२०८३ जेष्ठ २३

इरानसँग सम्झौता गर्न हतार छैन- ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आणविक हतियार बनाउने विषयमा सहमति जनाएको दाबी गरेका छन् । उनले इरानलाई आणविक हतियार प्राप्त गर्न नदिनु आफ्नो प्रमुख लक्ष्य रहेको पनि दोहोर्‍याए ।

एक अन्तर्वार्तामा ट्रम्पले सुरुमा इरानले आणविक हतियार नबनाउने सहमति जनाएको र त्यसपछि किन्ने कि नकिन्ने भन्ने प्रश्नमा पनि इरानले हतियार नकिन्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।

ट्रम्पले इरानसँग सम्झौता गर्न आफूलाई कुनै हतार नभएको भन्दै अमेरिका उत्कृष्ट सम्झौताको पक्षमा रहेको बताए । उनले सम्झौता नभएमा सैन्य उपाय अपनाएर समस्या अन्त्य गर्न सकिने चेतावनीसमेत दिएका छन्।

उनका अनुसार सम्झौता भएमा धेरै मानिसको ज्यान जोगिनेछ र हस्ताक्षर भएसँगै होर्मुज जलडमरूमध्य तत्काल खुल्न सक्नेछ । अमेरिका बिस्तारै आफ्ना सर्तहरू स्वीकार गराउन सफल भइरहेको दाबी पनि उनले गरे ।

यसैबीच, अमेरिकी रक्षा मन्त्री पेट हेगसेथले सिङ्गापुरमा आयोजित एक शिखर सम्मेलनमा इरानसँगको वार्ता असफल भए अमेरिका पुनः सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएका छन् ।

यो चेतावनी अमेरिका र इरानबीच प्रस्तावित सम्झौतामा रहेका मतभेद हटाउने प्रयास भइरहेका बेला आएको हो । प्रस्तावअनुसार अप्रिलको सुरुआतमा भएको अस्थायी युद्धविरामलाई थप ६० दिन लम्ब्याउने र स्थायी सम्झौताको आधार तयार गर्ने योजना छ ।

ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा बसेको बैठकपछि प्रस्तावबारे अन्तिम निर्णय लिने बताएका थिए । तर करिब दुई घण्टा चलेको बैठकपछि निर्णय स्थगित गरिएको थियो। उता इरानले भने अहिलेसम्म कुनै समयसीमा घोषणा गरेको छैन ।

इरानका प्रमुख वार्ताकार मोहमद बाघर घालीबाफले सामाजिक सञ्जालमार्फत अमेरिकामाथि विश्वास नरहेको बताएका छन् । उनले अमेरिका स्वयंले ठोस कदम नचालेसम्म इरानले पनि कुनै नयाँ कदम नचाल्ने स्पष्ट पारेका छन् । साथै, हाल कुनै हतार नरहेको उनको भनाइ छ ।

Read More

टिकटकर तुलसा अधिकारी थाइल्यान्डबाट पक्राउ, ठगीदेखि सम्पत्ति शुद्धीकरणसम्मका आरोप

काठमाडौँ । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ नामले चिनिने तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौँ ल्याइएको हो। अधिकारीविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको छ। अब उनलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

इन्टरपोलको रेड नोटिसपछि अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ परेकी अधिकारीविरुद्ध सरकारी वकिल कार्यालयले गत चैतमा ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।

‘तुल्सा कलेक्सन’की सञ्चालक अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै लामो समयसम्म ब्ल्याकमेल गरेको आरोप छ। जाहेरीकर्ताको दाबीअनुसार उनले दबाबमार्फत करोडौँ रुपैयाँ बराबरको नगद तथा जिन्सी लिएको आरोप लगाइएको छ। मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।

Read More

खुर्पा प्रहार गरि छोराको हत्या गर्ने बुबा पक्राउ

चितवन । नवलपरासी पूर्वबाट खुर्पा प्रहार गरि छोराको हत्या गर्ने बुबा पक्राउ परेका छन् ।

