काठमाडौँ। बाढीका कारण लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका धादिङको गल्छी गाउँपालिका–६ बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा सञ्चालनमा आएको छ ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको ‘रसुवा बाढी प्रतिकार्य कार्यक्रम’अन्तर्गत महेशखोला–भट्टटार–जिन्टेटार डिप बोरिङ खानेपानी योजना मर्मत तथा पुनःस्थापना गरिएपछि स्थानीयको घरघरमा खानेपानी पुगेको हो ।
योजना मर्मतका लागि रेडक्रसले रु चार लाख ४६ हजार ६८० सहयोग गरेको थियो । उक्त रकमबाट आवश्यक मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गरिएको जनाइएको छ ।
योजना पुनःसञ्चालनको अवसरमा आयोजित कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले खानेपानी सेवाको औपचारिक शुभारम्भ गरे । उनले बाढीपछि स्वच्छ खानेपानीको अभाव झेलिरहेका नागरिकलाई पुनःसेवा उपलब्ध गराउन रेडक्रसले गरेको सहयोग महत्वपूर्ण रहेको बताए ।
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति दुर्लभकुमार तामाङले विपद्का समयमा खानेपानीजस्तो आधारभूत सेवा पुनःस्थापना गर्नु मानवीय सहयोगको महत्वपूर्ण पक्ष भएको बताए ।
जिल्ला कार्यक्रम संयोजक सरोज थापाले बाढीपछि खानेपानीको अभाव झेलिरहेका स्थानीयको जनजीवन अब क्रमशः सामान्य बन्दै जाने विश्वास व्यक्त गरे ।
विसं २०८३ भदौ १७ गते सम्झौता गरी सुरु गरिएको मर्मत कार्य निर्धारित समयमै सम्पन्न भएको रेडक्रसले जनाएको छ । योजना सञ्चालनमा आएसँगै स्थानीयवासीलाई दैनिक उपभोगका लागि खानेपानीको सहज पहुँच भएको छ ।
बाढीपछि राहत र उद्धारसँगै प्रभावित समुदायका आधारभूत आवश्यकता तथा महत्वपूर्ण पूर्वाधार पुनःस्थापनालाई प्राथमिकता दिँदै आएको रेडक्रसले जनाएको छ । खानेपानी सेवाको पुनःस्थापनाले तत्कालीन राहतसँगै प्रभावित समुदायलाई सामान्य जीवनमा फर्किन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बाढी प्रतिकार्यअन्तर्गत मानवीय सहायता जारी
नेपाल रेडक्रस सोसाइटीले बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका विभिन्न कार्यक्रम जारी राखेको जनाएको छ । रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार भोटेकोशी बाढीपछि सुरुआती चरणदेखि नै खोज तथा उद्धारमा सहयोग गर्दै अहिले राहत, स्वास्थ्य, खानेपानी तथा अन्य मानवीय सेवाका कार्यक्रम सञ्चालन भइरहेका छन् ।
उनका अनुसार प्रभावित परिवारलाई त्रिपाल, म्याट्रेस, कम्बललगायत आवास तथा गैरखाद्य सामग्री वितरण भइरहेको छ । दुई हजारभन्दा बढी प्रभावित परिवारलाई खाद्य सामग्रीसमेत उपलब्ध गराइएको छ ।
पछिल्लो एक महिनामा करिब दुई हजार २०० प्रभावित घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्याइएको र १८ वटा पानी ट्याङ्की व्यवस्थापन गरिएको रेडक्रसले जनाएको छ । आवश्यक स्थानमा ट्याङ्करमार्फत समेत पानी वितरण भइरहेको छ ।
रेडक्रसका अनुसार स्वास्थ्य सेवा, मनोसामाजिक सहयोग, आपत्कालीन स्वास्थ्य क्लिनिक, परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापना र बहुउद्देश्यीय नगद तथा भौचर सहायताका कार्यक्रम पनि सञ्चालनमा छन् ।
विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने योजना रहेको महामन्त्री खनालले बताए ।
प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने तयारीसमेत भइरहेको रेडक्रसले जनाएको छ ।




