काठमाडौं। अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण बाजुराको सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सेलागाडमा १६ घरपरिवार प्रभावित भएका छन्।
बिहीबार रातिदेखि परेको निरन्तर वर्षापछि शुक्रबार बिहान करिब साढे ४ बजे बस्तीमाथिबाट आएको पहिरो र लेदोसहितको पानी घरभित्र पसेपछि स्थानीयका घरमा क्षति पुगेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। सुरक्षाकर्मीले प्रभावित परिवारका खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडालगायत सामग्री सुरक्षित स्थानमा सारेका छन्।
बाढीपहिरोका कारण त्रसित भएर बेहोस भएकी बडीमालिका नगरपालिका–९ की ३० वर्षीया महिलालाई सुरक्षाकर्मीले उद्धार गरी जिल्ला अस्पताल मार्तडीमा उपचारका लागि पठाएका छन्।
प्रहरीका अनुसार प्रभावितमध्ये तीनवटा घर उच्च जोखिममा छन् भने अन्य १३ वटा घर जोखिममा रहेका छन्। घटनामा मानवीय तथा चौपाया क्षति भने भएको छैन।
बाढीपहिरोले सेलागाड क्षेत्रको खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुर्याएको छ। यस्तै, बडीमालिका–८ राप्कास्थित टोट्के सिँचाइ नहरको २३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर बगाएको छ।
यसैबीच, वर्षाका कारण साँफे–मार्तडी सडकखण्डअन्तर्गत मार्तडीस्थित जिल्ला कारागारदेखि जडाङ्गासम्म विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। सडक बन्द हुँदा यात्रु र सवारीसाधन बाटोमै रोकिएका छन्।
सडक डिभिजन कार्यालय साँफेबगरको डोजर प्रयोग गरी पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। जिल्लाका अन्य क्षेत्रमा समेत वर्षाका कारण क्षति भएको हुन सक्ने भन्दै प्रहरी र स्थानीय तहसँग समन्वय भइरहेको छ।




