२०८३ श्रावण १

भेनेजुएला भूकम्पमा मृत्यु हुनेको संख्या ३ हजार ५०० नाघ्यो, हजारौँ विस्थापित

काठमाडौं । भेनेजुएलामा गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ३ हजार ५०० भन्दा बढी पुगेको छ । सरकारी तथ्याङ्कअनुसार भूकम्पका कारण हजारौँ मानिस घाइते भएका छन् भने ठूलो संख्यामा नागरिक घरबारविहीन बनेका छन् ।

सांसद जर्ज रोद्रिगेजले सोमबार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पबाट हालसम्म ३ हजार ५३५ जनाको मृत्यु भएको छ भने १६ हजार ७४० जना घाइते भएका छन् । त्यस्तै, १७ हजार ८५४ जना नागरिक विस्थापित भएको जनाइएको छ ।

राजधानी काराकास र तटीय क्षेत्र ला गुआइरामा सबैभन्दा बढी क्षति पुगेको छ । प्रभावित क्षेत्रका ८० वटा अस्थायी आश्रयस्थलमा कम्तीमा १२ हजार ८०० जना बसिरहेको बताइएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार ला गुआइरा क्षेत्रमा उद्धार तथा शव व्यवस्थापनको काम जारी छ । प्रशासनले खुला क्षेत्रमा अस्थायी रूपमा शव व्यवस्थापन गरिरहेको जनाइएको छ ।

६० हजारभन्दा बढी भवनमा क्षति

गत जुन २४ मा केही सेकेन्डको अन्तरालमा काराकास र आसपासका क्षेत्रमा ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएको थियो ।

भूकम्पका कारण करिब ६० हजार भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएको अनुमान गरिएको छ । ठूलो संख्यामा मानिस अस्थायी शिविर तथा खुला स्थानमा बस्न बाध्य भएपछि स्वास्थ्य संकटको जोखिम बढेको विशेषज्ञहरूले चेतावनी दिएका छन् ।

संक्रमण फैलिने जोखिम बढ्यो

हजारौँ विस्थापित नागरिक भीडभाडयुक्त अस्थायी शिविरमा बसिरहेका कारण स्वच्छ खानेपानी र सरसफाइको अभाव देखिएको छ । चिकित्सकहरूले घाइतेको उपचारसँगै सङ्क्रामक रोग फैलिन सक्ने जोखिम बढेको बताएका छन् ।

काराकासस्थित होस्पिटल होसे ग्रेगोरियो हेर्नान्डेजका ट्रमा विभाग प्रमुख युजेनियो कोभाले जटिल चोटपटक भएका बिरामीको उपचार जारी रहे पनि संक्रमणको समस्या थप चुनौती बन्दै गएको बताएका छन् ।

स्वास्थ्य अधिकारीहरूका अनुसार भूकम्पपछि बढेको बिरामीको चापले देशको स्वास्थ्य प्रणालीमा समेत दबाब परेको छ ।