षक मोन्टी देसाई क्यानडाको क्रिकेटको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । क्यानडा क्रिकेट संघले देसाई पुरुष राष्ट्रिय टोलीका लागि नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको हो । भ्रष्टाचार र कुप्रबन्धनसम्बन्धी आरोपपछि सङ्घले नयाँ सुरुआत गर्ने उद्देश्यसहित यो देसाईलाई प्रशिक्षक बनाएको उल्लेख गरेको छ  । टोलीले सन् २०२६ को टी-२० विश्वकपमा सहभागिता जनाइसकेपछि आगामी अन्तर्राष्ट्रिय प्रतियोगितालाई ध्यानमा राख्दै यो कदम चालिएको जनाइएको छ । सङ्घका अध्यक्ष अर्विन्दर खोसाका अनुसार यो नियुक्ति टोलीलाई पुनः सुदृढ बनाउने र अन्तर्राष्ट्रिय स्तरमा निरन्तरता कायम गर्ने रणनीतिक प्रयास भएको बताएका छन् । उनले प्रदर्शन, व्यावसायिकता र स्पष्ट लक्ष्यसहित क्रिकेट क्यानडाको पहिचान पुनःस्थापित गर्ने प्राथमिकता रहेको बताएका छन् । देसाई यसअघि २०२३ देखि दुई बर्ष नेपालको प्रशिक्षक बनेका थिए ।

१४- नेकपा एमालेका नेता गोकुल बास्कोटाले राजनीतिक नियुक्ति पाउने पदाधिकारीहरूले सरकार परिवर्तनसँगै पद छोड्नुपर्ने बताएका छन् । उनले दलहरूको राजनीतिक हैसियतका आधारमा प्राप्त पदमा बसेका व्यक्तिहरूले सरकार फेरिएपछि विभिन्न बहाना, आन्दोलन वा अदालत धाउने प्रवृत्ति गलत भएको टिप्पणी गरेका छन् । त्यस्ता व्यक्तिहरूले पदमा बसिरहन खोज्नु उचित नहुने उनको भनाइ छ । उनले भनेका छन्- ‘पार्टीहरुको राजनीतिक हैसियतका आधारमा नियुक्ति पाउने पद र पाएका ब्यक्तिहरुले सरकार फेरिए पछि ईफ, बट, धर्ना, जुलस, आन्दोलन, अदालत धाउने होईन, खुरुक्क त्यो जागीर त्यै दिनबाट छोडेर घर जाने हो ।’ बास्कोटाले एमाले, कांग्रेस र नेकपालगायत दललाई यस विषयमा अनावश्यक विवाद नगर्न आग्रह गर्दै यस्तो प्रवृत्तिले व्यक्तिको मात्र नभई समग्र समाजको हितमा नपर्ने बताएका छन् ।

१५-  प्रधानमन्त्री बालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा शान्ति, ज्ञान र दुःख निवारणको मार्गमा अघि बढ्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले गौतम बुद्धका उपदेश स्मरण गर्दै ‘दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ’ भन्ने सन्देशले मानव जीवनलाई सही दिशातर्फ डोर्याउने उल्लेख गरेका छन् । बुद्धले देखाएको बाटो दुःखबाट मुक्ति पाउने मार्ग भएको उनको भनाइ छ । प्रधानमन्त्री शाहले उज्यालोको अभाव नै अँध्यारो भएको उल्लेख गर्दै ज्ञानको प्रकाशले अँध्यारो स्वतः हट्ने बताएका छन् । मानव जीवनको यात्रा ज्ञानको खोज र समस्याको समाधानतर्फ केन्द्रित हुनुपर्ने उनले बताएका छन् । बुद्धको जन्मजयन्तीको अवसरमा उनले विश्वशान्तिको कामना गर्दै नेपाल भूमि सधैं अहिंसा र शान्तिको पक्षमा रहेको उल्लेख गरेका छन् । उनले साँचो परिवर्तन ज्ञानबाट सुरु हुने भन्दै ‘अप्प दीपो भवः’ अर्थात् आफैं उज्यालो बन्नुपर्ने सन्देश पनि दिएका छन् । उनले भनेका छन्- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो “ज्ञ” ज्ञान हो ।’

