काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान सेवा सञ्चालन गर्दै आएको हिमालय एयरलाइन्सले चीनको प्रमुख आर्थिक तथा प्रविधि केन्द्र शेन्जेनसँग काठमाडौँलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने भएको छ। कम्पनीले आगामी जेठ २१ गतेदेखि काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालनमा ल्याउने घोषणा गरेको हो।
कम्पनीका अनुसार नयाँ सेवाअन्तर्गत काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र चीनको शेन्जेन बाओआन अन्तरराष्ट्रिय विमानस्थलबीच सातामा दुई पटक नियमित उडान सञ्चालन गरिनेछ। काठमाडौँबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुने तथा शेन्जेनबाट काठमाडौँ फर्कने उडान बुधबार र शुक्रबार सञ्चालन गरिने जानकारी दिइएको छ।
हिमालय एयरलाइन्सले नयाँ गन्तव्य थपिनुलाई नेपाल–चीन हवाई सम्पर्क विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। कम्पनीले यात्रुको माग र बजारको सम्भावनालाई मूल्याङ्कन गर्दै भविष्यमा उडान सङ्ख्या वृद्धि गर्ने योजना समेत रहेको जनाएको छ।
कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले शेन्जेन गन्तव्यको सुरुआत हिमालय एयरलाइन्सको अन्तरराष्ट्रिय सञ्जाल विस्तार रणनीतिको महत्वपूर्ण उपलब्धि भएको बताए। उनका अनुसार नयाँ उडान सेवाले नेपाल र चीनबीचको जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै पर्यटन, व्यापार तथा लगानी प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउनेछ।
“हिमालय एयरलाइन्सले चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने प्रयास निरन्तर गरिरहेको छ। शेन्जेन उडानले दुई देशबीचको आर्थिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिएका छौँ,” उपाध्यक्ष श्रेष्ठले भने।
चीनको ‘सिलिकन भ्याली’ का रूपमा परिचित शेन्जेन विश्वका अग्रणी प्रविधि, उत्पादन तथा नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ। प्रत्यक्ष हवाई सम्पर्क स्थापना भएसँगै व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्ताले उल्लेखनीय लाभ प्राप्त गर्ने अपेक्षा गरिएको छ।
हिमालय एयरलाइन्सले यात्रुलाई सुरक्षित, सहज र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याउँदै नयाँ उडान सेवाले नेपाल–चीन पर्यटन प्रवर्द्धन, व्यापार विस्तार तथा द्विपक्षीय सम्बन्ध सुदृढीकरणमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।




