२०८३ श्रावण ४

मानवअधिकार र कार्की आयोगको प्रतिवेदन आमनेसामने: एउटै घटनामा फरक निष्कर्ष

काठमाडौँ । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ र त्यसपछि उत्पन्न परिस्थितिबारे राष्ट्रिय मानव अधिकार आयोग र गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले छुट्टाछुट्टै प्रतिवेदन सार्वजनिक गरेका छन्। दुवै प्रतिवेदनले घटनालाई फरक कोणबाट विश्लेषण गरे पनि निष्कर्ष र सिफारिसहरूमा देखिएको भिन्नताले राजनीतिक तथा कानुनी वृत्तमा गम्भीर बहस सुरु भएको छ।

एउटै घटनामा दुई फरक दृष्टिकोण
मानव अधिकार आयोगले भदौ २३ र २४ दुवै दिनका घटनालाई एउटै श्रृंखलाको रूपमा हेर्दै व्यापक मानवअधिकार उल्लङ्घन भएको निष्कर्ष निकालेको छ। यसले राज्य संयन्त्रदेखि आन्दोलनमा सहभागी समूहसम्म सबै पक्षलाई जिम्मेवार ठहर गर्दै अनुसन्धान र कारबाहीको दायरामा ल्याउनुपर्ने सिफारिस गरेको छ।

तर गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले भने मुख्य रूपमा भदौ २३ को घटनालाई केन्द्रमा राखेर विश्लेषण गरेको देखिन्छ। २४ गतेको घटनाबारे भने छुट्टै विस्तृत अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालिएको छ। यसै कारण दुवै आयोगबीच दृष्टिकोणमै आधारभूत भिन्नता देखिएको हो।

आयोगकै नाममा उठेका प्रश्न
मानव अधिकार आयोगको प्रतिवेदनको सबैभन्दा चर्चित पक्षमध्ये एक, कार्की आयोगकै नेतृत्वकर्ता गौरीबहादुर कार्कीमाथि नै उठाइएको प्रश्न हो। आयोगले उनलाई आन्दोलन उक्साउने भूमिकामा देखिएको भन्दै सूचीमा समेटेर अनुसन्धान सिफारिस गरेको छ। यही विषयले कार्की आयोगको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठाएको विश्लेषण भइरहेको छ।

राजनीतिक नेतृत्वदेखि आन्दोलनसम्मको जिम्मेवारी
कार्की आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई मुख्य रूपमा जिम्मेवार देखाउँदै कारबाही सिफारिस गरेको थियो। मानव अधिकार आयोगले पनि राज्यस्तरको निर्णय, विशेषगरी सामाजिक सञ्जाल प्रतिबन्धलाई हिंसाको मुख्य कारणमध्ये एक मान्दै उच्च तहसम्म अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेको छ।

मानव अधिकार आयोगले आन्दोलनको क्रममा आगजनी, हिंसा र तोडफोडमा संलग्न विभिन्न पक्षलाई समेत जिम्मेवार ठहर गर्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सिफारिस गरेको छ।

रवि लामिछाने प्रकरणमा फरक व्याख्या
नक्खु कारागारबाट रवि लामिछानेको रिहाइलाई लिएर पनि दुई आयोगबीच फरक दृष्टिकोण देखिएको छ। कार्की आयोगले यसलाई ‘परिस्थितिजन्य बाध्यता’ भनेको छ भने मानव अधिकार आयोगले सुरक्षा प्रणाली कमजोर भएको कारण ठूलो सुरक्षा संकट उत्पन्न भएको निष्कर्ष निकालेको छ।

मानव अधिकार आयोगले यस घटनालाई कारागार ऐनको उल्लङ्घन र गम्भीर फौजदारी प्रकृतिको रूपमा व्याख्या गर्दै रवि लामिछानेसहित अन्य व्यक्तिमाथि समेत अनुसन्धान र कारबाहीको सिफारिस गरेको छ।

सुरक्षा निकायमाथि साझा आलोचना
दुवै आयोगले आन्दोलन नियन्त्रणमा सुरक्षा निकायको कमजोरीलाई स्वीकार गरेका छन्। प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखदेखि फिल्ड कमाण्डरसम्मको भूमिकामाथि प्रश्न उठाइएको छ।

तर मानव अधिकार आयोगले अझ अगाडि बढेर घातक हतियारको प्रयोग, समन्वयको अभाव र राज्य संरचना जोगाउन नसकिएको विषयलाई गम्भीर त्रुटि भनेको छ। सेनाको भूमिकामाथि पनि टिप्पणी गर्दै अपेक्षित सक्रियता नदेखिएको निष्कर्ष निकालिएको छ।