नवलपरासी पूर्व गैडाकोट- १५ स्थित चिन्तामणि टोलमा घरायसी विवादका क्रममा बुबाले आफ्नै छोरामाथि धारिलो खुर्पा प्रहार गर्दा गम्भीर घाइते भएका ४३ बर्षिय शंकर गिरीको नयाँ मेडिकल कलेज, चितवनमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले ६३ बर्षिय बुबा डम्बर गिरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको बताएको छ ।

Read More

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौँमा

काठमाडौँ । अमेरिकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौँ आइपुगेकी छन् । भारतको राजधानी नयाँ दिल्लीबाट शनिबार साझ काठमाडौं आएकी हुन् ।

रोजर्सले नेपालस्थित अमेरिकी राजदूतावासले आज आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिकोप रुपमा सहभागी हुने बताइएको छ । 

तीन दिने भ्रमणको क्रममा रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाललगायतसँग भेट्ने कार्यक्रम रहेको छ । बालेन सरकार गठनपछिको अमेरिकाबाट भएको यो तेस्रो उच्चस्तरीय भ्रमण हो ।

यसअघि वैशाख ८ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुर र वैशाख १७ गते दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत एवम् भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले नेपाल भ्रमण गरेका थिए।

Read More

नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

काठमाडौँ । नेपालले चीनलाई ३१४ रनको लक्ष्य दिएको छ । एशियन गेम्सको पुरुष क्रिकेटतर्फको क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको हो ।

टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । नेपालका लागि कुशल भुर्तेलले १२९ रनको शतकीय पारी खेलेका थिए । भुर्तेलले ४३ बलमा १२९ रन बनाएका थिए ।

त्यस्तै कुशल मल्लले ४७ बलमा अविजित ८५ रन बनाए भने रोहित पौडेलले २१ बलमा अविजित ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेख ११ रन बनाएर आउट भएका थिए । 

यो टी-२० अन्तराष्ट्रिय क्रिकेटमा बनेको तेस्रो ठुलो टोटल हो । यसअघि जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाएको थियो भने नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो ।

Read More

ओपनएआईलाई एन्थ्रोपिकले उछिन्यो, कम्पनीको मुल्यांकन ९६५ अर्ब डलर

काठमाडौँ । कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रतिस्पर्धामा अमेरिकी प्रविधि कम्पनी एन्थ्रोपिकले नयाँ कीर्तिमान कायम गरेको छ । आफ्नो संवादात्मक कृत्रिम बुद्धिमत्ता प्रणाली ‘क्लाउड’ का लागि परिचित कम्पनीले करिब ९६५ अर्ब अमेरिकी डलर मूल्यांकन हासिल गर्दै प्रतिस्पर्धी ओपनएआईलाई समेत उछिनेको छ । दुवै कम्पनीले निकट भविष्यमा सेयर बजारमा प्रवेश गर्ने तयारी गरिरहेका बेला यो उपलब्धि सार्वजनिक भएको हो ।

हालै सम्पन्न लगानी संकलन चरणमा एन्थ्रोपिकले ६५ अर्ब अमेरिकी डलर बराबरको नयाँ लगानी जुटाएको छ । यस चरणको नेतृत्व अल्टिमिटर क्यापिटल, ड्र्यागोनियर, ग्रीनओक्स र सिक्वोया क्यापिटलले गरेका थिए । साथै एएमपी पिबिसी, बेली गिफोर्ड, ब्ल्याकस्टोन, ब्रुकफिल्ड र डीईश लगायतका प्रमुख लगानीकर्ताले पनि सहभागिता जनाएका थिए। पूर्वाधार साझेदारका रूपमा माइक्रोन, सामसुङ र एसके हाइनिक्स पनि जोडिएका छन् ।