१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ३४ सयले बढेर तोलाको २ लाख ९६ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९२ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १३५ रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८१० मा कारोबार भएको थियो ।

१७-  सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ । शुक्रबार बिहान बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार नै सूचना निकालेर बस्ती खाली गर्न बिहीबार साँझसम्मको अल्टिमेटम दिएको थियो ।  प्रशासनको अल्टिमेटमपछि काठमाडौँका विभिन्न स्थानमा सार्बजनिक जग्गामा बनेका घर टहरा खाली हुने र गराउने क्रम शुरु भएको छ । गंगबु क्षेत्रमा रहेको सुकुम्बासी बस्ती सरकारी हटाउने चेतावनीपछि खाली गर्ने थालेका छन् भने त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरू आफैं आफ्नो अस्थायी टहरा हटाउँदै खाली गरी रहेका छन् । 

१८- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्बन्धित युद्धलाई निरन्तरता दिन संसदमा प्रस्ताव ल्याउने निर्णय हालका लागि स्थगित गरेका छन् । युद्ध सुरु भएको ६० दिन पूरा भएपछि आगामी कदमका लागि मे १ मा संसदमा प्रस्ताव पेश गर्नुपर्ने अवस्था भए पनि उनले त्यो प्रक्रिया तत्काल अघि नबढाउने संकेत दिएका हुन् । अमेरिकाका रक्षा मन्त्री पीट हेगसेथले संसदमा बोल्दै राष्ट्रपति ट्रम्पलाई ६० दिनभन्दा बढी युद्ध जारी राख्न संसदको स्वीकृति आवश्यक नपर्ने बताएका छन् । उनका अनुसार इरानसँग भएको युद्धविरामका कारण ६० दिनको समयसीमा नै रोकिएको छ । उनले अहिलेको मुख्य खतरा इरान नभई युद्धको विरोध गर्ने पक्ष भएको दाबी गरे । विरोध गर्नेहरूमा केही डेमोक्रेट र केही रिपब्लिकन नेतासमेत रहेको उनको भनाइ छ । भियतनाम युद्धपछि अमेरिकामा ‘वार पावर्स रिजोल्युशन’ लागू गरिएको थियो। उक्त कानूनअनुसार राष्ट्रपति संसदको अनुमति बिना अधिकतम ६० दिनसम्म मात्र सेना प्रयोग गर्न सक्छन् । यो व्यवस्थाअनुसार राष्ट्रपति या त सेना फिर्ता बोलाउनुपर्ने, वा युद्ध जारी राख्न संसदबाट स्वीकृति लिनुपर्ने, वा थप ३० दिन समय माग्नुपर्ने हुन्छ । ट्रम्प प्रशासनले मार्च १ मा इरानमाथि गरिएको आक्रमणबारे संसदलाई जानकारी गराएको थियो । त्यसअनुसार ६० दिनको समयसीमा मे १ मा सकिने भएको हो ।

१९- राष्ट्रपति रामचन्द्र पौडेलले २५७०औँ बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बौद्ध दर्शनका प्रवर्तक तथा विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका बौद्ध धर्मावलम्बी र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । उनले वैशाख शुक्ल पूर्णिमाका दिन गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेको विशेष तिथिका रूपमा विश्वभर बुद्ध जयन्ती मनाइने उल्लेख गरेका छन् । यस दिन गुम्बा, विहार, मठ, स्तूप र चैत्यमा पूजा, प्रार्थना, ध्यान तथा प्रवचनजस्ता कार्यक्रममार्फत बुद्धप्रति श्रद्धा व्यक्त गरिने गरिएको छ । राष्ट्रपति पौडेलले लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको स्मरण गर्दै उनका उपदेशले मानव जातिलाई शान्ति र आनन्दतर्फ डोर्‍याएको उल्लेख गरेका छन् । बुद्धको जन्मभूमि नेपाल हुनु सबै नेपालीका लागि गौरवको विषय भएको पनि उनले बताएका छन् । उनले बुद्धका प्रेरणादायी उपदेशलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गरी राष्ट्रिय एकता सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् । सन्देशमा राष्ट्रपति पौडेलले बुद्धका कालजयी शिक्षाबाट प्रेरणा लिएर विश्वमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान अझ मजबुत बनाउन आग्रह गरेका छन् ।

