२०८३ श्रावण ४

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ६८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १२९ जना, संकेत बत्ती उल्लंघन गर्ने १२६ जना र तीव्र गतिमा सवारी चलाउने १८९ जना रहेका छन्।

त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने १३९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ८५ जना र एकतर्फी सडकमा नियम मिच्ने ५९ जना कारबाहीमा परेका छन्। अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार १५७ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक नियम उल्लंघनमा गरिएको जरिवानाबाट पछिल्लो २४ घण्टामा राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।