२०८३ आश्विन १३

पर्सामा २०७ केजी गाँजासहित एक जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ करिब ६:३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनीभठ्ठाको संयुक्त टोलीले विन्दवासिनी गाउँपालिका–५ स्थित सडकखण्डमा एउटा पिकअप गाडी रोकेर खानतलासी गरेको थियो।

प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको उक्त पिकअपमा सिमेन्टको बोराभित्र लुकाएर राखिएको अवस्थामा प्रहरीले २०७ केजी गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार गाँजासहित पिकअप चालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१३ निवासी ४८ वर्षीय कृष्णा लामालाई पक्राउ गरिएको छ।

बरामद गरिएको गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Read More

ब्रोड पिक हिमपहिरो पीडित गाइड परिवारका लागि निम्सदाइ फाउन्डेसनद्वारा राहत कोष स्थापना

काठमाडौं । निम्सदाइ फाउन्डेसनले पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा ज्यान गुमाएका पर्वतीय गाइडहरूको परिवारलाई सहयोग गर्ने उद्देश्यले विशेष राहत कोष स्थापना गरेको घोषणा गरेको छ।

फाउन्डेसनले आफ्ना संस्थापक तथा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) लाई गुमाउनुपरेको दुःखद अवस्थाबीच पनि दुर्घटनामा ज्यान गुमाएका अन्य गाइडका परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने लक्ष्यसहित ‘ब्रोड पिक गाइड्स फेमिली सपोर्ट फन्ड’ स्थापना गरिएको जनाएको छ।

फाउन्डेसनले आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत हिमाल आरोहणमा संलग्न प्रत्येक गाइड र टोली सदस्यको पछाडि उनीहरूमाथि निर्भर परिवार रहने उल्लेख गरेको छ। ती परिवारहरूले अहिले गहिरो पीडा र कठिन परिस्थितिको सामना गरिरहेको भन्दै सहयोग आवश्यक रहेको जनाएको छ।

ठूला पर्वतारोहण दुर्घटनाबाट प्रभावित परिवारलाई सहयोग गर्ने आफ्नो परोपकारी उद्देश्यअनुसार फाउन्डेसनले विश्वभरका पर्वतारोहण प्रेमी, सहयोगी तथा अन्तर्राष्ट्रिय समुदायलाई राहत कोषमा सहयोग गर्न अपिल गरेको छ।

फाउन्डेसनले निर्मल पुर्जाको मानवीय सोचलाई स्मरण गर्दै पर्वतारोहणको वास्तविक सफलता केवल हिमालको चुचुरोमा पुग्नुमा नभई यात्राका क्रममा मानिसहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्नुमा रहेको विश्वास रहेको उल्लेख गरेको छ।

निम्स दाइको यही आदर्श, मार्गदर्शन र मानवीय दृष्टिकोणलाई निरन्तरता दिन फाउन्डेसनले दया, करुणा र व्यवहारिक सहयोगमार्फत उनको विरासतलाई अघि बढाउन सबैसँग आग्रह गरेको छ।

Read More

नेपालगञ्जमा इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।

गत साउन १८ गते बिहान करिब ११:२० बजे इँटा भट्टाको पर्खाल अचानक भत्किँदा ५२ वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो। सोही दुर्घटनामा परी ४५ वर्षीय राम फेरन कोरी गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते कोरीको उपचारका क्रममा बुधबार बिहान ३:३० बजे अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि मृतक लोधको शव पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।

Read More

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ९५ रुपैयाँले वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लो दिन यसको मूल्य प्रतितोला ४ हजार ३८० रुपैयाँ रहेको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार विश्व बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔँस ४ हजार १२७ अमेरिकी डलर र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ।

Read More

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

काठमाडौं । नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त भएका छन्। सरकारले छनोट प्रक्रियामार्फत आवेदन दिएका उम्मेदवारमध्येबाट डा. आलमलाई परिषद्को अध्यक्षमा चयन गरेको हो।

नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथ ग्रहण समारोहमा बोल्दै मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिइन्। उनले औषधि सेवाको गुणस्तर सुधार, फार्मेसी शिक्षाको नियमन, पेसागत मर्यादा कायम राख्ने तथा जनविश्वास अभिवृद्धि गर्ने कार्यमा परिषद्ले सक्रिय भूमिका खेल्नुपर्ने बताइन्।

मन्त्री मेहताले नवनियुक्त अध्यक्षलाई फार्मेसी क्षेत्रको सुधार र व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।

अध्यक्ष आलमले परिषद्को गरिमा अझ उचो बनाउँदै फार्मेसी क्षेत्रको सुधार, नियमन र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्।

