२०८३ जेष्ठ १४

अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको इरानको दाबी

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले अमेरिकी सैन्य अड्डामाथि आक्रमण गरेको दाबी गरेको छ । इरानी सरकारी निकट सञ्चारमाध्यमका अनुसार उक्त सैन्य अड्डाबाट बिहीबार बिहान इरानी लक्ष्यमा अमेरिकी आक्रमण गरिएको भन्दै त्यसको जवाफस्वरूप कारबाही गरिएको हो ।

रिभोलुसनरी गार्डले कुन अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको हो भन्ने खुलाएको छैन । अमेरिकाका मध्यपूर्व क्षेत्रका विभिन्न देशमा सैन्य अड्डा रहेका छन् ।

फार्स समाचार संस्थाले रिभोलुसनरी गार्डको जनसम्पर्क कार्यालयलाई उद्धृत गर्दै प्रकाशित गरेको विवरणअनुसार बन्दर अब्बास विमानस्थल बाहिरको क्षेत्रमा अमेरिकी सेनाले बिहीबार बिहान हवाई प्रक्षेपास्त्रमार्फत आक्रमण गरेको थियो । त्यसपछि बिहान ४ बजेर ५० मिनेटमा उक्त आक्रमणको स्रोत मानिएको अमेरिकी सैन्य अड्डालाई निशाना बनाइएको जनाइएको छ ।

रिभोलुसनरी गार्डले आफ्नो प्रतिक्रिया अमेरिकाका लागि ‘गम्भीर चेतावनी’ भएको उल्लेख गर्दै अमेरिकी आक्रमणको जवाफ नदिइने अवस्था नरहेको चेतावनी दिएको छ ।