२०८३ जेष्ठ २३

दुर्घटना न्यूनीकरणका लागि मुग्लिन–पोखरा सडकमा ‘सेफ्टी अडिट’ सुरु

काठमाडौँ । पर्यटन राजधानी पोखरा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडकखण्डमा बढ्दो सवारी दुर्घटनालाई नियन्त्रण गर्न ‘सेफ्टी अडिट’ सुरु गरिएको छ।

स्तरोन्नतिको अन्तिम चरणमा रहेको उक्त सडकखण्डमा सवारी साधनको चाप बढ्दै गएको र दुर्घटनाका घटना पनि वृद्धि हुन थालेपछि सडक प्रयोगकर्ताको सुरक्षालाई केन्द्रमा राखेर अडिट प्रक्रिया अघि बढाइएको मुग्लिन–पोखरा सडक आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार चार लेनमा विस्तार गरिएको सडकमा अधिकांश स्थानमा कालोपत्र सम्पन्न भइसकेको छ। “सडक विस्तार तथा स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। अब सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिँदै ‘सेफ्टी अडिट’ सुरु गरेका छौँ,” आयोजना प्रमुख कुँवरले भने, “अडिटका क्रममा सडकका मोड, चोक, पुल, साइनबोर्ड, डिभाइडर, सडकबत्ती, पैदलयात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको विस्तृत अध्ययन गरिनेछ।”

आयोजनाका अनुसार सरकारको १०० बुँदे कार्ययोजनामा समेत मुग्लिन–पोखरा सडकमा ‘सेफ्टी अडिट’ सञ्चालन गरी त्यसबाट प्राप्त प्रतिवेदनलाई अन्य सडक आयोजनामा समेत लागू गर्ने व्यवस्था गरिएको छ। अडिट प्रतिवेदनका आधारमा आवश्यक स्थानमा थप सुरक्षा पूर्वाधार, ट्राफिक सङ्केत चिह्न, रेलिङ, गति नियन्त्रणका उपाय तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

देशकै व्यस्त राजमार्गमध्ये एक मानिने मुग्लिन–पोखरा सडकखण्डमा निर्माण कार्यका क्रममा कतिपय स्थानमा निर्माण सामग्री, धुलो र अस्थायी संरचनाका कारण चालक तथा यात्रुले सास्ती खेप्दै आएका छन्। यसैबीच वर्षायाम नजिकिँदै जाँदा पहिरो तथा सडक दुर्घटनाको जोखिम बढ्ने भएकाले पनि ‘सेफ्टी अडिट’लाई प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ।

मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाअन्तर्गत पश्चिम खण्डमा पाँच वर्षअघि सुरु भएको सडक विस्तार तथा स्तरोन्नतिको काम पटक–पटक म्याद थपिए पनि अझै सम्पन्न हुन सकेको छैन। तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म फैलिएको ३८.७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ।

आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म कायम गरिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ।