काठमाडौं । तोकिएको अवधिमा सडक निर्माण तथा मर्मतको काम पूरा नगरेका बैतडीका १० वटा ठेक्का सम्झौता रद्द गरिएको छ। सडक डिभिजन पाटनले म्याद सकिएपछि पनि काम सम्पन्न नभएका आयोजनाका सम्झौता खारेज गरेको हो।
सडक डिभिजन कार्यालय बैतडीका अनुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (७) बमोजिम सम्झौता अन्त्य गरिएको हो। रद्द भएका ठेक्कामा सडक स्तरोन्नति, पुनस्र्थापना, सतह मर्मत, संरचना मर्मत तथा सडक सुरक्षा कार्यसम्बन्धी आयोजना छन्।
रद्द ठेक्काको सूची
अनारखोली–खोड्पे–पाटन, खोड्पे–चैनपुर, मध्यपहाडी राजमार्ग तथा सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकखण्डअन्तर्गतका विभिन्न कामका ठेक्का सम्झौता रद्द भएका छन्। सडक डिभिजनका अनुसार निर्माणको प्रगति न्यून रहेका र तोकिएको समयभित्र काम नसकिएका आयोजनामाथि यस्तो निर्णय गरिएको हो।
न्यु सहारा कन्स्ट्रक्सनको अनारखोली–खोड्पे–पाटन सडकखण्डको संरचना मर्मत तथा जयलक्ष्मी निर्माण सेवाको खोड्पे–चैनपुर सडक स्तरोन्नति तथा पुनस्र्थापनाको ठेक्का रद्द गरिएको छ।
प्रभास कन्स्ट्रक्सनका तीनवटा ठेक्का पनि खारेज भएका छन्। ती ठेक्का खोड्पे–चैनपुर सडकको मर्मत तथा स्तरोन्नति, सडक सतह मर्मत र सडक सुरक्षा कार्यसँग सम्बन्धित छन्।
श्री नरेन्द्र निर्माण सेवा, कुलगडे निर्माण सेवा, बिग बी एन्ड कम्पनी प्रालि र रन्सैनी निर्माण सेवाका विभिन्न सडकसम्बन्धी ठेक्का पनि रद्द गरिएको छ। कुलगडे निर्माण सेवाका ठेक्का मध्यपहाडी राजमार्ग तथा सतबाँझ–गोकुलेश्वर–दार्चुला सडकको सडक सुरक्षा कार्यसँग सम्बन्धित छन्।
बिग बी एन्ड कम्पनीको खोड्पे–चैनपुर सडक पुनस्र्थापनाको तथा रन्सैनी निर्माण सेवाको मध्यपहाडी र महाकाली राजमार्गअन्तर्गत प्रतिक्रियात्मक मर्मतसम्बन्धी ठेक्का सम्झौता अन्त्य गरिएको कार्यालयले जनाएको छ।
सम्झौता रद्द भएका निर्माण व्यवसायीलाई सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार कालोसूचीमा राख्न सिफारिस गरिने सडक डिभिजन कार्यालयले जनाएको छ। सम्झौताअनुसार कार्यसम्पादन जमानत तथा धरौटीबापतको बाँकी रकममध्ये जमानत रकमसमेत नियमानुसार जफत गरिने बताइएको छ।




