२०८३ श्रावण १

सरकारसँग सहमतिपछि दृष्टिविहीन समुदायको माइतीघर धर्ना स्थगित

काठमाडौं । आफ्ना माग सम्बोधनको माग गर्दै विगत दुई सातादेखि काठमाडौंको माइतीघर मण्डलामा जारी दृष्टिविहीन समुदायको धर्ना सरकारसँग भएको सहमतिपछि स्थगित भएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको वार्तापछि आन्दोलनरत पक्षले तत्कालका लागि विरोध कार्यक्रम रोक्ने निर्णय गरेको हो।

वार्ताका क्रममा सरकारले दृष्टिविहीन समुदायले उठाएका विषयहरू सम्बोधनका लागि सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गरी प्रक्रिया अघि बढाउने सहमति जनाएको छ। सहमतिअनुसार उनीहरूले सञ्चालन गर्दै आएका कला, सांगीतिक प्रस्तुति तथा जीविकोपार्जनसँग जोडिएका गतिविधिहरूलाई साउन मसान्तसम्म अवरोध नगरी निरन्तरता दिन दिइने भएको छ।

दृष्टिविहीन समुदायले रोजगारी, शिक्षा, स्वास्थ्य, सहायक सामग्री तथा सामाजिक सुरक्षासँग सम्बन्धित विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका थिए। सरकारले ती मागहरू समाधानका लागि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत युवा, श्रम तथा रोजगार मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयसँग आवश्यक समन्वय गर्ने भएको छ।

दृष्टिविहीन समुदायका प्रमुख मागहरू

मागको क्षेत्रमागको विवरण
रोजगारीसीप, योग्यता र क्षमताअनुसार दृष्टिविहीन व्यक्तिका लागि रोजगारीको सुनिश्चितता
सीप विकासपढाइको अवसरबाट वञ्चित व्यक्तिका लागि सीपमूलक तालिम, बीउपूँजी र बजारीकरणको व्यवस्था
सामाजिक सुरक्षारोजगार वा स्वरोजगार गर्न नसक्ने व्यक्तिका लागि जीवन निर्वाहयोग्य बेरोजगार भत्ता
स्वास्थ्य सेवादृष्टिविहीन व्यक्ति तथा आश्रित परिवारका सदस्यका लागि निःशुल्क स्वास्थ्य उपचार
सहायक प्रविधिआवश्यक सहायक सामग्री तथा प्रविधि निःशुल्क उपलब्ध गराउने व्यवस्था
यातायात सुविधाअपाङ्गता परिचयपत्रका आधारमा हवाई तथा सडक यातायातमा ५० प्रतिशत छुटको प्रभावकारी कार्यान्वयन
शिक्षादृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिका छोराछोरीलाई निजी तथा सामुदायिक विद्यालयमा सामान्य तथा प्राविधिक शिक्षा निःशुल्क उपलब्ध गराउने व्यवस्था
सहुलियत कर्जाव्यवसाय गर्न इच्छुक व्यक्तिका लागि बिना धितो १० लाख रुपैयाँसम्म १० वर्षे किस्ताबन्दीमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था

वार्तापछि सरकार र आन्दोलनरत पक्षबीच सम्बन्धित निकायसँग निरन्तर संवाद र सहकार्य गर्दै मागहरू चरणबद्ध रूपमा कार्यान्वयन गर्ने समझदारी भएको छ।

सहमतिसँगै माइतीघर मण्डलामा जारी धर्ना कार्यक्रम तत्कालका लागि रोकिएको छ। यद्यपि दृष्टिविहीन समुदायका मागहरूको दीर्घकालीन समाधानका लागि सरकारसँगको समन्वय र छलफललाई निरन्तरता दिइने बताइएको छ।