काठमाडौँ । कञ्चनपुरका सात पालिकाले गौरा पर्वका अवसरमा आज स्थानीय सार्वजनिक बिदा दिएका छन् । भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा र पुनर्वास नगरपालिका तथा लालझाँडी र बेलडाँडी गाउँपालिकामा बिदा दिइएको हो ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले नगर प्रमुखस्तरीय निर्णयअनुसार सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौराका अवसरमा स्थानीय बिदा दिइएको बताए ।
शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले पनि पालिकाभर सार्वजनिक बिदा दिइएको जानकारी दिए ।
राक्सिराङ र कैलाशमा दुई दिन बिदा
चेपाङ समुदायको प्रमुख सांस्कृतिक पर्व न्वागी (छोनाम) का अवसरमा मकवानपुरका राक्सिराङ र कैलाश गाउँपालिकाले भदौ २२ र २३ गते स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार ती दुई दिन सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था तथा शिक्षण संस्था बन्द रहनेछन् । कैलाश गाउँपालिकाले पनि सोही मितिमा बिदा दिने निर्णय गरेको अध्यक्ष लोकबहादुर मुक्तानले बताए ।
चेपाङ समुदायले भदौ २२ गते राति नयाँ खाद्यान्न तथा वनस्पति घरमा भित्र्याएर पूजा गर्ने र २३ गते बिहान पितृ पूजा गरी प्रसाद ग्रहण गरेर न्वागी मनाउने परम्परा छ ।
नयाँ बाली पितृलाई चढाएपछि मात्र ग्रहण गर्ने परम्परा रहेको चेपाङ समुदायमा न्वागीका अवसरमा भूमि तथा प्रकृतिको समेत पूजा गर्ने गरिन्छ ।




