२०८३ आश्विन १५

धनुषामा टिपर पल्टिँदा क्रसर सञ्चालकको मृत्यु

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–३ लालभित्तीमा टिपर दुर्घटना हुँदा क्रसर उद्योग सञ्चालकको मृत्यु भएको छ ।

औरही बाबा बालुवा प्रशोधन उद्योगमा बिहीबार बिहान ग्रावेल अनलोड गर्ने क्रममा टिपर अनियन्त्रित भई पल्टिँदा स्थानीय ३६ वर्षीय हरि महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रदेश २–०२–००१ ख ०१७१ नम्बरको टिपरबाट ग्रावेल झार्ने क्रममा दुर्घटना भएको प्रहरी निरीक्षक उदय शम्शेर जबराले जानकारी दिए । टिपर पल्टिएपछि महतोलाई जेसिबीको सहयोगमा उद्धार गरी उपचारका लागि अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा टिपर चालकसमेत गम्भीर घाइते भएका छन् । उनको खुट्टामा गम्भीर चोट लागेको र उपचार भइरहेको प्रहरीले जनाएको छ ।