काठमाडौँ । कोशी प्रदेशमा किसानलाई अनुदानमा रासायनिक मल उपलब्ध गराउन ‘रासायनिक मल अनुदान निर्देशिका–२०८२’ लागू गरिने भएको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, कोशी प्रदेश कार्यालयका प्रमुख कमल पोखरेलका अनुसार स्थानीय तहका उपाध्यक्ष, कृषि विकास अधिकृत तथा प्रशासकीय अधिकृत सम्मिलित समितिको निर्णयका आधारमा रासायनिक मल वितरण प्रक्रिया अघि बढाइनेछ।
निर्देशिकाअनुसार कोशी प्रदेशका १४ जिल्ला तथा मधेश प्रदेशका सिरहा र सप्तरी जिल्लामा मौज्दात रहेका विभिन्न प्रकारका रासायनिक मल किसानलाई अनुदानमा बिक्री गरिनेछ। कम्पनीका अनुसार कुल १५ हजार ९२१ मेट्रिक टन मल तथा कृषि चुन वितरणका लागि तयारी गरिएको छ।
उपलब्ध मौज्दातमध्ये डिएपी एक हजार ८२९ मेट्रिक टन, युरिया १० हजार ८४२ मेट्रिक टन, पोटास तीन हजार ९१ मेट्रिक टन तथा कृषि चुन १५९ मेट्रिक टन रहेको छ।
निर्धारित बिक्री मूल्यअनुसार ५० केजीको एक बोरा डिएपी दुई हजार २०० रुपैयाँ, ५० केजीको युरिया ७५० रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ। पोटास र कृषि चुनको मूल्यसम्बन्धी विवरण भने कम्पनीले छुट्टै सार्वजनिक गर्ने जनाएको छ।
कम्पनीका अनुसार नयाँ निर्देशिकाले मल वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।



