काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गर्दै नेपाल–एडीबी साझेदारीलाई थप मजबुत बनाउने बताएका हुन्।
एडीबीले सन् २०२९ सम्म नेपाललाई थप २ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चालु वर्षमा मात्रै एडीबीको सहयोग करिब ६६ करोड डलर पुग्ने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग सम्झौता भएको छ। सम्झौताअनुसार ११ करोड ५० लाख डलर खानेपानी तथा ढल निकास परियोजनामा र ५ करोड डलर भन्सार सुधार तथा डिजिटल व्यापार प्रवर्द्धनका लागि परिचालन गरिनेछ।
खानेपानी परियोजनाबाट ८ लाख ५० हजारभन्दा बढी नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ भने डिजिटल व्यापार र भन्सार आधुनिकीकरणले व्यापार सहजीकरणमा सहयोग पुर्याउने बताइएको छ।
अध्यक्ष कान्दाले काठमाडौंका दुई विद्युत् सबस्टेसनको भर्चुअल उद्घाटन गर्नुका साथै एडीबीको सहयोगमा पुनर्निर्माण गरिएको विश्व निकेतन विद्यालयको अवलोकन गरेका छन्। उनले एआई साक्षरता कार्यक्रमको समेत सुरुवात गरेका थिए।
अर्थमन्त्रीसँगको भेटमा लगानी वातावरण सुधार, निजी क्षेत्रका चुनौती र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ।
सन् १९६६ मा स्थापना भएको एडीबीको नेपाल संस्थापक सदस्य हो। नेपालले सन् १९६९ देखि एडीबीबाट वित्तीय सहयोग लिन थालेको हो। हाल नेपालमा एडीबीका करिब ४ अर्ब अमेरिकी डलर बराबरका परियोजना सञ्चालनमा छन्। आगामी सहयोग रोजगारी सिर्जना, दिगो पूर्वाधार निर्माण र डिजिटल रूपान्तरणमा केन्द्रित हुने बताइएको छ।




