२०८३ भाद्र ३१

वर्षाका कारण नौ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, प्रमुख राजमार्गमा आवागमन प्रभावित

काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरो र नदी कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। नेपाल प्रहरीले आज बिहान ६ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै हाल नौ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै दैनिक साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

त्यसैगरी, कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध कायम गरिएको छ।

इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत जिरोकिलो र कोदारी क्षेत्रमा गएको पहिरोले अरनिको राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन्।