काठमाडौँ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई लगानीकर्ताको हित र लगानी सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । शपथ ग्रहणपछि आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारका लोभ, प्रभाव वा दबाबबाट टाढा रहेर निष्पक्ष रूपमा काम गर्न आग्रह गरे ।
उनले पुँजी बजारप्रति लगानीकर्ताको विश्वास कायम राख्नु सरकारको प्रमुख उद्देश्य भएको उल्लेख गर्दै नियमनलाई प्रभावकारी बनाउँदै पुँजी परिचालनमार्फत आर्थिक वृद्धिमा योगदान पुर्याउने वातावरण बनाउनुपर्ने बताए ।
अर्थमन्त्री वाग्लेले बजार सुधारका कामलाई योजनाबद्ध रूपमा अघि बढाउन निर्देशन दिँदै दैनिक, साप्ताहिक, मासिक, छ महिनादेखि वार्षिक लक्ष्यसहित स्पष्ट कार्ययोजना पेस गर्न पनि अध्यक्ष भट्टलाई आग्रह गरे । बजारमा फैलिने अनावश्यक हल्लाले साना लगानीकर्तामा त्रास सिर्जना गर्ने भएकाले त्यसलाई रोक्नुपर्नेमा उनले जोड दिए ।
‘पुँजी बजार सुधारका काम समयसीमासहित कार्यान्वयन हुनुपर्छ, नियमन प्रभावकारी हुनुपर्छ र लगानीकर्ताको विश्वास मजबुत बनाउनुपर्छ,’ अर्थमन्त्रीले भने, ‘मन्त्रालयबाट अनावश्यक हस्तक्षेप हुँदैन, तर नतिजामुखी काम अपेक्षित छ ।’ उनले बजारबारे नियमित प्रगति विवरण उपलब्ध गराउन पनि निर्देशन दिए ।
कार्यक्रममा नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीतिअनुसार पुँजी बजार विकास र सुधारमा इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए । उनले विगतका अध्ययन र सिफारिसहरूलाई कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित र सुदृढ बनाउने बताए ।
मन्त्रिपरिषद्को असार ५ गतेको निर्णयअनुसार भट्टलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो ।




