२०८३ आश्विन १०

साउदीमा ९११ नेपाली जेलमा, ९१.६ प्रतिशत लागूऔषध मुद्दामा

काठमाडौं । साउदी अरबमा रोजगारीका लागि पुगेका ९११ नेपाली विभिन्न मुद्दामा जेलमा रहेको नेपाली दूतावास रियादको तथ्यांकले देखाएको छ। ११ अगस्ट २०२६ सम्मको विवरणअनुसार ४९९ जनाको फैसला भइसकेको छ भने ४१२ जनाको मुद्दा विचाराधीन छ।

जेलमा रहेका नेपालीमध्ये पूर्वी क्षेत्रमा ३७७, केन्द्रीय क्षेत्रमा ३३४ र अन्य क्षेत्रमा २०० जना छन्। तीमध्ये ८३५ जना अर्थात् ९१.६ प्रतिशत लागूऔषधसम्बन्धी मुद्दामा जेलमा रहेको तथ्यांकमा उल्लेख छ।

साउदीमा लागूऔषध र मदिरासम्बन्धी अपराधलाई गम्भीर रूपमा लिइने भएकाले नेपाली कामदारलाई स्थानीय कानुनको पूर्ण पालना गर्न दूतावासले आग्रह गरेको छ। कार्यवाहक राजदूत सिर्जना अधिकारीले अपरिचित व्यक्तिको सामान वा पार्सल नबोक्न तथा मदिरा, लागूऔषधलगायत प्रतिबन्धित वस्तुसँग सम्बन्धित गतिविधिबाट टाढा रहन आग्रह गरेकी छन्।

श्रम काउन्सिलर कबिराज उप्रेतीले बढी कमाइको लोभ वा अरूको आग्रहमा गैरकानुनी काममा संलग्न हुँदा गम्भीर कानुनी परिणाम भोग्नुपर्ने भन्दै साउदीको कानुनबारे जानकारी राखेर काम गर्न नेपालीलाई सुझाव दिएका छन्।

Read More

लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता तीन बालबालिकामध्ये दुईको शव भेटियो

काठमाडौं । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा मंगलबार बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।

घटनास्थलबाट करिब पाँच किलोमिटर दक्षिणतर्फ परोहा नगरपालिका–२ जिंगडवास्थित लालबकैया नदीको किनारमा दुई बालबालिकाको शव भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार देवाही गोनाही नगरपालिका–१ करुनियाका करमे आलमका १० वर्षीय छोरा मोहमद रमतुल्लाह र सोही स्थानका हिसी अख्तरकी १० वर्षीया छोरी सबनम खातुनको शव फेला परेको हो। प्रहरीले दुवैको शव प्रादेशिक अस्पतालमा पठाएको छ।

घटनामा बेपत्ता भएकी स्थानीय शेख खुरसेदकी १० वर्षीया छोरी रौशन खातुनको अवस्था भने अझै अज्ञात छ। उनको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता गौतमले जानकारी दिए।

मंगलबार दिउँसो करिब २ बजेदेखि लालबकैया नदीमा नुहाउने क्रममा तीनै जना बालबालिका बेपत्ता भएका थिए। घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी सुरु गरेको थियो।

Read More

सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला १ हजार २०० रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

मंगलबार सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेर ४ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँ कायम भएको थियो।

Read More

ग्यास अभावमा चितवन मेडिकल कलेजका विद्यार्थीलाई सहुलियतमा खाना


काठमाडौं । ग्यासको अभावका कारण खाना पकाउन समस्या भएका विद्यार्थी, कर्मचारी तथा मजदुरलाई लक्षित गर्दै चितवन मेडिकल कलेज परिसरको क्यान्टिनले सहुलियत दरमा खाना खुवाउन थालेको छ।

कलेज परिसरमा सञ्चालित फ्राइन्डस रेष्ट्रोले यसअघि रु १५० मा बिक्री गर्दै आएको सादा खाना ग्यास अभावका कारण समस्यामा परेकालाई रु १०० मै उपलब्ध गराउन थालेको सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिए।

एउटा मात्र ग्यास सिलिन्डर भएका र खाली भएपछि पुनः भर्न नपाउँदा समस्या झेलिरहेका नागरिकलाई लक्षित गरी तत्कालको समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहुलियतमा खाना खुवाउन सुरु गरिएको ढकालले बताए।

यसैबीच, ग्यास अत्यावश्यक भएका नागरिकलाई सम्बन्धित वडामा नाम टिपाउन आग्रह गरिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्ला प्रशासन कार्यालयले क्लस्टरका आधारमा दैनिक ग्यास बिक्रीको व्यवस्था मिलाएको छ।

हाल दैनिक करिब आठ हजार सिलिन्डर ग्यास क्लस्टरका आधारमा बिक्री भइरहेको छ। प्रशासनको टोल फ्री नम्बरमा सम्पर्क गरी हालसम्म ९९८ जनाले ग्यास लगिसकेको प्रमुख जिल्ला अधिकारी अर्यालले जानकारी दिए।

उनका अनुसार आगामी शुक्रबारदेखि केन्द्रीय बसपार्कबाट समेत क्लस्टरका आधारमा ग्यास बिक्री गर्ने व्यवस्था मिलाइनेछ।

