काठमाडौं। रौतहटको गरुडा नगरपालिका–९ गम्हरियाका एक युवकले आत्मदाहको प्रयास गरेका छन्। २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गरुडा–९ का वडाध्यक्ष राजेश सहनीका अनुसार गौतम केही समयदेखि मानसिक तनावमा रहेको बताइएको छ। उनी गरुडा बजारस्थित झाझ पुल नजिकै छाप्रे होटल सञ्चालन गर्दै आएका थिए। उक्त व्यवसायबाट उनले आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएका थिए।
घटनापछि परिवारका सदस्यले उनलाई तत्काल स्थानीय अस्पताल पुर्याएका थिए। प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
यसअघि सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले पनि आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको काठमाडौंस्थित बर्न अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको थियो।
मानसिक तनाव वा संकटको अवस्थामा रहेका व्यक्तिलाई परिवार, साथीभाइ वा स्वास्थ्यकर्मीसँग सहयोग लिन विज्ञहरूले सुझाव दिँदै आएका छन्।