Read More

लाल सागरमा भारतीय झण्डावाहक व्यापारिक जहाजमाथि हुथी विद्रोहीको आक्रमण

काठमाडौँ ।। यमनको तटीय क्षेत्र नजिकै लाल सागरमा भारतीय झण्डावाहक एक व्यापारिक जहाजमाथि इरान समर्थित हुथी विद्रोहीहरूले आक्रमण गरेका छन्। आक्रमणमा परेको एमएसभी फैज नूरे ओलिया जहाजमा सवार सबै १४ जनाको सकुशल उद्धार गरिएको भारतका जहाजरानी मन्त्री सर्बानन्द सोनोवालले जानकारी दिएका छन्। उद्धार गरिएकामध्ये १३ जना भारतीय नागरिक रहेका छन्।

मन्त्री सोनोवालले उक्त घटनालाई ‘कुनै उक्साहट बिनाको आक्रमण’ भन्दै कडा निन्दा गरेका छन्। उनले यस क्षेत्रमा रहेका नाविकहरूको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने पनि बताएका छन्।

हालसम्म जहाजमाथि आक्रमण गर्ने पक्षको आधिकारिक पुष्टि हुन सकेको छैन। तर साउदी समर्थित यमनी सरकारले यस घटनाका लागि हुथी विद्रोहीहरूलाई जिम्मेवार ठहराएको छ।

लाल सागरमा व्यापारिक जहाजहरूलाई लक्षित गरी भइरहेका पछिल्ला आक्रमणहरूको शृंखलामध्ये यो पछिल्लो घटना हो। यस वर्ष फेब्रुअरीमा इरानले होरमुज जलडमरूमध्य बन्द गरेपछि केही तेल ट्यांकरहरूले वैकल्पिक समुद्री मार्गका रूपमा लाल सागरको बाटो प्रयोग गरिरहेका थिए।

घटनापछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस क्षेत्रमा व्यावसायिक जहाजहरूमाथि भइरहेका आक्रमणलाई गम्भीर चिन्ताको विषय भएको जनाएको छ। मन्त्रालयले व्यावसायिक जहाजलाई निशाना बनाउने कार्य तत्काल बन्द हुनुपर्ने बताउँदै अन्तर्राष्ट्रिय कानुनअनुसार क्षेत्रका अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र, सुरक्षित र अवरोधरहित जलयात्रा तथा व्यापार यथाशीघ्र पुनःस्थापित गरिनुपर्नेमा जोड दिएको छ।

Read More

नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट थप रु. ८५ अर्ब तरलता खिच्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अत्यधिक तरलता व्यवस्थापन गर्न पुनः ठूलो परिमाणमा रकम प्रशोचन गर्ने भएको छ। मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय बैंकले बजारबाट थप रु. ८५ अर्ब निक्षेप संकलन गर्न लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका अनुसार उक्त निक्षेप ९१ दिन (तीन महिना) अवधिका लागि संकलन गरिनेछ। यसका लागि इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३:०० बजेसम्म अनलाइन ‘बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।

बैंकका अनुसार निक्षेप संकलनको अन्तिम विवरण बोलकबोल प्रक्रिया सम्पन्न भएपछि सार्वजनिक गरिनेछ। यसको ब्याजदर भने खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट निर्धारण हुनेछ।

बोलकबोलमा सहभागी हुने बैंक तथा वित्तीय संस्थाले न्यूनतम रु. १० करोड र त्यसपछि रु. ५ करोडका गुणांकमा आफूले चाहेको रकमका लागि आवेदन दिन सक्नेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदर प्रस्ताव गर्दै एकभन्दा बढी आवेदनसमेत पेस गर्न पाउने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार यस प्रक्रियामार्फत संकलन गरिएको निक्षेपको साँवा तथा ब्याज आगामी कात्तिक १७ गते भुक्तानी गरिनेछ।

तरलता व्यवस्थापनका लागि निरन्तर हस्तक्षेप

वित्तीय बजारमा लगानीयोग्य रकम अत्यधिक हुँदा ब्याजदरमा अनावश्यक उतारचढाव आउन नदिन राष्ट्र बैंकले समय–समयमा निक्षेप संकलन उपकरण (Deposit Collection Facility) मार्फत बजारबाट तरलता प्रशोचन गर्दै आएको छ।

हाल बैंक तथा वित्तीय संस्थामा निक्षेप निरन्तर बढिरहेको तर कर्जाको माग अपेक्षाकृत सुस्त रहेको अवस्थाका कारण प्रणालीमा अधिक तरलता थुप्रिएको छ। यही अवस्थालाई व्यवस्थापन गर्न केन्द्रीय बैंकले खुला बजार कारोबारमार्फत अल्पकालीन तरलता खिच्ने रणनीतिलाई निरन्तरता दिएको हो।

Read More

जुट उत्पादन घट्दा आयातमा निर्भर हुँदै नेपाल, कच्चा जुट खरिदमा अर्बौं रुपैयाँ बाहिरिँदै