यसअघि ओपनएआईले मार्च महिनामा १२२ अर्ब अमेरिकी डलरको लगानी जुटाएको थियो, जसपछि कम्पनीको मूल्यांकन ८५२ अर्ब अमेरिकी डलर पुगेको थियो । तर पछिल्लो मूल्यांकनसँगै एन्थ्रोपिक यस क्षेत्रमा अग्रस्थानमा पुगेको छ ।

विश्वभरका ठूला व्यावसायिक संस्थाहरूमा ‘क्लाउड’ को प्रयोग तीव्र रूपमा बढिरहेका कारण कम्पनीको वार्षिक आम्दानी दर यस महिनाको सुरुमै ४७ अर्ब अमेरिकी डलर नाघेको बताइएको छ । कम्पनीले चालु वर्षको कुल आम्दानी १०.९ अर्ब अमेरिकी डलर पुग्ने अपेक्षा गरेको छ, जुन अघिल्लो अवधिको तुलनामा दोब्बरभन्दा बढी हो ।

कम्पनीले आगामी जुन त्रैमासिकमा पहिलो पटक सञ्चालन नाफा हासिल गर्ने अपेक्षा गरेको छ । कुनै पनि प्रविधि नवप्रवर्तन कम्पनीका लागि यो महत्वपूर्ण उपलब्धि मानिन्छ ।

कम्पनीका प्रमुख वित्तीय अधिकृत कृष्णा रावका अनुसार विश्वभरका ग्राहकका लागि ‘क्लाउड’ अत्यावश्यक उपकरण बन्दै गएको छ । उनले नयाँ लगानीले बढ्दो माग पूरा गर्न, अनुसन्धान विस्तार गर्न तथा ‘क्लाउड कोड’ र ‘को–वर्क’ जस्ता उपकरणलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।

बढ्दो मागलाई सम्बोधन गर्न एन्थ्रोपिकले आफ्नो गणनात्मक क्षमता पनि तीव्र गतिमा विस्तार गरिरहेको छ । कम्पनीले नयाँ क्षमता विस्तारका लागि अमेजन वेभ सर्भिससँग पाँच गिगावाटसम्मको सम्झौता गरेको छ । त्यसैगरी नयाँ पुस्ताको प्रशोधन प्रविधिका लागि गुगल क्लाउड  र बोर्डरुमसँग तथा उच्च क्षमतायुक्त ग्राफिक्स प्रशोधन प्रणाली प्रयोगका लागि स्पेस एक्ससँग पनि महत्वपूर्ण सहकार्य गरेको छ ।

सिक्वोया क्यापिटलका साझेदार अल्फ्रेड लिन ले विश्वका हजारौँ ठूला कम्पनी र नवप्रवर्तन व्यवसायहरूले जटिल कार्य व्यवस्थापनका लागि ‘क्लाउड’ प्रयोग गरिरहेको बताए । उनका अनुसार यसले व्यवसाय सञ्चालनका शैली र आवश्यकता गहिराइसँग बुझ्न सक्षम हुँदै गएको छ । एन्थ्रोपिकले आफ्नो पूर्वाधार यति बलियो बनाइसकेको छ कि ‘क्लाउड’ अहिले विश्वका तीन प्रमुख क्लाउड सेवा मञ्च—अमेजन वेब सर्भिसेज, गुगल क्लाउड र माइक्रोसफ्ट अजुरेमा सहज रूपमा उपलब्ध छ ।

बलियो आम्दानी वृद्धि, नाफाको सम्भावना र विश्वका प्रमुख प्रविधि कम्पनीहरूसँगको रणनीतिक साझेदारीका कारण एन्थ्रोपिकले कृत्रिम बुद्धिमत्ता बजारमा आफ्नो स्थान निकै मजबुत बनाएको विश्लेषण गरिएको छ । आगामी प्राथमिक सेयर निष्कासन र कृत्रिम बुद्धिमत्ता उपकरणको बढ्दो मागलाई हेर्दा यो क्षेत्र अझ तीव्र गतिमा विस्तार हुने अपेक्षा गरिएको छ, जसमा एन्थ्रोपिक हाल अग्रणी कम्पनीका रूपमा उभिएको देखिन्छ ।