बालेन शाह र अन्य भूमिकामा मौनता
दुवै प्रतिवेदनमा काठमाडौँ महानगर प्रमुख बालेन शाहको भूमिकाबारे स्पष्ट निष्कर्ष नआएको देखिन्छ। सामाजिक सञ्जालबाट आन्दोलन प्रभावित भएको चर्चा भए पनि औपचारिक सिफारिसमा उनको नामबारे ठोस टिप्पणी नदेखिएको उल्लेख गरिएको छ।

२४ भदौको घटनाबारे फरक निष्कर्ष
मानव अधिकार आयोगले भदौ २४ गतेको घटनालाई ‘आपराधिक प्रकृतिको’ भन्दै नागरिक अधिकार र सुरक्षा प्रणालीमा गम्भीर क्षति पुगेको निष्कर्ष निकालेको छ। सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति निवासजस्ता संरचनामा भएको आगजनीलाई राज्य संयन्त्रको पूर्ण विफलता रूपमा व्याख्या गरिएको छ।

तर कार्की आयोगले भने यही दिनको घटनालाई थप छुट्टै अनुसन्धानको विषय मान्दै अन्तिम निष्कर्ष ननिकालेको थियो।

नयाँ कानुनी संरचनाको प्रस्ताव
मानव अधिकार आयोगले भविष्यमा मानव अधिकार उल्लङ्घन रोक्न कडा कानुनी संरचना आवश्यक हुने सुझाव पनि दिएको छ। दोषीलाई कैद, जरिवाना, सार्वजनिक पदमा प्रतिबन्ध, प्रशासनिक जिम्मेवारीमा रोक, र अस्थायी विशेष अदालतजस्ता व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ।

निष्कर्ष
एकै घटनालाई दुई संवैधानिक तथा सरकारी निकायले फरक–फरक ढङ्गले विश्लेषण गर्दा राज्य संयन्त्रको भूमिका, राजनीतिक जिम्मेवारी र न्यायिक प्रक्रियाबारे गम्भीर प्रश्न उठेका छन्। दुवै प्रतिवेदनले केही साझा निष्कर्ष दिए पनि दृष्टिकोणको अन्तरले आगामी कानुनी र राजनीतिक बहस अझ चर्किने संकेत देखिएको छ।

Read More

सरकारले गर्‍यो १९ कर्मचारीको सरुवा, उपसचिवदेखि शाखा अधिकृतसम्मको जिम्मेवारी हेरफेर (सूचीसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका १९ जना कर्मचारीको सरुवा गरेको छ। सरुवामा उपसचिवदेखि शाखा अधिकृत तहसम्मका कर्मचारीहरू परेका छन्।

मन्त्रालयले विभिन्न मन्त्रालय, निकाय तथा स्थानीय तहमा कार्यरत ती कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो।

मन्त्रालयका अनुसार गत वैशाख ३० देखि जेठ ११ गतेसम्मका विभिन्न मितिहरूमा सरुवा सम्बन्धी निर्णय गरिएको थियो।

सरुवा भएका कर्मचारीहरूको विस्तृत विवरण मन्त्रालयले बुधबार आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ।

Read More

रास्वपा सांसद हरि ढकालको संकेतपूर्ण स्टाटस: युद्ध जारी छ, कथा लेख्न हतार नगर्नुहोस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले राष्ट्रिय मानवअधिकार आयोगको पछिल्लो प्रतिवेदनप्रति संकेतपूर्ण असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले प्रतिवेदनको विषयलाई प्रत्यक्ष उल्लेख नगरे पनि आफ्नो अभिव्यक्तिमा गहिरो राजनीतिक सन्देश दिएका छन्।

बुधबार साँझ फेसबुकमा लेख्दै ढकालले महाभारतको प्रसंग जोडेर ‘युद्ध सकिनुअघि कथा लेख्न नहुने’ तर्क अघि सारेका छन्। उनले लेखेका छन्, “महाभारत युद्ध भइरहँदा लेखिएको होइन, युद्ध सकिएको धेरैपछि लेखिएको हो। युद्ध चलिरहेको छ भने कथा लेख्ने हतार नगर्नुहोस्, युद्ध सकिएपछि ढुक्कसँग लेखौँला।”

मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा रास्वपा सभापति रवि लामिछाने, सांसद हरि ढकालसहित केही व्यक्तिमाथि जेनजी आन्दोलनका घटनाबारे थप अनुसन्धान गर्न सिफारिस गरेपछि ढकालको यस्तो प्रतिक्रिया आएको हो। आयोगले आन्दोलनका क्रममा नख्खु कारागारसँग जोडिएका घटनामा उनीहरूको भूमिकामाथि अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको छ।

ढकालले युद्धकै बीचमा लेखिने कथाहरू स्थायी नहुने दाबी पनि गरेका छन्। “युद्ध नसकिँदै कथा लेख्न खोज्नेहरूको कथा पानीको फोकाजस्तै अस्थायी हुन्छ,” भन्दै उनले अहिलेको अवस्था अझै समाप्त नभएको संकेत गरेका छन्।

महाभारतको अभिमन्यु प्रसंग स्मरण गर्दै उनले टिप्पणी गर्ने र घटनालाई हेर्ने सबै पक्षलाई तटस्थ दृष्टिकोण अपनाउन आग्रह गरेका छन्। “बर्बरिकले देखेझैँ वा सञ्जयले देखेझैँ तटस्थ भावले युद्ध हेर्नुहोला,” भन्ने उनको भनाइ छ।

ढकालको अभिव्यक्तिलाई धेरैले मानवअधिकार आयोगको प्रतिवेदनप्रतिको अप्रत्यक्ष प्रतिक्रिया रूपमा हेरेका छन्। यता आयोगले भने आफ्नो प्रतिवेदन कानुनी प्रक्रिया, अनुसन्धान र प्राप्त तथ्यका आधारमा तयार गरिएको बताउँदै आएको छ।

Read More

उत्तरी गोरखाबाट गम्भीर सुत्केरीको हवाई उद्धार, काठमाडौंमा उपचार जारी

गोरखा । उत्तरी गोरखाको दुर्गम धार्चे गाउँपालिकामा एक सुत्केरी महिलाको स्वास्थ्य अवस्था अचानक बिग्रिएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। धार्चे–२ केरौँजाकी २४ वर्षीया विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी थापाथलीस्थित परोपकार प्रसूतिगृहमा भर्ना गरिएको हो।

स्थानीय प्रशासनका अनुसार विकलाई सुत्केरीपछिको जटिल स्वास्थ्य समस्या ‘इक्लामसिया’ देखिएको छ। उनी १३ दिनअघि सुत्केरी भएकी थिइन्, तर बुधबार बिहान एक्कासि बेहोस भएर ढलेपछि तत्काल उपचारको आवश्यकता परेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

धार्चे गाउँपालिका स्वास्थ्य शाखाका अमृत घलेका अनुसार उनको अवस्था निकै संवेदनशील रहेकाले ढिला नगरी सघन उपचारका लागि काठमाडौं पठाउनुपरेको हो। “समयमै आइसियुमा राखेर उपचार नगरे ज्यानै जोखिममा पर्ने अवस्था थियो,” उनले भने।

दिउँसो करिब २ बजे गरिएको उद्धारसँगै केरौँजा स्वास्थ्यचौकीबाट एक स्वास्थ्यकर्मी र बिरामीका कुरुवा पनि हेलिकोप्टरमै काठमाडौं पठाइएको छ। हाल प्रसूतिगृहमा उनको उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था अझै गम्भीर रहेको जनाइएको छ।

Read More

सरकार प्रति रक्षा बमको आक्रोशः न्याय खोज्ने हो भने अनुसन्धान गर, आन्दोलनलाई अपराधीकरण नगर

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदनप्रति अभियन्ता रक्षा बमले तीव्र असन्तुष्टि व्यक्त गरेकी छन् । प्रतिवेदनलाई आधार बनाएर लोकतान्त्रिक आवाज उठाउने व्यक्तिहरूमाथि राजनीतिक निशाना साध्ने प्रयास भइरहेको आरोप उनले लगाएकी हुन्।

बुधबार साँझ सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै बमले सरकारलाई अनुसन्धान प्रक्रियामा निष्पक्ष र जिम्मेवार बन्न आग्रह गरिन्। सरकारको नियतमाथि सीधा प्रश्न उठाउँदै उनले न्याय र अन्याय छुट्याउने वास्तविक उद्देश्य भए निष्पक्ष अनुसन्धान अघि बढाउन चुनौती दिएकी छन्।

