२०८३ जेष्ठ २३

जुम्लामा भालुको आक्रमणबाट आठ भेडा मरे, करिब दुई लाख रुपैयाँ क्षति

काठमाडौँ । जुम्लाको गुठीचौर गाउँपालिका–४ स्थित थामबाडा गाउँमा भालुको आक्रमणबाट आठ वटा भेडा मरेका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी शालिकराम खनालका अनुसार सोमबार राति स्थानीय भेडापालक किसान नरेन्द्र अधिकारीको गोठमा राखिएको भेडाको बथानमा भालु पसेर आक्रमण गर्दा आठ भेडा मरेका हुन्।

प्रहरीका अनुसार घटनापछि पाँच वटा भेडा अझै सम्पर्कविहीन रहेका छन् भने बथानका २९ वटा भेडा सकुशल छन्। रातिको समयमा घटना भएकाले कुनै मानवीय क्षति भने भएको छैन।

भेडापालक किसान अधिकारीले प्रतिवटा भेडाको न्यूनतम मूल्य १८ हजार रुपैयाँ पर्ने बताउँदै आठ भेडा मर्दा करिब दुई लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।