काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिन नजिक सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ।
इच्छाकामना गाउँपालिका–५ स्थित खहरे खोलामा आज बिहान करिब ८ः३० बजे माथिबाट ढुङ्गासहित सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि आज दिउँसो १ः१५ बजेदेखि सडक दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
यसअघि बिहान ११ः१५ बजेदेखि सडक एकतर्फी खुलाएर एम्बुलेन्स तथा मोटरसाइकललाई आवागमन गर्न दिइएको थियो। पहिरो हटाउन नारायणगढबाट लोडर, स्काभेटर र ब्याकहो तथा मुग्लिनबाट समेत लोडर परिचालन गरिएको थियो।
प्रहरीका अनुसार करिब ४० मिटर माथिबाट खसेको पहिरो पूर्ण रूपमा पन्छाइएपछि सडकमा रोकिएका सवारीसाधनहरू गन्तव्यतर्फ अघि बढिसकेका छन्।