उनले लेखेकी छन्, “यदि सरकारको उद्देश्य सत्य खोज्नु हो भने अनुसन्धान गर। होइन भने आयोगको प्रतिवेदनलाई आधार बनाएर प्रारम्भिक बयान वा सोधपुछबिनै नाम जोड्दै आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गर।”

रक्षा बमले राज्यका बेथिति र असन्तुष्टिविरुद्ध स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएका युवाहरूलाई हिंसात्मक गतिविधिमा संलग्न समूहसँग एउटै तराजुमा राख्नु अन्यायपूर्ण हुने बताएकी छन्।

पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालजस्ता व्यक्तित्वहरूको नाम प्रतिवेदनमा समावेश गरिएको विषयप्रति पनि उनले आपत्ति जनाएकी छन्। संकटको घडीमा लोकतन्त्र, संविधान र राष्ट्रका पक्षमा योगदान दिएका व्यक्तिहरूलाई राजनीतिक स्वार्थको खेलमा तान्न नहुने उनको भनाइ छ।

मानव अधिकार आयोगले बुधबार जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेपछि त्यसमा नाम समेटिएका केही व्यक्तिहरूले प्रतिवेदनलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको दृष्टिले हेर्न थालेका छन्।

Read More

पोखराको फिर्केखोला आसपासमा साना ठुला गरी २३ वटा संरचना हटाइयो

पोखरा । पोखराको फिर्केखोलाको खोला घर खाली गर्ने अभियान अन्तर्गत अहिलेसम्म चार दिनमा साना ठुला गरी २३ वटा संरचनाहरू हटाइएको छ । 

पोखरा महानगरपालिका वडा नम्बर १८ र २ को सिमाना क्षेत्रमा ८ वटा संरचनाहरू हटाइएको छ भने, वडा नम्बर ४ र ५ को क्षेत्रमा १ वटा पक्की र ३ वटा कच्ची संरचनाहरू भत्काइएको छ । 

त्यस्तै वडा नम्बर ७ र ८ मा ५ वटा कम्पाउन्ड वाल र ६ वटा स्थायी संरचना हटाइएको छ । यसरी चौँथो दिनसम्म आइपुग्दा १०५ वटा संरचनाहरू खोला घरबाट हटाइएको महानगरले जनाएको छ । 

खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेको र नेपाल पहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारीहरू समेत खटिएको महानगरले जानकारी दिएको छ ।  

फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिने जानकारी दिदै महानगरले साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रवर्द्धन र लाईटिङ् सहितको सुरक्षित पर्यटनका रूपमा फिर्केको विकास गरिने बताएको छ ।

Read More

मानव अधिकार आयोगको प्रतिवेदनप्रति आशिका तामाङको आपत्ति

काठमाडौं । सांसद आशिका तामाङले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा आफ्नो नाम उल्लेख गरिएको विषयप्रति गम्भीर आपत्ति जनाएकी छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै तामाङले आयोगले आफ्नो अभिव्यक्तिलाई मात्र देखेको तर अन्यायविरुद्ध गरेको संघर्ष, घाइते र पीडित परिवारप्रतिको मानवीय सहयोगलाई बेवास्ता गरेको आरोप लगाएकी छन् ।

तामाङले आफू २०१८ सालदेखि भ्रष्टाचार, कुशासन, अन्याय र राज्यका गलत प्रवृत्तिविरुद्ध खुलेर बोल्दै आएको बताउदै जर्मनीबाट नेपाल फर्किएपछि एक्लै भए पनि सडकदेखि सामाजिक सञ्जालसम्म अन्यायविरुद्ध आवाज उठाउँदै आएको उनको भनाइ छ ।

उनले आफूले अस्पताल–अस्पताल पुगेर गोली लागेका घाइतेहरूको अवस्था बुझेको, पीडित परिवारको आँसु पुछ्ने प्रयास गरेको उल्लेख गर्दै आयोगले ती पक्ष नदेखेको गुनासो गरेकी छन् । उनले भनेकी छन्- ‘मैले कसैलाई हिंसामा उक्साएको छैन, आगजनी गरेको छैन, तोडफोड गरेको छैन र निर्दोषमाथि गोली चलाएको छैन, मैले केवल अन्यायविरुद्ध बोलेको हुँ ।’

तामाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूलाई १८ दिन हिरासतमा राखेको प्रसंग पनि उल्लेख गरेकी छन् । त्यतिबेला आफ्नी तीन वर्षीया छोरी दुधे बालिका रहेको भन्दै उनले त्यसबेला आफ्नो परिवारले भोगेको पीडा र राज्यबाट भएको अन्यायप्रति मानव अधिकार आयोग मौन बसेको आरोप लगाएकी छन् । उनले आयोगमाथि प्रश्न उठाउँदै ‘त्यो बेला आयोग कहाँ थियो ? आज अचानक मेरो अभिव्यक्तिमाथि प्रश्न उठाउन किन आएको हो ?’ भन्दै आक्रोश व्यक्त गरेकी छन्।

तामाङले आफ्नो कुन अभिव्यक्ति, गतिविधि वा भूमिकाले हिंसा भड्काएको हो भन्ने तथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेकी छन् । साथै निष्पक्ष अनुसन्धान गर्नुपर्ने र आफूले भोगेका अन्यायसमेत छानबिनको दायरामा ल्याउनुपर्ने उनको माग छ ।

उनले सत्यलाई दबाएर समाप्त गर्न नसकिने उल्लेख गर्दै जनताको पक्षमा उठेको आवाजलाई रोक्न नसकिने बताएकी छन् ।

Read More

नेदरल्याण्ड्सको विश्वकप फुटबल खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । नेदरल्याण्ड्सले विश्वकप फुटबलका लागि २६ सदस्यीय टोली घोषणा गरेको छ । टोलीको कप्तानी अनुभवी रक्षक भर्जिल भान डाइकले गर्ने भएका छन् ।

मुख्य प्रशिक्षक रोनाल्ड कोम्यानले पछिल्लो समय चोटको समस्यामा रहेका केही महत्वपूर्ण खेलाडीलाई पनि टोलीमा समावेश गरेका छन् । ह्यामस्ट्रिङ समस्याबाट पुनरागमन गरेका मेम्फिस डिपे टोलीमा अटाएका छन् भने फिटनेसबारे आशंका रहे पनि जुरियन टिम्बरले पनि स्थान बनाएका छन् ।

यद्यपि अप्रिलमा घुँडाको गम्भीर चोट बोकेका जाभी सिमोन्स टोलीमा परेनन् । त्यस्तै लिभरपुलका डिफेन्डर जेरेमी फ्रिम्पोङलाई टोलीबाहिर राखिएको निर्णयलाई आश्चर्यका रूपमा हेरिएको छ । नेदरल्याण्ड्सको टोलीमा फ्रेन्की डे योङ, कोडी गाक्पो, रायन ग्राभेनबेर्ख र टिजानी राइन्डर्सजस्ता स्टार खेलाडी समावेश छन् ।

नेदरल्याण्ड्सले समूह ‘एफ’ अन्तर्गत जुन १४ मा जापानविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि टोलीले स्विडेन र ट्युनिसियासँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

नेदरल्याण्ड्सको टोली :

गोलकिपर: मार्क फ्लेकेन, रोबिन रोफ्स र बार्ट भेर्ब्रुगेन ।

डिफेन्डर: नाथन आके, डेन्जेल डुम्फ्रिस, जोरेल हातो, जुरियन टिम्बर, मिकी भान डे भेन, भर्जिल भान डाइक, जान पाउल भान हेके र माट्स विफर ।

मिडफिल्डर: फ्रेन्की डे योङ, मार्टेन डे रुन, रायन ग्राभेनबेर्ख, जस्टिन क्लुइभर्ट, ट्युन कुपमाइनर्स, टिजानी राइन्डर्स, गुस टिल र क्विन्टेन टिम्बर ।

फरवार्ड: ब्रायन ब्रोबे, मेम्फिस डिपे, कोडी गाक्पो, नोआ ल्याङ, डोनियल मालेन, क्राइसेन्सियो समरभिल र  वाउट वेघोर्स्ट ।

Read More

मानव अधिकार आयोगले के के देखायो ओलीको गल्ति ?

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ को घटनामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको दोष बारे स्पष्ट विश्लेषण गरेको छ । 

आयोगले घटनाको विश्लेषण गरेको आधारमा गोली हान्न आदेश दिएको छैन भन्ने जिकिरका आधारमा मात्रै राज्य सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका ओली जिम्मेवार छैनन् भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको छ । 

आयोगले यसमा नागरिकहरुलाई संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता माथि नै आघात पुग्ने गरी विभिन्न सामाजिक सञ्जालहरु माथि गरिएको प्रतिबन्धको विषयलाई लिएर शुरु भएको आन्दोलन हिंसात्मक भएको ठहर गरेको छ ।