२०- गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको गुजरातले १५.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले सर्बाधिक ४३ रन बनाएका थिए भने जोस बटलरले ३९ र राहुल तेबातियाले अविजित २७ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर भुवनेश्वर कुमारले ३ विकेट लिए भने रोमारियो शेफर्डले २ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको बैंगलुरुले १९.२ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो । बैंगलुरुका लागि देवदत्त पाडिकलले सर्बाधिक ४० रन बनाएकाथिए भने विराट कोहलीले २८ र कप्तान रजत पाटीदारले १९ रन बनाएका थिए । त्यस्तै गुजरातका बलर अर्षद खानले ३ विकेट लिए भने राशिद खान र जासन होल्डरले २-२ विकेट लिए । यो जितपछि गुजरातको ९ खेलमा १० अंक भएको छ र पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै बैंगलुरुको भने ९ खेलमा १२ अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ । आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच खेल हुदैछ ।

Read More

शाही परिवारको पोखरा भ्रमण, चिनियाँ स्वादमा रमाए पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह को परिवार यतिबेला पर्यटकीय शहर पोखरा मा अवस्थित छ। शुक्रबार उनीहरू परिवारसहित पोखराको बाराहीघाट क्षेत्रमा रहेको ३१ पार्क होटल परिसरभित्र सञ्चालित छु मी चाइनीज रेस्टुरेन्ट मा भोजनका लागि पुगेका थिए।

पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह सहितको शाही परिवारको उपस्थितिले उक्त रेस्टुरेन्टमा विशेष माहोल सिर्जना भएको बताइएको छ। होटल व्यवस्थापनका अनुसार उनीहरूको आगमनले शुक्रबार अपराह्नलाई झनै यादगार बनाएको थियो।

होटलले जारी गरेको प्रतिक्रियामा शाही परिवारलाई आत्मीय र गुणस्तरीय सेवा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरिएको छ। “हामीले उहाँहरूलाई उत्कृष्ट भोजन अनुभव दिन सकेकोमा गर्व महसुस गरेका छौँ,” होटल स्रोतले जनाएको छ।

भोजनपछि पूर्वराजा शाहले रेस्टुरेन्टको सेवा, आतिथ्यता र समग्र वातावरणप्रति सन्तुष्टि व्यक्त गरेका थिए। उनले पोखराको आतिथ्य संस्कृतिको प्रशंसा गर्दै यस्ता गुणस्तरीय सेवाले नेपालको पर्यटन क्षेत्रलाई अझ माथि उठाउन योगदान पुर्‍याउने धारणा राखेको होटलका एक कर्मचारीले जानकारी दिए।

अंशुवरा ग्रुपको लगानीमा सञ्चालित उक्त होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’ पोखरामा उत्कृष्ट चिनियाँ परिकारका लागि परिचित मानिन्छ। पछिल्ला वर्षहरूमा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्दो छ।

स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार यस्ता उच्च प्रोफाइल भ्रमणले पोखराको अन्तर्राष्ट्रिय छवि सुदृढ बनाउन मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

Read More

सुकुमबासी बस्तीमा डोजर चलाउँदा कांग्रेस आक्रोशित, निर्मम व्यवहार तुरुन्त रोक्न आङ्देम्बेको माग

काठमाडौं । सुकुमबासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले सरकारको कदमलाई ‘निर्मम र दमनकारी’ भन्दै तत्काल रोक्न माग गरेका हुन्।

