२०८३ भाद्र ३१

कृष्णभीरमा नयाँ ट्रयाक निर्माण पूरा, भोलिदेखि सवारी चल्ने

काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा–मुग्लिन खण्डअन्तर्गत कृष्णभीरमा नयाँ ट्रयाक खोल्ने काम पूरा भएको छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अब भोलिदेखि उक्त सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुनेछन्।

भित्तातर्फको कटिङ र सडक सम्याउने काम सकिएपछि आइतबार केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो। परीक्षण सफल भएपछि नियमित यातायात सञ्चालनका लागि आवश्यक काम पूरा गरिएको कार्यालयले जनाएको छ।

तीन सय मिटर नयाँ सडक तयार

कृष्णभीरमा करिब ३०० मिटर लामो नयाँ ट्रयाक निर्माण गरिएको छ। ट्रयाकको सडक चौडाइ सात मिटर रहेको छ भने नालीसहित संरचनाको कुल चौडाइ करिब साढे सात मिटर छ।

निर्माणको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। काममा करिब ४०–५० जना दक्ष तथा अदक्ष श्रमिक खटिएका थिए।

Read More

हेटौँडामा गुडिरहेका बसमा ढुंगा प्रहार, एक यात्रु घाइते

काठमाडौं । मकवानपुरको हेटौँडा–३ बसामाडी नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा गुडिरहेका चारवटा बसमाथि ढुंगा प्रहार भएको छ। घटनामा एक यात्रु घाइते भएकी छन्।

बुधबार बिहान करिब २ः१५ बजे भैरहवाबाट काठमाडौं आउँदै गरेको बा.प्र.०३–००१ ख १६४२ नम्बरको बसमा ढुंगा प्रहार हुँदा सिसा फुटेको थियो। ढुंगा लागेर रुपन्देहीको ओमसतिया–६ की २१ वर्षीया लक्ष्मी कुमारी चौधरी घाइते भएको प्रहरीले जनाएको छ।

टाउकोमा चोट लागेकी चौधरीको मकवानपुर सहकारी अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको अवस्था मध्यम छ र उनी बोल्न सक्ने अवस्थामा छन्।

पाँच जना नियन्त्रणमा

घटनामा संलग्न भएको आशंकामा प्रहरीले ६ जनामध्ये पाँच जनालाई नियन्त्रणमा लिएको छ। एक जना भने फरार रहेकाले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

घटनाको कारण तथा संलग्न व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

भोटेकोशी बाढी : १ हजार ४०३ शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीपछि बुधबार बिहान ८ बजेसम्म विभिन्न जिल्लाबाट १ हजार ४०३ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट संकलन भएका शवमध्ये अधिकांश विभिन्न जिल्लामा फेला परेका हुन्।

रसुवामा १९३, नुवाकोटमा २०२, धादिङमा ७२, चितवनमा ३६४, गोरखामा ७८, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३२ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको विवरण छ। काठमाडौंमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको जनाइएको छ।

१ हजार २३५ शव व्यवस्थापन

शव पहिचानका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै हालसम्म १ हजार २३५ शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ। पहिचानका क्रममा मृतकका १ हजार २८६ र आफन्तका १ हजार ९०४ गरी कुल ३ हजार १९० वटा डिएनए नमुना संकलन गरिएको छ।

पहिचान हुन बाँकी १ हजार ३६१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ।

चार हजारभन्दा बढी बेपत्ता

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत तथा शव व्यवस्थापनका लागि ७ हजार ९७५ प्रहरी परिचालन गरिएको छ। हालसम्म बेपत्ता रहेका ४ हजार ८९ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा २ हजार ८४ जनालाई राखिएको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको छ।

Read More

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

प्रधानमन्त्री कार्यालयका अनुसार बैठकमा समसामयिक विषयसँगै सरकारका नियमित कार्यसूचीमाथि छलफल हुनेछ। बैठकले आवश्यक निर्णयसमेत गर्ने जनाइएको छ।

Read More

बाढी र पहिरोले बागमती र कर्णालीका राजमार्ग प्रभावित

काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। केही सडकखण्डमा आवागमन पूर्ण रूपमा रोकिएको छ भने केही स्थानमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ।

काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा अर्को सूचना नभएसम्म यातायात प्रभावित रहने जनाइएको छ। राति ७ बजेदेखि बिहान ४ बजेसम्म केही मालवाहक सवारीसाधनमा रोक लगाइएको छ भने सडकको अवस्थाअनुसार अन्य सवारी सञ्चालन गरिनेछ।