आयोगले भनेको छ- ‘आन्दोलन हिंसात्मक भई सुरक्षाकर्मीको गोली लागि भाद्र २३ गते १९ जनाको मृत्यु भएको अवस्था छ । तत्पश्चात सुरक्षाकर्मीको गोली लागि घाइते भएकाहरुको उपचारको क्रममा थप २३ जनाको मृत्यु समेत भएको अवस्थामा तत्कालीन प्रधानमन्त्रीले गोली हान्न आदेश दिएको छैन भनी लिएको जिकिरका आधारमा मात्रै राज्य सञ्चालनको प्रमुख जिम्मेवारीमा रहेका तत्कालीन प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली (के पी ओली) जिम्मेवार छैनन् भन्न सकिने अवस्था देखिएन ।’ 

आयोगले पूर्वप्रधानमन्त्री ओलीले अनुसन्धान समिति समक्ष बयान दिंदा सामाजिक सञ्चालमा आफूले प्रतिवन्ध नलगाएको, नियम कानून बमोजिम भएको भनी जिकिर गरेको उल्लेख गर्दै तत्कालीन सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरुले बयानका क्रममा सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्नुपर्छ अन्यथा स्थिति भयाभह हुन सक्छ भनी दिएको सुझाव प्रधानमन्त्रीले नमानेको उल्लेख गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । 

त्यस्तै सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धका कारण भाद्र २३ गतेको प्रदर्शन शुरु भएको र त्यसपछि देशैभरी ‘जुन परिस्थितिको सृजना भयो त्यसको मुख्य कारकको रुपमा तात्कालीन प्रधानमन्त्री ओली रहेको देखिन्छ भन्दै भाद्र २३ गते बेलुका र २४ गते दिउँसोसम्मको सुरक्षा अवस्था विश्लेषण गर्दा नेपाली सेना बाहेक सबै सुरक्षा संयन्त्र असफल भएको देखिएको अवस्थामा पनि मन्त्रिपरिषद्‌ले सेनाको सहयोग लिने बारे कुनै निर्णय गरेको नपाइएको उल्लेख गरेको छ ।

यस कारणले तत्कालीन प्रधानमन्त्री ओली समेतले कानून बमोजिम पूरा गर्नु पर्ने दायित्व पूरा नगरी उदासीन बसेको कारण मानव अधिकारको उल्लंघन भएको देखिन आउएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले ओली, तत्कालिन गृहमन्त्री रमेश लेखक र तत्कालिन सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई नयाँ कानुन बनाएर कारवाहीको दायरामा ल्याउन सिफारिस गरेको छ ।

Read More

इजरायली आक्रमणमा हमासको सैन्य शाखाका नयाँ कमाण्डरको मृत्यु

काठमाडौँ । गाजा क्षेत्रमा इजरायलले गरेको पछिल्लो हवाई आक्रमणमा हमासको सैन्य शाखाका नयाँ कमाण्डर मोहम्मद ओदेह मारिएका छन् । यसअघि हमासको सैन्य शाखाका पूर्व कमाण्डर पनि यस्तै इजरायली आक्रमणमा मारिएका थिए ।

स्थानीय स्वास्थ्यकर्मी र प्रत्यक्षदर्शीका अनुसार गाजा सहरको अत्यधिक भीडभाड हुने आवासीय क्षेत्रमा रहेको एक भवनमा आक्रमण हुँदा कम्तीमा तीन जना प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।

इजरायली सेना र सुरक्षा निकायले ओदेह लुकेर बसेको आश्रयस्थलका रूपमा प्रयोग भइरहेको भवनलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ । उनको गतिविधिमाथि धेरै महिनादेखि निगरानी गरेपछि उक्त कारबाही गरिएको हो । हमासले घटनाबारे हालसम्म औपचारिक प्रतिक्रिया दिएको छैन । तर हमास निकट एक स्थानीय र परिवारका सदस्यले ओदेह, उनकी पत्नी र उनका वयस्क छोरा आक्रमणमा मारिएको बताएका छन् । आक्रमण भएको समयमा ईद–उल–अजहाको तयारीका लागि बजार क्षेत्रमा किनमेल गर्नेको भीड रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार भवनमाथि फरक–फरक दिशाबाट एकैपटकजस्तै कम्तीमा पाँच वटा क्षेप्यास्त्र प्रहार गरिएको थियो ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको इजरायली जवाफी कारबाहीमा हालसम्म ७२ हजार ८ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। संयुक्त राष्ट्रसंघले गाजा स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकलाई विश्वसनीय मानेको छ ।

Read More