उनले सुकुमबासी बस्तीमा डोजर प्रयोग गरेर संरचना भत्काउने कार्य केवल भौतिक क्षति नभई राज्यको चरित्र झल्काउने घटनाका रूपमा टिप्पणी गरे। “के राज्य आफ्नै नागरिकसँग युद्ध लड्दैछ?” भन्दै उनले सरकारको नियतमाथि गम्भीर प्रश्न उठाए।

आङ्देम्बेका अनुसार वास्तविक सुकुमबासी पहिचान नगरी सबैलाई एउटै ढंगले व्यवहार गर्दै उठिबास गराउने कार्य अमानवीय र निन्दनीय हो। उनले सुरक्षा निकाय, विशेषगरी सेनासहितको परिचालनले राज्यलाई संरक्षणकर्ता भन्दा पनि त्रास सिर्जना गर्ने शक्तिका रूपमा प्रस्तुत गर्ने जोखिम बढाएको दाबी गरे।

उनले हालैका दुःखद घटनाहरूलाई पनि उल्लेख गर्दै सरकारको नीति र व्यवहारले मानवीय संकट गहिरिँदै गएको बताए। मनोहरा बस्तीका एक किशोर र बल्खुस्थित बागमती नदी किनारमा बसोबास गर्ने एक वृद्धले आत्महत्या गरेको घटनालाई उदाहरण दिँदै उनले पीडित परिवारलाई राहत र क्षतिपूर्ति दिन माग गरे।

त्यसैगरी, कीर्तिपुर स्थित होल्डिङ सेन्टरमा राखिएका सुत्केरी, ज्येष्ठ नागरिक तथा असहाय व्यक्तिहरूको अवस्था सुधार गर्न उनले सरकारको ध्यानाकर्षण गराए। बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन पनि उनले जोड दिएका छन्।

आङ्देम्बेले जिल्ला प्रशासन कार्यालयमार्फत स्थानीय तहलाई बस्ती हटाउन निर्देशन दिने तथा सेनाबाट सुकुमबासीको लगत सङ्कलन गराउने कार्यलाई ‘गलत अभ्यास’ भन्दै आलोचना गरे। उनका अनुसार यस्तो कदम लोकतान्त्रिक मूल्य र मान्यताविपरीत छ।

“जनताले दिएको जनमतको परिणाम यदि यस्तो क्रूरतापूर्ण उठिबास हो भने हामी गम्भीर छौँ,” उनले चेतावनी दिँदै भने, “यस्ता अमानवीय गतिविधि तत्काल रोकिएन भने यसको परिणाम गम्भीर हुन सक्छ।”

नेपाली कांग्रेस संसदीय दलको तर्फबाट उनले सरकारको उक्त कदमको घोर भर्त्सना गर्दै सुकुमबासी समस्याको मानवीय र दीर्घकालीन समाधान खोज्न आग्रह गरेका छन्।

Read More

रूपन्देहीका सुकुमबासी एकजुट, २३ सदस्यीय सङ्घर्ष समिति गठन / आन्दोलनको घोषणा

काठमाडौं । रूपन्देहीका सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरू सरकारको पछिल्लो निर्णयविरुद्ध संगठित भएका छन्। सार्वजनिक जग्गा संरक्षणका नाममा बस्ती खाली गराउने प्रक्रिया अघि बढेपछि उनीहरूले औपचारिक रूपमा आन्दोलनको घोषणा गरेका हुन्।

सरकारले देशभरका जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा जोगाउन निर्देशन दिँदै बस्ती हटाउने तयारी थालेपछि रूपन्देहीमा यसको प्रत्यक्ष असर देखिएको छ। यही सन्दर्भमा स्थानीय सुकुमबासीहरूले आफ्नो अधिकार सुनिश्चित गर्न सङ्घर्ष समिति गठन गरेका छन्।