रसुवा र नुवाकोटमा सडक अवरुद्ध

रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा बन्द रहेको छ। सडक पुनः सञ्चालनबारे अर्को सूचना जारी नभएसम्म आवागमन खुला नहुने जनाइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा सवारी आवागमन रोकिएको छ। शिवपुरी–८ क्षेत्रमा राति १० बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ। विदुर–१० सिमटारमा पासाङल्हामु सडकखण्डसमेत पूर्ण रूपमा अवरुद्ध रहेको छ।

धादिङ र चितवनमा एकतर्फी आवागमन

धादिङको पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण यातायात प्रभावित भएको छ। केही स्थानमा सडक बन्द रहे पनि कतिपय खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा सडक भासिने तथा क्षति पुग्ने समस्या देखिएपछि सवारीको चाप र सडकको अवस्थाअनुसार एकतर्फी यातायात सञ्चालन गरिएको छ।

कर्णाली करिडोर पनि अवरुद्ध

कर्णाली प्रदेशको हुम्लास्थित सर्केगाड गाउँपालिका–५ मा कर्णाली करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ।

वर्षा, बाढी र पहिरोको जोखिम कायम रहेकाले सम्बन्धित निकायले सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउनसमेत अनुरोध गरिएको छ।

Read More

सर्वदलीय बैठक बस्दै, विपद् व्यवस्थापनमा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सर्वदलीय बैठक बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको छ।

रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुनेछ। विपद्का बेला राजनीतिक दलबीच समन्वय र व्यवस्थापनका विषयमा बैठक केन्द्रित रहने जनाइएको छ।

Read More

बैतडीमा काम अलपत्र पार्ने १० सडक ठेक्का रद्द

काठमाडौं । तोकिएको अवधिमा सडक निर्माण तथा मर्मतको काम पूरा नगरेका बैतडीका १० वटा ठेक्का सम्झौता रद्द गरिएको छ। सडक डिभिजन पाटनले म्याद सकिएपछि पनि काम सम्पन्न नभएका आयोजनाका सम्झौता खारेज गरेको हो।

सडक डिभिजन कार्यालय बैतडीका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम सम्झौता अन्त्य गरिएको हो। रद्द भएका ठेक्कामा सडक स्तरोन्नति, पुनस्र्थापना, सतह मर्मत, संरचना मर्मत तथा सडक सुरक्षा कार्यसम्बन्धी आयोजना छन्।

रद्द ठेक्काको सूची

अनारखोली–खोड्पे–पाटन, खोड्पे–चैनपुर, मध्यपहाडी राजमार्ग तथा सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गतका विभिन्न कामका ठेक्का सम्झौता रद्द भएका छन्। सडक डिभिजनका अनुसार निर्माणको प्रगति न्यून रहेका र तोकिएको समयभित्र काम नसकिएका आयोजनामाथि यस्तो निर्णय गरिएको हो।

न्यु सहारा कन्स्ट्रक्सनको अनारखोली–खोड्पे–पाटन सडकखण्डको संरचना मर्मत तथा जयलक्ष्मी निर्माण सेवाको खोड्पे–चैनपुर सडक स्तरोन्नति तथा पुनस्र्थापनाको ठेक्का रद्द गरिएको छ।

प्रभास कन्स्ट्रक्सनका तीनवटा ठेक्का पनि खारेज भएका छन्। ती ठेक्का खोड्पे–चैनपुर सडकको मर्मत तथा स्तरोन्नति, सडक सतह मर्मत र सडक सुरक्षा कार्यसँग सम्बन्धित छन्।

श्री नरेन्द्र निर्माण सेवा, कुलगडे निर्माण सेवा, बिग बी एन्ड कम्पनी प्रालि र रन्सैनी निर्माण सेवाका विभिन्न सडकसम्बन्धी ठेक्का पनि रद्द गरिएको छ। कुलगडे निर्माण सेवाका ठेक्का मध्यपहाडी राजमार्ग तथा सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकको सडक सुरक्षा कार्यसँग सम्बन्धित छन्।

बिग बी एन्ड कम्पनीको खोड्पे–चैनपुर सडक पुनस्र्थापनाको तथा रन्सैनी निर्माण सेवाको मध्यपहाडी र महाकाली राजमार्गअन्तर्गत प्रतिक्रियात्मक मर्मतसम्बन्धी ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ।

