काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजारमा गिरावट कायम रह्यो। सोमबारको तुलनामा नेप्सेको घट्ने दर भने कम देखिएको छ। सोमबार ३३.२८ अंकले घटेको नेप्से मंगलबार ४.६४ अंकले ओरालो लाग्दै २६९६.६७ विन्दुमा बन्द भएको हो।
बजार सूचक घटेसँगै कारोबार गतिविधि पनि कमजोर बनेको छ। सोमबार ६ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम घटेर ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ रुपैयाँमा सीमित भएको छ।
मंगलबार कुल ३४२ वटा धितोपत्रका १ करोड ४२ लाख १ हजार ८६३ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा आएका कम्पनीमध्ये ९८ वटाको मूल्य बढ्दा १६६ वटाको मूल्य घटेको छ भने १३ वटा कम्पनीको मूल्य स्थिर रहेको छ।
सीमित कम्पनीमा खरिद चाप
समग्र बजार कमजोर रहे पनि केही कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ। एभरेष्ट कलर लिमिटेडको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लक्ष्मी उन्नती कोषको मूल्य ९.१० प्रतिशतले बढेको छ भने गरिमा समृद्धि योजना ५.९८ प्रतिशत, याम्बलिङ हाइड्रोपावर ४.३९ प्रतिशत र सिटिजन सुपर ३० म्युचुअल फण्ड ३.८१ प्रतिशतले उकालो लागेका छन्।
कारोबारमा सेन्ट्रल फाइनान्स अगाडि
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स सबैभन्दा अगाडि रह्यो। कम्पनीको २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसपछि रिडी पावर कम्पनीको २१ करोड, सोलु हाइड्रोपावरको १९ करोड, ग्लोबल आइएमई बैंकको १६ करोड र रिलायन्स स्पिनिङ मिल्सको १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
मंगलबार चार वटा समूहका उपसूचक मात्र बढेका छन् भने बाँकी समूहका उपसूचक नकारात्मक रहे। सोमबारको ठूलो गिरावटपछि मंगलबार बजारमा बिक्री दबाब केही कम भए पनि लगानीकर्ताको सक्रियता घटेको देखिएको छ।
कारोबार रकममा आएको कमी र अधिकांश कम्पनीको सेयर मूल्य घट्नुले बजारमा अझै स्पष्ट सकारात्मक संकेत देखिन नसकेको संकेत गर्छ। लगानीकर्ताले अब बजारको आगामी दिशा निर्धारणका लागि कारोबार विस्तार र कम्पनीहरूको वित्तीय अवस्थालाई नजिकबाट नियाल्ने देखिन्छ।