बुटवलमा आयोजित पत्रकार सम्मेलनमार्फत खड्क बहादुर पौडेलको अध्यक्षतामा २३ सदस्यीय सङ्घर्ष समिति घोषणा गरिएको हो। समितिले सुकुमबासीहरूको हक–अधिकारको संरक्षणका लागि आवश्यक पहल गर्ने र सरकारसँग चरणबद्ध संवाद अघि बढाउने जनाएको छ। सङ्घर्ष समितिले स्थानीय, प्रदेश तथा संघीय सरकारसमक्ष ज्ञापनपत्र बुझाउने तयारी गरेको छ। उनीहरूले आफ्ना मागहरू सम्बोधन नभए कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिएका छन्।

समितिका अध्यक्ष पौडेलले सुकुमबासीहरूको व्यवस्थापन नगरी बस्ती हटाउने निर्णय अन्यायपूर्ण हुने बताए। “हामीलाई वैकल्पिक बसोबासको सुनिश्चितता बिना हटाइए हामी चुप लागेर बस्दैनौँ,” उनले स्पष्ट पारे।

यस घटनाक्रमले रूपन्देहीमा सुकुमबासी समस्या पुनः सतहमा आएको संकेत दिएको छ। एकातिर सरकार सार्वजनिक सम्पत्ति संरक्षणमा केन्द्रित देखिन्छ भने अर्कोतर्फ दीर्घकालीन बसोबासको समाधान नहुँदा सुकुमबासीहरू आन्दोलित बन्ने अवस्था सिर्जना भएको छ।
अब सरकार र सुकुमबासीबीच हुने संवाद र सम्भावित सहमतिले आगामी परिस्थिति कता मोडिन्छ भन्ने निर्धारण गर्ने देखिन्छ।

Read More

निर्यातमा अलैँचीको दबदबा, ९ महिनामा १० अर्बभन्दा बढी आम्दानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालबाट हुने अलैँची निर्यात उल्लेखनीय रूपमा बढेको छ। मेची भन्सार कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार चैत मसान्तसम्म आइपुग्दा अलैँची निर्यात ४१.५८ प्रतिशतले वृद्धि भई कुल मूल्य रु १० अर्ब ७० करोड ७ लाख १८ हजार पुगेको छ।

सो अवधिमा पाँच हजार २९५.२५० मेट्रिक टन अलैँची विदेश पठाइएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने अलैँची निर्यात रु ६ अर्ब २५ करोड १२ लाख ६१ हजारमा सीमित थियो। यसले चालु वर्षमा अलैँचीले निर्यात व्यापारमा बलियो उपस्थिति जनाएको देखिन्छ।

तर, निर्यातको अर्को प्रमुख वस्तु चियामा भने गिरावट देखिएको छ। चालु आवको नौ महिनामा चियाको निर्यात २६.७३ प्रतिशतले घट्दै रु २ अर्ब ५८ करोड १९ लाख ८५ हजारमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा चियाको निर्यात रु ३ अर्ब २७ करोड २० लाख ७२ हजार पुगेको थियो।

अन्य वस्तुहरूको निर्यातमा भने मिश्रित अवस्था देखिएको छ। तथ्याङ्कअनुसार भेनियर सिटको निर्यात ३०.८८ प्रतिशतले बढेको छ भने छुर्पी ३०.३५ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै प्लाइउड ३७.७३ प्रतिशत, अम्रिसो ३७.३३ प्रतिशतले उकालो लागेको छ।

विशेषगरी फलामे पाताको निर्यातमा अत्यधिक वृद्धि देखिएको छ, जुन १ हजार ७४७.८१ प्रतिशतले बढेको छ। मोलासिसको निर्यात पनि ३६१.३५ प्रतिशतले वृद्धि भएको छ। तर सिमेन्ट क्लिङ्करको निर्यात भने पूर्ण रूपमा घटेर शून्यमा झरेको छ।

समग्रमा हेर्दा, मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्षको चैत मसान्तसम्म रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजार बराबरको मालवस्तु निर्यात भएको छ। यसले नेपालका केही निर्यातमुखी वस्तुहरूले राम्रो प्रदर्शन गरिरहेको भए पनि केही क्षेत्रमा चुनौती अझै कायम रहेको संकेत गर्छ।