Read More

अर्थमन्त्री डा. वाग्लेले बजेट बारे आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट बारे आज पत्रकार सम्मेलन गर्दैछन् । 

अर्थमन्त्री डा. वाग्लेले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा थप जानकारी दिन आज अपराहन्न ३ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

पत्रकार सम्मेलन अर्थ मन्त्रालयको सुवर्ण हलमा हुने उनको सचिवालयले जानकारी दिएको छ ।

Read More

कुशल भुर्तेलले बनाए चीनविरुद्ध ३५ बलमा शतक

काठमाडौँ । कुशल भुर्तेलले चीनविरुद्ध शतक प्रहार गरेका छन् । एशियन गेम्सको क्वायालिफायर्स अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालका लागि कुशलले ३५ बलमा शतक प्रहार गरेका हुन् ।

शतक प्रहार गर्ने क्रममा कुशलले १२ छक्का र ३ चौका प्रहार गरेका थिए । यो टी-२० खेलमा कुशलको दोश्रो शतक हो । 

यो समाचार तयार गरुन्जेल नेपालले १२ ओभरमा एक विकेट गुमाएर १७५ रन बनाएको छ ।   

Read More

साफ महिला फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौँ ।  नेपालले साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा आज श्रीलंकाविरुद्ध खेल्दैछ ।  यो खेल नेपाली समय अनुसार अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । 

नेपालले भारतको गोवामा हुने यो जिते या बराबरीले मात्रै पनि नेपाल समूह ए को विजेता बन्नेछ । 

पहिलो खेलमा नेपालले भुटानलाई १–० ले पराजित गरेको थियो । त्यस्तै श्रीलंका भने भुटानसँग पहिलो खेलमा ४-० ले पराजित भएको थियो । 

त्यस्तै समूह बी बाट एक खेलअघि नै भारत र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । आइतबार नै भारत र बंगलादेशबीच खेल हुदैछ । यो खेलपछि समूह बी को विजेता र उपविजेता पनि टुंगो लाग्नेछ । 

प्रतियोगिताको सेमिफाइनल खेल जुन ३ मा हुने छ भने फाइनल खेल जुन ५ मा हुने तालिका रहेको छ ।

Read More

विद्युत् प्रयोगमा भ्याट लगाउने निर्णय अविवेकी- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि भ्याट लगाउने निर्णय अविवेकी निर्णय भएको टिप्पणी गरेका छन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अब   ५० युनिट माथिको विद्युत् प्रयोग गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको छ। आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ? भन्दै प्रश्न गरेका छन् । 

उनले नेपाल जलस्रोतमा विश्वकै धनी राष्ट्रमध्ये एक हो। स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने बेला विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्नु नेपाली जनतालाई आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट निरुत्साहित गर्ने कदम भएको बताएका छन् ।

उनले पेट्रोलियम प्रोडक्टको अभाव र मुल्यवृद्धि भएको समयमा ग्रिन इनर्जीलाई प्रवर्धन गर्नुपर्नेमा विद्युतिय गाडीको प्रयोगलाई समेत दुरुत्साहन गर्नेगरी करको भार थोपर्ने काम समेत बजेट मार्फत गरिएको आरोप लगाएका छन् ।

उनले यदि बजेटको आकार बढाउने नाममा आय श्रोत देखाउन यस्तो निर्णय हुनपुगेको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनु पर्ने बताउदै सरकार आफैले नाफा लिएर विक्रि गरेको विद्युत खपत वृद्धिहुदा भ्याट लागएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा त्यसको अधिकतम् उपयोग गर्न प्रेरित गर्नु पर्ने बताएका छन् ।

Read More