काठमाडौं। कुनै समय झापा, मोरङ र सुनसरीमा उत्पादन भएको जुट भारत र बङ्गलादेशसम्म निर्यात हुने गर्थ्यो। तर पछिल्ला वर्षहरूमा स्वदेशी उत्पादन घट्दै गएपछि नेपालका जुट उद्योगहरू कच्चा पदार्थका लागि विदेशी बजारमा निर्भर हुन थालेका छन्।

पूर्वीनाका काँकरभिट्टाबाट आर्थिक वर्ष २०८२/८३ मा मात्रै रु चार अर्ब ९१ करोड ६६ लाख ६२ हजार बराबरको कच्चा जुट आयात भएको छ। अघिल्लो आर्थिक वर्षमा रु चार अर्ब ३४ करोड १२ लाख ६१ हजारको जुट आयात भएको थियो। एक वर्षको अवधिमा कच्चा जुट आयात करिब रु ५७ करोड ५४ लाख अर्थात् १३.२५ प्रतिशतले बढेको देखिएको छ।

मेची भन्सार कार्यालयका अनुसार काँकरभिट्टा नाकाबाट आयात हुने वस्तुमध्ये मूल्यका आधारमा पेट्रोल र डिजेलपछि कच्चा जुट तेस्रो ठूलो आयातित वस्तु बनेको छ। पछिल्ला वर्षहरूमा यही नाकाबाट जुट आयातको मात्रा निरन्तर बढिरहेको भन्सारको तथ्याङ्कले देखाएको छ।

सरकारी अभिलेखअनुसार पूर्वी नेपालमा २०४३/४४ सालदेखि व्यावसायिक रूपमा जुटखेती विस्तार भएको थियो। त्यतिबेला यहाँ उत्पादन भएको जुट स्वदेशी उद्योगमा प्रयोग हुनुका साथै भारत र बङ्गलादेशमा समेत निर्यात हुने गर्थ्यो। अहिले भने उत्पादन घटेकाले उद्योगको माग पूरा गर्न विदेशबाट कच्चा जुट ल्याउनुपर्ने अवस्था बनेको छ।

कृषि क्षेत्रका अधिकारीहरूका अनुसार उत्पादन लागत बढ्नु, किसानले उचित मूल्य नपाउनु र आम्दानी अपेक्षाअनुसार नहुनु जुटखेती घट्नुका मुख्य कारण हुन्। किसानहरू पछिल्ला वर्षहरूमा जुट छाडेर धानलगायत अन्य बालीतर्फ आकर्षित हुँदै गएका छन्।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार जिल्लामा अहिले करिब पाँच हजार हेक्टर क्षेत्रफलमा मात्रै जुटखेती भइरहेको छ। लागत बढी र प्रतिफल कम भएकाले किसानले जुटखेती कम गर्दै गएको र उत्पादनमा उल्लेख्य गिरावट आएको उनले बताए।

Read More

प्रतिनिधिसभाका चार समितिको बैठक आज, राष्ट्र बैंकदेखि वैदेशिक रोजगारीसम्म छलफल

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छन्। बैठकमा नेपाल राष्ट्र बैंक ऐन संशोधन, वैदेशिक रोजगार, न्यायपालिका र कृषि क्षेत्रसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ।

बिहान १० बजे बस्ने अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधनसम्बन्धी विधेयकमाथि दफावार छलफललाई निरन्तरता दिइनेछ।

सोही समयमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार व्यवस्थापनसम्बन्धी विषयमा छलफल गर्नेछ।

बिहान ९:३० बजे सुरु हुने कानुन, न्याय तथा मानव अधिकार समिति बैठकमा स्वतन्त्र न्यायपालिका, न्याय प्रशासनको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका उपायबारे छलफल हुनेछ।

यस्तै, दिउँसो १ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा समितिमा प्राप्त उजुरीका विषयमा आन्तरिक छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

एलपी ग्यास आपूर्ति केही दिनमै सहज हुने, आवश्यकताभन्दा बढी भण्डारण नगर्न सरकारको आग्रह

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्ति केही दिनभित्र सहज हुने जनाएको छ। मन्त्रालयले उपभोक्तालाई अफवाहमा नलाग्न, आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।

मन्त्रालयका अनुसार हाल अघिल्लो वर्षको यही अवधिको तुलनामा नियमित माग धान्न सक्नेभन्दा बढी एलपी ग्यास आयात र वितरण भइरहेको छ। बढ्दो मागलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग समन्वय गर्दै आपूर्ति र वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने काम जारी रहेको जनाइएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन तीव्र बनाएको छ भने नेपाल आयल निगम र ग्यास उद्योगीसँग मिलेर आयात, भण्डारण तथा वितरण प्रणालीलाई थप पारदर्शी बनाउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ। वैकल्पिक सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकताका आधारमा ग्यास उपलब्ध गराउन पनि आग्रह गरिएको छ।

मन्त्रालयले कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा उपभोक्तालाई दुःख दिने व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

Read More