Read More

प्रि-ओपन सेसनमा नेप्से ०.५८ अंकले घट्यो

काठमाडौं : बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यस अवधिमा नेप्से परिसूचक ०.५८ अंकले घटेर २६४१.२७ विन्दुमा कायम भएको हो।

प्रि-ओपन सेसनमा ६३ वटा स्क्रिप्सको ५२ हजार १८२ कित्ता सेयर खरिदबिक्री भएको छ। यस अवधिमा कुल ३ करोड ६४ लाख ६२ हजार ३७३ रुपैयाँ बराबरको कारोबार भएको हो।

कारोबारमा आएका स्क्रिप्समध्ये १९ वटाको मूल्य बढेको छ भने ३४ वटाको मूल्य घटेको छ। बाँकी ६ वटा स्क्रिप्सको मूल्य भने स्थिर रहेको छ।

Read More

काठमाडौँ महानगरले स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा शिक्षण–सिकाइ प्रक्रियालाई थप व्यावहारिक र प्रभावकारी बनाउन ‘स्रोत शिक्षक’सँग कार्यसम्पादन करार सम्झौता गरेको छ ।

सम्झौतापत्रमा शिक्षा विभागका प्रमुख नमराज ढकाल र स्रोत शिक्षकहरूले हस्ताक्षर गरेका छन् । ‘स्रोत शिक्षक व्यवस्थापन कार्यविधि, २०८०’ तथा शिक्षा तथा स्वास्थ्य समितिले यही साउन २२ गते गरेको निर्णयका आधारमा सम्झौता गरिएको विभागले जनाएको छ ।

सम्झौताअनुसार स्रोत शिक्षकहरूले आफ्नो कार्यक्षेत्रअन्तर्गतका विद्यालयको शिक्षण–सिकाइ वातावरण सुधार गर्न मासिक तथा साप्ताहिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्नुपर्नेछ ।

विभागीय प्रमुख ढकालका अनुसार महानगरपालिकाको शैक्षिक नीति तथा कार्यक्रमलाई विद्यालय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण गर्ने, शिक्षकहरूको पेसागत विकासमा सहयोग पुर्‍याउने तथा विद्यालयका समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने जिम्मेवारी स्रोत शिक्षकलाई दिइएको छ ।

Read More

धनुषामा २६ दिनमा ८१ लाखभन्दा बढीको अवैध सामान बरामद

काठमाडौं। भन्सार चोरीपैठारी नियन्त्रण अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो २६ दिनमा ८१ लाख सात हजार ७८६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साउन १ देखि २६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा गरिएको कारबाहीका क्रममा उक्त सामान बरामद गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार अवैध सामान बरामद गर्ने क्रममा पाँच जनालाई पक्राउ गरिएको छ। प्रहरीले भन्सार छली तथा चोरीपैठारी नियन्त्रणका लागि जिल्लाका विभिन्न क्षेत्रमा निगरानी र कारबाहीलाई तीव्रता दिएको जनाएको छ।

सोही अवधिमा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा २४ जना पक्राउ परेका छन्। उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी १९ वटा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। कारबाहीका क्रममा ३४ किलो गाँजा, १८५.८२ ग्राम खैरो हेरोइन, २४३ थान नाइट्रोजेपाम, पाँच थान स्पास्मोरेटल, १४ थान एन्टिकफ ट्याब्लेट र नौ थान कोलिबेन बरामद गरिएको छ।

प्रहरीका अनुसार सो अवधिमा हातहतियारसम्बन्धी एउटा मुद्दा पनि दर्ता भएको छ। घटनामा तीन जना पक्राउ परेका छन्। उनीहरूबाट एक थान पेस्तोल, एक थान पेस्तोलको म्यागजिन, ७.६५ केएफ लेखिएको एक थान गोली र नौ एमएम केएफ लेखिएको एक राउन्ड गोलीसहित पाँच थान सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले अभियानलाई तीव्र बनाएको छ। साउन १ देखि २६ गतेसम्म विभिन्न अदालतबाट जारी भएका ४१० वटा पक्राउ पुर्जी कार्यान्वयन गरिएको छ।

अदालतबाट फैसला भएका व्यक्तिमाथि कारबाही गर्दै १५८ वर्ष आठ महिना सात दिन कैद सजाय कार्यान्वयन गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए। सोही क्रममा ६३ लाख ७७ हजार २६१ रुपैयाँ जरिवानासमेत असुल गरिएको उनले बताए।

सिफारिस गरिएको श्रेणी: Other

Read More

दुई सचिवको राजीनामा स्वीकृत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बाबुराम अधिकारी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. कमलप्रसाद पोख्रेलले पदबाट राजीनामा दिएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै सचिवको राजीनामा स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

साउन १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका डा. पोख्रेलले जिम्मेवारी सम्हालेको दुई सातामै राजीनामा दिएका हुन्। उनको सेवाअवधि अझै करिब एक वर्ष बाँकी थियो। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुखबाट सञ्चार मन्त्रालयमा सरुवा गरिएपछि उनी उक्त निर्णयप्रति असन्तुष्ट रहेको बताइएको छ।

