काठमाडौँ । सामाजिक सञ्जालमा ‘टिकटकर तुलसा अधिकारी’ नामले चिनिने तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौँ ल्याइएको हो। अधिकारीविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ र ठगीसम्बन्धी मुद्दा दर्ता भइसकेको छ। अब उनलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
इन्टरपोलको रेड नोटिसपछि अन्तर्राष्ट्रिय समन्वयमार्फत पक्राउ परेकी अधिकारीविरुद्ध सरकारी वकिल कार्यालयले गत चैतमा ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।
‘तुल्सा कलेक्सन’की सञ्चालक अधिकारीमाथि एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै लामो समयसम्म ब्ल्याकमेल गरेको आरोप छ। जाहेरीकर्ताको दाबीअनुसार उनले दबाबमार्फत करोडौँ रुपैयाँ बराबरको नगद तथा जिन्सी लिएको आरोप लगाइएको छ। मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।



