२०८३ श्रावण १

विदेशमा बसोबास गरिरहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार निजामती कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

मन्त्रालयका अनुसार ती कर्मचारीले अस्थायी वा स्थायी आवासीय अनुमति तथा डाइभर्सिटी (डीभी) भिसा लिएर स्वीकृत बिदा सकिएपछि पनि कार्यालयमा हाजिर नभई विदेशमै बसोबास गरिरहेका छन्। निजामती सेवा ऐनअनुसार बहालवाला कर्मचारीले विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन पाउँदैनन्।

उनीहरूलाई १५ दिनभित्र प्रमाणसहित सफाइ पेस गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। चित्तबुझ्दो जवाफ नआए निजामती सेवा ऐन, २०४९ बमोजिम भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कारबाही हुन सक्ने उल्लेख गरिएको छ।

मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाफदेहिता कायम गर्न मन्त्रालयले निगरानी कडा बनाएको बताउँदै विदेशमा बसोबास गरिरहेका तथा लामो समयदेखि सम्पर्कविहीन अन्य कर्मचारीबारे पनि अध्ययन र छानबिन तीव्र पारिएको जानकारी दिइन्।