२०८३ जेष्ठ १४

दक्षिण एसियामा वनक्षेत्रमा नेपाल दोस्रो स्थानमा, भुटान शीर्षमा

काठमाडौँ । दक्षिण एसियाका आठ मुलुकमध्ये वन क्षेत्रको अनुपातमा भुटान पहिलो स्थानमा रहेको छ भने नेपाल दोस्रो स्थानमा रहेको आर्थिक सर्वेक्षणले देखाएको छ। बुधबार सार्वजनिक आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार क्षेत्रीय वन आवरणमा उल्लेखनीय अन्तर देखिएको छ।

विश्वको कुल भूभागमध्ये करिब ३२ प्रतिशत भूभाग वनले ढाकेको छ। दक्षिण एसियाली मुलुकहरूबीच तुलना गर्दा भुटानमा सबैभन्दा बढी वन क्षेत्र ६९ दशमलव ७१ प्रतिशत रहेको छ भने नेपाल ४६ दशमलव शून्य आठ प्रतिशतसहित दोस्रो स्थानमा रहेको छ।

दक्षिण एसियाली देशहरूमा वन क्षेत्रको स्थिति

देशवन क्षेत्र (प्रतिशत)
भुटान69.71%
नेपाल46.08%
श्रीलङ्का34.1%
चीन22.96%
भारत21.71%
बङ्गलादेश12.8%
पाकिस्तान4.8%
माल्दिभ्स2.7%
अफगानिस्तान1.9%


आर्थिक सर्वेक्षणअनुसार सन् २०२४ मा नेपालको वन क्षेत्र कुल भू–भागको ४६ दशमलव शून्य आठ प्रतिशत रहेको थियो। यसमध्ये ४३ दशमलव ३८ प्रतिशत वन क्षेत्र र दुई दशमलव सात प्रतिशत झाडी तथा बुट्यान क्षेत्र रहेको उल्लेख गरिएको छ।

नेपालमा वन क्षेत्रको ऐतिहासिक वृद्धि

नेपालमा वन क्षेत्रको विस्तार पछिल्ला दशकहरूमा क्रमिक रूपमा वृद्धि भएको देखिन्छ। सन् १९९० को दशकमा ३९ दशमलव छ प्रतिशत रहेको वन क्षेत्र सन् २०१५ मा ४४ दशमलव ७४ प्रतिशत पुगेको थियो भने सन् २०१९ मा ४५ दशमलव ३१ प्रतिशत पुगेको थियो।

संरक्षित क्षेत्र तथा वन व्यवस्थापन

देशको कुल भू–भागमध्ये ३४ हजार ४२० वर्ग किलोमिटर संरक्षित क्षेत्रका रूपमा कायम गरिएको छ, जुन कुल भू–भागको २३ दशमलव चार प्रतिशत हो।

विवरणपरिमाण
संरक्षित क्षेत्र34,420 वर्ग किमी
कुल भू–भागको हिस्सा23.4%

साथै ११ वन संरक्षण क्षेत्रअन्तर्गत हालसम्म एक लाख ९४ हजार १५६ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ।

समुदाय तथा साझेदारीमा आधारित वन व्यवस्थापन

आर्थिक सर्वेक्षणअनुसार वन व्यवस्थापनमा सामुदायिक तथा साझेदारी मोडेलको उल्लेखनीय योगदान देखिएको छ।

  • मध्यवर्ती तथा संरक्षित क्षेत्रमा ८९९ सामुदायिक वन समूह गठन भएका छन्, जसले करिब दुई लाख २५ हजार आठ हेक्टर क्षेत्रफल ओगटेको छ।
  • ४८ मध्यवर्ती कबुलियति वनमार्फत ५४८ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको छ।
  • २३ हजार १६२ सामुदायिक वन उपभोक्ता समूहमार्फत २५ लाख नौ हजार ८२५ हेक्टर वन क्षेत्र व्यवस्थापन भएको छ।
  • ३३ साझेदारी वन उपभोक्ता समूहमार्फत ४४ हजार ३८४ हेक्टर वन क्षेत्रमा सघन व्यवस्थापन भइरहेको छ।

आर्थिक सर्वेक्षणले नेपालमा सामुदायिक सहभागितामा आधारित वन व्यवस्थापन प्रणालीले वन संरक्षण र दिगो उपयोगमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरेको छ।