२०८३ श्रावण १

भेनेजुएलामा चमत्कारिक उद्धारः ९ तले भवनको भग्नावशेषबाट ८ दिनपछि एक व्यक्ति जीवित फेला

काठमाडौं । विनाशकारी भूकम्प गएको आठ दिनपछि भेनेजुएलामा नौतले भवनको भग्नावशेषबाट एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ। उद्धार टोलीले यस घटनालाई ‘चमत्कारिक उद्धार’ भनेर वर्णन गरेको छ।

उद्धार गरिएका व्यक्ति हेर्नान अल्बेर्तो गिल फ्लोरेस हुन्, जो ला ग्वाइरास्थित एक सपिङ मलको पार्किङ भवन भत्किँदा करिब २९ फिट गहिरो भग्नावशेषमुनि पुरिएका थिए। करिब ४० वर्षका उनी सोही मलमा सुरक्षागार्डका रूपमा कार्यरत थिए।

स्थानीय र अन्तर्राष्ट्रिय उद्धार टोलीको लगातारको प्रयासपछि बिहीबार उनलाई सुरक्षित रूपमा बाहिर निकालिएको हो। उद्धारमा ७० घण्टाभन्दा बढी समय लागेको जनाइएको छ। चिकित्सकका अनुसार उनी उद्धारपछि स्थिर अवस्थामा रहेका छन् र अस्पतालमा उपचार भइरहेको छ।

उद्धार टोलीले बुधबार भग्नावशेषभित्र पठाएको खोजी क्यामेराले पहिलो पटक उनलाई देखाएको थियो। त्यस क्रममा उनले सानो प्वालबाट औंला हल्लाएर आफू जीवित रहेको संकेत दिएका थिए। पछि पाइपमार्फत पानी, खाना र औषधि उपलब्ध गराउँदै उनलाई जिउँदो राखिएको थियो।

चिलीको अग्निनियन्त्रण विभागका अनुसार भवन अझै अस्थिर रहेकाले उद्धार अत्यन्त जोखिमपूर्ण थियो। माथिबाट ढुंगा खस्ने खतरा बीच पनि टोलीले सावधानीपूर्वक काम गरेको थियो।

संयुक्त राष्ट्रसंघीय विपद् मूल्याङ्कन टोलीका सदस्यले यस्ता उद्धारलाई “भूकम्पपछिको चमत्कार” भन्दै प्रतिक्रिया दिएका छन्।

यसैबीच, भूकम्प प्रभावित क्षेत्र ला ग्वाइरामा उद्धार कार्य जारी छ। सरकारी तथ्यांकअनुसार हालसम्म कम्तीमा २,२९५ जनाको मृत्यु पुष्टि भइसकेको छ भने वास्तविक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।