२०८३ जेष्ठ १४

दीपक भट्ट प्रकरणमा सीआईबीको ठूलो कदम: ५६ जनाको बैंक खाता र सेयर कारोबार रोक्का

काठमाडौँ । सहकारी ठगी र वित्तीय अनियमिततासम्बन्धी अनुसन्धान तीव्र बनाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ५६ जना व्यक्तिको बैंक खाता र सेयर लगानी विवरण रोक्का गर्न निर्देशन दिएको छ।

सीआईबीले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीसँग जोडिएका सञ्चालक, लगानी समिति सदस्य र पदाधिकारीहरूको सम्पत्ति तथा सेयर कारोबार रोक्का गरी विवरण उपलब्ध गराउन आग्रह गरेको हो।

जेठ ११ गते पठाइएको पत्रमा दीपक भट्टसमेत प्रतिवादी रहेको ठगी मुद्दाको अनुसन्धानका लागि वित्तीय कारोबार, लगानी संरचना र सम्पत्ति प्रवाहबारे विस्तृत जानकारी आवश्यक परेको उल्लेख छ।

रोक्का सूचीमा नेपाल माइक्रो इन्स्योरेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्ससँग आबद्ध विभिन्न सञ्चालक तथा लगानीकर्ताहरू परेका छन्। सीआईबीले उनीहरूको धितोपत्र बजारमा भएका लगानी तथा कारोबारसम्बन्धी विवरण सुरक्षित राख्न पनि निर्देशन दिएको छ।

यसैबीच, हिमालयन लाइफ इन्स्योरेन्ससँग सम्बन्धित थप सञ्चालक तथा लगानी समिति सदस्यहरूमाथि पक्राउ पुर्जी जारी भएको पनि खुलेको छ। अनुसन्धानका लागि उनीहरूलाई प्रहरीसमक्ष उपस्थित हुन आग्रह गरिएको छ।

सीआईबीले सम्बन्धित सबै व्यक्तिहरूलाई कानुनी प्रक्रिया सहयोग गर्न र छानबिनमा सहभागी हुन आग्रह गरेको छ। अनुसन्धान जारी रहेकाले घटनासम्बन्धी थप विवरण क्रमशः सार्वजनिक हुने अपेक्षा गरिएको छ।