२०८३ जेष्ठ १४

माथिल्लो त्रिशूली–१ जलविद्युतको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सम्पन्न

काठमाडौँ ।  माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको बाँधमा वियर गेट जडान तथा परीक्षण सञ्चालन सफलतापूर्वक सम्पन्न भएको छ । २१६ मेगावाट क्षमताको यो आयोजना प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो जलविद्युत आयोजनामध्ये एक मानिन्छ ।

कोरियाली कम्पनीहरूको अगुवाइमा निर्माण भइरहेको आयोजनाको बाँध क्षेत्रमा तीनवटा वियर गेटमध्ये एकको जडान र परीक्षण गरिएको हो । बिहीबार आयोजित कार्यक्रममा रसुवाका संघीय सांसद मोहन आचार्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सागरराज गौतम, कोरियाली साउथ–इस्ट पावर कम्पनीका कार्यकारी उपसभापति योङ कि ली, नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङ तथा विद्युत विकास विभागकी महानिर्देशक मनदेवी श्रेष्ठलगायत सहभागी थिए ।

वियर गेट जलविद्युत आयोजनाको महत्वपूर्ण हाइड्रो–मेकानिकल संरचना हो । यसले नदीको पानीको बहाव नियन्त्रण गर्दै आवश्यक मात्रामा सुरुङतर्फ मोड्ने, बाँधमा पानीको सतह स्थिर राख्ने र बढी पानीलाई सुरक्षित रूपमा नदीमा फर्काउने काम गर्छ। प्राविधिक मापदण्डअनुसार जडान तथा परीक्षण सफल भएपछि आयोजनाको निर्माण कार्यले थप गति लिने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै सांसद मोहन आचार्यले प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको आयोजना समयमै सम्पन्न गर्न आफ्नो तर्फबाट सहयोग रहने बताए । उनले आयोजना प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार तथा जीविकोपार्जन सुधारका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव पनि दिए ।

ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमले वियर गेट जडान सम्पन्न हुनु प्राविधिक दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताउँदै आयोजनालाई समयमै सम्पन्न गर्न मन्त्रालयले आवश्यक समन्वय गर्ने जानकारी दिए ।

कोरियाली साउथ–इस्ट पावर कम्पनीका कार्यकारी उपसभापति योङ कि लीले आयोजनालाई तोकिएको लागत र समयमै सम्पन्न गर्न कम्पनी प्रतिबद्ध रहेको बताए। उनले नेपाल जलविद्युत क्षेत्रमा लगानीका लागि अत्यन्तै सम्भावनायुक्त देश भएको उल्लेख गर्दै भविष्यमा थप लगानी विस्तार गर्ने संकेत पनि दिए ।

नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङले यो आयोजना सम्पन्न भएपछि नेपाल–कोरिया ऊर्जा सहकार्य अझै मजबुत हुने बताए। उनले आयोजनाले नेपालको ऊर्जा उत्पादन, आपूर्ति सुरक्षा र आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वियर गेट जडान सम्पन्न हुनु ठूलो प्राविधिक उपलब्धि भएको बताए। उनले आयोजना समयमै सम्पन्न गर्न सबै पक्ष प्रतिबद्ध रहेको जानकारी दिए ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँध तथा संरचना निर्माण भइरहेको छ भने उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युतगृह निर्माण भइरहेको छ। उत्पादन हुने विद्युत आन्तरिक खपतका लागि प्रयोग गरिनेछ।

आयोजनाको मुख्य निर्माण कार्य सन् २०७८ पुसबाट सुरु भएको हो। हालसम्म ९.५ किलोमिटर लामो मुख्य सुरुङ निर्माण सम्पन्न भई कंक्रिट लाइनिङ भइरहेको छ। २९२ मिटर लामो ठाडो सुरुङ निर्माण कार्य पनि पूरा भइसकेको छ। विद्युतगृहको सिभिल संरचना सम्पन्न भइसकेको छ भने टर्वाइन र जेनेरेटर जडान लगायत इलेक्ट्रो–मेकानिकल काम जारी छ।

आयोजनाको समग्र भौतिक प्रगति करिब ८२ प्रतिशत पुगेको छ। उपकरण जडान कार्य सन् २०२६ डिसेम्बरसम्म पूरा गर्ने लक्ष्य राखिएको छ भने सम्पूर्ण आयोजना सन् २०२७ को मध्यसम्म सम्पन्न गर्ने योजना छ। सन् २०२४ र २०२५ मा आएको त्रिशूली नदीको बाढीका कारण केही ढिलाइ भए पनि अहिले निर्माण कार्य तीव्र रूपमा अघि बढिरहेको छ।

आयोजनाबाट वार्षिक करिब १ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुने अनुमान गरिएको छ। यसमध्ये करिब ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ। उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

काठमाडौँ नजिकको लोड सेन्टरमा रहेको र हिउँदमा समेत करिब १०४ मेगावाट स्थिर ऊर्जा उत्पादन गर्न सक्ने भएकाले यो आयोजना राष्ट्रिय ऊर्जा प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।

आयोजनाले स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सुधार, सांस्कृतिक संरक्षण, जीविकोपार्जन तथा रोजगारी सिर्जनामा सहयोग गर्दै आएको छ। हालसम्म करिब २३ करोड ६० लाख रुपैयाँभन्दा बढी सामाजिक उत्तरदायित्व कार्यक्रमका लागि खर्च गरिएको छ। साथै स्थानीयका लागि सीपमूलक तालिम तथा रोजगारी कार्यक्रम पनि सञ्चालनमा छन्।