अलैँचीको उच्च माग र मूल्य वृद्धिले निर्यातमा सकारात्मक प्रभाव पारेको देखिन्छ भने चियाजस्ता परम्परागत वस्तुमा आएको गिरावटले नीतिगत सुधार र बजार विस्तारको आवश्यकता औंल्याएको छ।

Read More

राष्ट्रपति पौडेलबाट सम्पत्ति शुद्धीकरणसम्बन्धि अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) सम्बन्धि अध्यादेश जारी गरेका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेको राष्ट्रपति कार्यालले जनाएको छ ।

यसअघि राष्ट्रपति पौडेलले आजै सहकारी सम्बन्धी र  सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका थिए । 

सरकारले सिफारिश गरेका अन्य अध्यादेश भने राष्ट्रपतिले अझै जारी गरेका छैनन् । सरकारले सिफारिश गरेका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन, विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन र  केही नेपाल ऐनलाई संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश  राष्ट्रपति पौडेलले होल्ड गरेका छन् । 

Read More

सशस्त्रका महानिरीक्षक राजु अर्यालको बिदाई

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याललाई सेवाबाट अवकाश हुने क्रममा सम्मानसहित बिदाई गरिएको छ ।

हल्चोकस्थित प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनलाई फौजी परम्पराअनुसार बिदाई गरिएको हो । सोही अवसरमा उनले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी तथा सशस्त्र प्रहरीको झण्डा हस्तान्तरण गरेका छन् ।

समारोहमा नवनियुक्त महानिरीक्षक पौडेलले अर्याललाई मायाको चिनो प्रदान गर्दै सम्मानपूर्वक बिदाई गरेका थिए । त्यस्तै सशस्त्र प्रहरी परिवार महिला संघतर्फ अर्यालकी श्रीमती अनिता लामिछानेलाई संघकी उपाध्यक्ष सावित्रा कुमारी पौडेलले फूलमालासहित बिदाई गरेकी थिइन् ।

बिदाई कार्यक्रममा अर्यालले संगठनको नेतृत्व सम्हाल्नु र सफलतापूर्वक अवकाश पाउनु आफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले संगठनलाई परिवारका रूपमा लिँदै अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको महत्व बुझ्ने अवसर पाएको उल्लेख गरे ।

उनले संगठन सुधार निरन्तर चलिरहने प्रक्रिया भएको उल्लेख गर्दै राष्ट्र, संगठन र जनताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताए । साथै सशस्त्र प्रहरीको वर्दीलाई नागरिकका लागि भरोसा र अपराधीका लागि डरको प्रतीक बनाउँदै लैजानुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा नवनियुक्त महानिरीक्षक पौडेलले राष्ट्रको सुरक्षामा समर्पित जीवन कहिल्यै अवकाश नहुने उल्लेख गर्दै अर्यालको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि उपयोगी रहने विश्वास व्यक्त गरे । उनले संगठनलाई आधुनिक, सक्षम र जनउत्तरदायी बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

समारोहमा पूर्व महानिरीक्षकहरू, उच्च पदाधिकारीहरू तथा सशस्त्र प्रहरीका विभिन्न तहका अधिकारी र जवानहरूको उपस्थिति रहेको थियो ।

Read More

चलचित्र ‘महाराजधिराज’ मा सुशील सिटौला अनुबन्ध

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा सुशील सिटौला अनुबन्ध भएका छन् । केही दिनअगाडि पूजा शर्मालाई इन्ट्री गराएको निर्माण टिमले आज अर्का कुशल अभिनेता सुशील सिटौलालाई अनुबन्ध गराएको हो ।

