काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ आधार शिविरमा हिउँपहिरोमा परी बेपत्ता भएका गोरखाका दुई जनाको शव फेला परेको छ ।
धार्चे गाउँपालिका–२ केरौंजाका ३२ वर्षीय वीरेन्द्र गुरुङको शव सोमबार नै फेला परेको थियो भने ४५ वर्षीय आशबहादुर गुरुङको शव बुधबार दिउँसो भेटिएको आफन्त अर्जुन गुरुङले जानकारी दिए ।
वीरेन्द्रको शव शिक्षण अस्पतालमा पोस्टमार्टमपछि बिहीबार गाउँ ल्याउने तयारी गरिएको छ । आशबहादुरको शव भने हाल मनाङमै रहेको जनाइएको छ ।
हिमलुङ आधार शिविरमा गत आइतबार हिउँपहिरो गएपछि उनीहरू सम्पर्कविहीन भएका थिए । वीरेन्द्र हिमालयन होलिडेज कम्पनीमा बेसक्याम्प सहयोगीका रूपमा कार्यरत थिए । आशबहादुर भने इम्याजिन नेपाल एक्सपिडिशन प्रालिमार्फत गाइड तथा कुकम्यानका रूपमा काम गर्न हिमलुङ आधार शिविर पुगेका थिए ।
दुवै जनाको शव भेटिएपछि आफन्तले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अन्त्येष्टिको तयारी थालेका छन् ।