यसैगरी, आगामी भदौ ४ गते अनिवार्य अवकाशमा जान लागेका सचिव बाबुराम अधिकारीले पनि अवकाशको मिति आउनुअघि नै राजीनामा दिएका छन्। बागमती प्रदेशको प्रमुख सचिवका रूपमा कार्यरत अधिकारीलाई अवकाशको समय नजिकिँदै गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त समूहमा ल्याइएको थियो। उनले अनिवार्य अवकाशको करिब दुई साताअघि नै पदबाट राजीनामा दिएका हुन्।

सरकारले ५५ वर्ष उमेर पूरा गरेका र ३० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्थासहित संघीय निजामती सेवा विधेयकको मस्यौदा अघि बढाएपछि उच्च तहका कर्मचारीको राजीनामाको क्रम बढेको बताइएको छ।

राष्ट्रिय किताबखानाको अभिलेखअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा दुई तिहाइको सरकार गठन भएपछि हालसम्म करिब एक दर्जन सहसचिव, तीन दर्जन उपसचिव तथा ठूलो सङ्ख्यामा अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारीले राजीनामा दिएका छन्।

सिफारिस गरिएको श्रेणी: Government

Read More

‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ नारासहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै

काठमाडौं। युवाको सहभागिता, नेतृत्व र योगदानलाई प्राथमिकतामा राख्दै आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ। यस वर्ष ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो। युवाका समस्या, सम्भावना र भविष्यका अवसरबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बहस र पैरवी गर्ने उद्देश्यले प्रत्येक वर्ष अगस्ट १२ मा यो दिवस मनाउने गरिन्छ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००० देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो। दिवसले युवालाई नीति निर्माण र त्यसको कार्यान्वयनमा अर्थपूर्ण रूपमा सहभागी गराउने, युवामैत्री शासन प्रणालीको विकास गर्ने तथा युवा लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउने विषयमा जोड दिँदै आएको छ।

यस अवसरमा आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोह आयोजना हुँदैछ। समारोहमा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसँग सम्बन्धित प्रदर्शनी राखिनेछ। युवामा उद्यमशीलता र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिँदैछ।

युवा सहभागिता र जागरणलाई थप प्रभावकारी बनाउन बिहान भृकुटीमण्डपदेखि कमलादीसम्म युवा जागरण दौड आयोजना गरिनेछ। मूल समारोहमा ‘नेपालमा युवा उद्यमशीलता र रोजगारी प्रवर्द्धन’ विषयमा उच्चस्तरीय प्यानल छलफलसमेत हुने कार्यक्रम रहेको छ।

दिवसकै अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारअन्तर्गत विभिन्न छ वटा व्यवसायलाई सम्मान गरिनेछ। त्यसैगरी सातै प्रदेशबाट छनोट भएका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको छ।

अन्तर्राष्ट्रिय युवा दिवस युवाका अधिकार, अवसर र सहभागिताका विषयमा साझा आवाज निर्माण गर्ने विश्वव्यापी अभियानका रूपमा लिइन्छ। यसले नीति निर्माणमा युवाको भूमिका बढाउनुका साथै सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबीच युवा केन्द्रित कार्यक्रमका लागि सहकार्य र साझेदारी विस्तार गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच सहकार्य, एकता र पारस्परिक सम्मान कायम गर्दै युवाका साझा आकाङ्क्षा पूरा गर्ने दिशामा अघि बढ्नुपर्ने सन्देश पनि दिवसले दिएको छ।

राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा साउन १ गते बसेको बैठकले यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसलाई विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको थियो।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको सङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ रहेको छ। यो कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत हो। देशको जनसाङ्ख्यिक संरचनामा ठूलो हिस्सा ओगट्ने युवालाई राष्ट्र निर्माणको महत्वपूर्ण शक्तिका रूपमा लिइन्छ। युवा जनशक्तिको क्षमता, ऊर्जा र सिर्जनशीलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न सके देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ।

सिफारिस गरिएको श्रेणी: Other

Read More

आज सात संसदीय समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद्का विभिन्न सात वटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार अर्थ, उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो।

बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवम् कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३’ को प्रतिवेदन पेस गरी छलफल गरिने कार्यसूची छ।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, सोका समस्या एवं चुनौती तथा आयोगका सिफारिस कार्यान्वयनको अवस्था’ का विषयमा छलफल हुनेछ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। बैठकमा बाल गृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था र अनुगमनबाट प्राप्त निष्कर्षका विषयमा छलफल गरिनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान ११ बजे बस्ने बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता, तिनको कार्यान्वयनको अवस्था र कार्यान्वयनका लागि नेपाल सरकारबाट भएका कामकारबाहीका विषयमा छलफल हुनेछ।

सोही समितिको बैठकमा संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारीबारे सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रमसमेत रहेको छ।

अपराह्न १ बजे सार्वजनिक लेखा समितिको बैठक बस्नेछ। बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीमाथि छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सिफारिस गरिएको श्रेणी: Politics (राजनीति)

Read More