सुशीललाई मुख्यमध्ये एक भूमिकामा ‘महाराजधिराज’मा देख्न सकिने निर्माण टिमले जानकारी दिएको छ । सुशील नेपाली सिनेमा उद्योमा अन्डररेटेड अभिनेता हुन् । कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुग्दा सिनेमाको लाइनअप थप बलियो बन्दै गएको छ । यो चलचित्रको मुख्य भूमिकामा पुष्प खड्का अनुबन्धित भइसकेका छन् । ‘पिरियड ड्रामाको झल्को दिने यो सिनेमा यही वैशाखको दोस्रो सातापछि छायांकनमा जाने तयारीमा छ ।

परिच्छेद सेनको निर्देशनमा निर्माण हुन लागेको चलचित्रमा सुशील, पुष्प र पूजासँगै केकी अधिकारी, हेमन्त बुढाथोकी, नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट, आशा पौडेललगायत कालाकार छन् ।

निर्देशक सेनको ड्रिम प्रोजेक्ट रहेको ‘महाराजधिराज’मा अन्य ८० जना कलाकार रहनेछन् । पुराना र नयाँ पुस्ताका कलाकारहरूको मिश्रण देखाउन ‘महाराजधिराज’ टिमले स्टारकास्टलाई अनुबन्ध गरेको छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले कलाकारको बलियो लाइनअप अनुसार नै सिनेमा पनि बलियो बजाउने बताएका छन् ।

चलचित्रको छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु हुनेछ । त्यसपछि काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा सुन्दर स्थानहरूमा चलचित्र खिचिनेछ । यो सिनेमा नबराज थापाले खिच्नेछन् । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ ।

‘महाराजधिराज’का निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट हुन् । ‘महाराजधिराज’ आगामी फूलपातीमा प्रदर्शनको तयारी रहेको निर्माण टिमले जनाएको छ ।

Read More

युएईविरुद्ध नेपालको ६ रनको रोमाञ्चक जित

काठमाडौँ । नेपालले युएईलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले युएईलाई ६ रनले पराजित गरेको हो ।

बर्षाले प्रभावित खेलमा नेपालले युएईलाई दिएको २५५ रनको लक्ष्य पछाएको युएईले ३८ ओभरमा ८ विकेट गुमाएर २४८ रन बनाएको थियो ।

बर्षाले प्रभावित बनेको यो खेलमा युएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिइएको थियो ।

युएईका लागि मुहमद शहदादले सर्बाधिक ६५ रन बनाएका थिए भने खुजैमा तनवीरले ४९ रन, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रन बनाएका थिए ।  

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३, सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिएका थिए । 

यसआघि टस जितेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा ७ विकेट गुमाएर २८९ रन बनाएको थियो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट ब्याटिंग गर्दै शतक बनाएका थिए । त्यस्तै विनोद भण्डारीले ५६ रन बनाए भने गुलशन झाले ४४ रन बनाएका थिए ।  त्यस्तै कप्तान रोहित पौडेलले ३९ रन बनाए भने अर्जुन कुमाल र आरिफ सेखले ११-११ रन बनाएका थिए । त्यस्तै युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २-२ विकेट लिएका थिए ।

यो जितपछि नेपालको लिग-२ मा २३ खेलमा १६ अंक भएको छ भने युएईको २३ खेलमा १२ अंक रहेको छ । अब सिरिजको अर्को खेल आइतबार ओमान र युएईबीच हुने तालिका रहेको छ ।

Read More

अर्थमन्त्री डा. वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् ।

शुक्रबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक साझेदारी तथा विकास सहायतासम्बन्धी विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । सो भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत कुराकानी भएको बताइएको छ । गोरले यसअघि आजै परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए ।

विहिबार साँझ काठमाडौँ आएका गोर यसअघि आजै सगरमाथा बेसक्याम्प पुगेका थिए । भारतका राजदुत समेत रहेका गोर दक्षिण र मध्य एसियाका लागि सहायक विदेशमन्त्री समिर पल कपूर नेपाल भ्रमण गरेर फर्किएको केहि दिनमै नेपाल आउने उनी दोस्रो उच्च अमेरिकी अधिकारी हुन् । 

Read More