काठमाडौँ । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’मा ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)’ सेवा थप्दै लगानीलाई मोबाइलमै सीमित बनाउने रणनीति अघि बढाएको छ।
बैंकले ग्राहकलाई एउटै प्लेटफर्मबाट बैंकिङ र लगानी सेवा उपलब्ध गराउने उद्देश्यसहित ‘इन्भेस्टमेन्ट, एसआईपी, टीएमएस’ सेवा सुरु गरेको जनाएको छ। अब ग्राहकहरूले एनबैंक एपमार्फत सीधै एसआईपीमा दर्ता हुन र किस्ता रकम भुक्तानी गर्न सक्नेछन्।
बैंकका अनुसार यो सेवा प्रयोग गर्न कुनै अतिरिक्त शुल्क लाग्ने छैन। प्रयोगकर्ताले एनबैंकको होमपेजमा रहेको ‘इन्भेस्टमेन्ट, एसआईपी, टीएमएस’ आइकनमार्फत सहजै सेवा लिन सक्नेछन्।
नबिल बैंकले विदेशमा रहेका नेपालीलाई पनि लक्षित गर्दै यो सुविधा विस्तार गरिएको दाबी गरेको छ। बैंकका अधिकारीहरूका अनुसार अब विदेशबाटै नेपाली वित्तीय बजारमा जोडिन र नियमित लगानी गर्न सहज हुने अपेक्षा गरिएको छ।
डिजिटल बैंकिङ सेवामा प्रतिस्पर्धा तीव्र भइरहेका बेला नबिलले मोबाइल बैंकिङलाई लगानी प्लेटफर्मका रूपमा विस्तार गर्न थालेको यो कदमलाई बैंकको नयाँ डिजिटल रणनीतिका रूपमा हेरिएको छ।