सम्झौता रद्द भएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार कालोसूचीमा राख्न सिफारिस गरिने सडक डिभिजन कार्यालयले जनाएको छ। सम्झौताअनुसार कार्यसम्पादन जमानत तथा धरौटीबापतको बाँकी रकममध्ये जमानत रकमसमेत नियमानुसार जफत गरिने बताइएको छ।

Read More

हुलाकमार्फत गोरखाका ५५० जनाको घरमा पुग्यो राहदानी

काठमाडौं । गोरखामा हुलाक सेवामार्फत घरमै राहदानी उपलब्ध गराउने व्यवस्था प्रभावकारी देखिएको छ। वैशाख १५ गतेदेखि सुरु भएको सेवामा ६०० जनाले घरमै राहदानी मगाउन आवेदन दिएकामा हालसम्म ५५० जनाले प्राप्त गरिसकेका छन्।

जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच भएको सहकार्यपछि प्रशासन कार्यालयमै हुलाकको काउन्टर राखेर सेवा दिइँदै आएको हो। राहदानीका लागि आवेदन दिने क्रममा सेवाग्राहीले कार्यालयबाट लिने वा आफ्नो ठेगानामै मगाउने विकल्प रोज्न सक्छन्।

५५ रुपैयाँको टिकटमै घरसम्म सेवा

घरमै राहदानी चाहने सेवाग्राहीको सम्पर्क र ठेगानासहितका विवरण हुलाक काउन्टरमा दर्ता गरिन्छ। काठमाडौंमा तयार भएको राहदानी जिल्ला प्रशासन कार्यालयमा आइपुगेपछि हुलाकमार्फत सम्बन्धित सेवाग्राहीलाई पठाइन्छ।

घरमै पुर्‍याउने सेवाका लागि ५५ रुपैयाँको हुलाक टिकटबाहेक थप शुल्क नलाग्ने कार्यालयले जनाएको छ। राहदानी हुलाक कार्यालयको जिम्मामा आएपछि सामान्यतया तीन दिनभित्र सम्बन्धित ठेगानामा पुर्‍याउने गरिएको छ।

दुर्गम क्षेत्रमा सेवा पुर्‍याउन चुनौती

चुमनुब्री र धार्चे गाउँपालिकामा समेत हुलाकमार्फत घरमै राहदानी पुर्‍याउने सेवा सञ्चालनमा छ। यद्यपि, चुमनुब्रीको केन्द्र फिलिमभन्दा माथिका बस्तीमा भौगोलिक विकटता, जनशक्ति र स्रोतसाधनको सीमितताका कारण सेवा विस्तार गर्न कठिनाइ रहेको कार्यालयले जनाएको छ।

पालुङटार, सहिदलखन र आरुघाट क्षेत्रका अधिकांश सेवाग्राहीले भने घरमै राहदानी बुझ्ने सेवा प्रयोग गरिरहेको जिल्ला हुलाक कार्यालयले जनाएको छ।

Read More

मुगुमा लगातार दुई पटक भूकम्प

काठमाडौं । मुगुको कलाई आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुवै भूकम्प केही घण्टाको अन्तरमा गएका हुन्।

पहिलो भूकम्प बिहान १ः५१ बजे ४.५ म्याग्निच्युडको थियो। त्यसपछि बिहान ४ः२८ बजे सोही क्षेत्र आसपास केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ।

यसअघि भदौ २६ गते जाजरकोटको कालसेनी आसपास केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

Read More

पेट्रोलियम पदार्थको मूल्य तत्काल नबढाउने आयल निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको हाल कायम खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिने भएको छ। इण्डियन आयल कर्पोरेसन (आईओसी) बाट खरिद मूल्य बढेर आए पनि उपभोक्तालाई तत्काल थप भार नपार्ने निर्णय निगमले गरेको हो।

भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको ४ रुपैयाँ ६८ पैसा बढेको निगमले जनाएको छ। तर, भोटेकोशी नदीको बाढीपछि सिर्जित परिस्थितिलाई ध्यानमा राख्दै भदौ ३१ गतेदेखि लागू हुने गरी खुद्रा मूल्य यथावत् राखिएको हो।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढिरहे पनि स्वचालित मूल्य समायोजन नगर्दा आगामी १५ दिनमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ।

निगमले अन्तर्राष्ट्रिय बजारको मूल्यअनुसार नियमित रूपमा समायोजन गर्दै आएको भए पनि विपद्पछिको अवस्थालाई मध्यनजर गर्दै यसपटक मूल्य वृद्धि नगर्ने निर्णय गरेको जनाएको छ।

Read More