२०८३ आश्विन १०

भोटेकोसी बाढीपछि उद्धार तथा उपचारका लागि ट्रमा सेन्टरको टोली रसुवा प्रस्थान

काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीपछि विपद् व्यवस्थापन, उद्धार तथा घाइतेहरूको शीघ्र उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरको टोली रसुवा गएको छ।

घाइतेहरूको तत्काल उपचारका लागि ट्रमा सेन्टरको टोली हेलिकोप्टरमार्फत रसुवा पुगेको हो। सम्भावित घाइतेहरूको उपचारलाई मध्यनजर गर्दै १०० शय्या तयारी अवस्थामा राखिएको छ।

यसैगरी, काठमाडौँका ट्रमा सेन्टर, पाटन अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल र नेपाल प्रहरी अस्पताललाई समेत आवश्यक उपचारका लागि तयारी अवस्थामा राखिएको छ।

राष्ट्रिय ट्रमा सेन्टरबाट रसुवा खटिएको टोलीमा डा. विवेक भण्डारी, डा. राकेश मिश्र, डा. सुरेन्द्र महर्जन, डा. अविनाश कार्की, डा. विप्लव शर्मा, डा. सुदीप कोइराला, स्टाफ नर्स साधना भट्टराई र स्टाफ नर्स सरस्वती लामा रहेका छन्।

Read More

भोटेकोशी बाढीमा घाइते सात जनाको उद्धार

काठमाडौं । भोटेकोशी नदीमा अकस्मात आएको बाढीमा परी घाइते भएका सात जनाको सैनिक हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।

जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका प्रतिनिधि कमल दाहालका अनुसार प्रभावित क्षेत्रबाट छ पुरुष र एक महिलासहित सात जना घाइतेको उद्धार गरी धुन्चे अस्पताल ल्याइएको हो। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

Read More

मधेसबाट वैदेशिक रोजगारीमा गएका १४४ जनाको मृत्यु

काठमाडौं । गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ जनाको मृत्यु भएको छ। सो अवधिमा प्रदेशका आठ जिल्लाबाट एक लाख ७९ हजार ३९ जना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका थिए।

सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले उक्त तथ्यांक सार्वजनिक गरेका हुन्।

तथ्यांकअनुसार धनुषाबाट ३८ हजार ५५३, महोत्तरीबाट २८ हजार २२९, सर्लाहीबाट २३ हजार २७३, सिरहाबाट ३० हजार २११, सप्तरीबाट २० हजार ५५९, बाराबाट १५ हजार ५५५, रौतहटबाट १४ हजार ६८२ र पर्साबाट सात हजार ९७७ जना वैदेशिक रोजगारीमा गएका थिए।

वैदेशिक रोजगारीमा जाने महिलाको संख्या सर्लाहीमा सबैभन्दा बढी एक हजार ३८९ रहेको छ। बाराबाट एक हजार ८८, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, सिरहाबाट ३०४, पर्साबाट ३३८, रौतहटबाट ५२५ र सप्तरीबाट २६९ जना महिला वैदेशिक रोजगारीमा गएको तथ्यांकमा उल्लेख छ।

सामी कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रबाट गत वर्ष ६३ हजार १४० जनाले सेवा तथा परामर्श लिएका छन्। तीमध्ये ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका व्यक्ति छन्।

श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नवीनकुमार शर्माका अनुसार आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीसँग सम्बन्धित ६७५ वटा समस्या समाधान गरिएको छ। त्यस्तै, १५९ पीडितलाई पीडकबाट २२ करोड एक लाख ७८ हजार ४०३ रुपैयाँ फिर्ता गराइएको उनले जानकारी दिए।

वैदेशिक रोजगारीमा जान चाहनेलाई गन्तव्य मुलुक, रोजगारीको प्रक्रिया, श्रम स्वीकृति, आवश्यक सीप, लागत, बीमा तथा कानुनी अधिकारलगायत विषयमा सूचना र परामर्श उपलब्ध गराउँदै आएको कार्यक्रममा जानकारी दिइएको थियो।

श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पूर्वसूचना तथा परामर्शको पहुँच विस्तार गर्नुपर्नेमा जोड दिइन्। रोजगारीमा जानुअघि सही सूचना प्राप्त गर्न सके ठगी, बढी लागत, अवैध बाटोबाट हुने प्रस्थान तथा अन्य जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रम श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धनञ्जयकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो।

Read More

भोटेकोशी बाढीले विद्युत् आयोजनामा क्षति: कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवामा नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालित विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् गृहमा ठूलो क्षति पुर्‍याएको छ।

बाढीबाट रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए र देवीघाटलगायतका विद्युत् गृह प्रभावित भएका छन्। बाढीका कारण आयोजनाका संरचनामा क्षति पुगे पनि क्षतिको विस्तृत विवरण भने संकलन हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्था बुझ्न प्राधिकरणले विभिन्न माध्यमबाट सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।

बाढीबाट विद्युत् उत्पादन तथा प्रसारणसम्बन्धी संरचनामा थप क्षति भएको हुनसक्ने भएकाले घटनास्थलको अवस्था यकिन भएपछि मात्र विस्तृत विवरण सार्वजनिक हुने प्राधिकरणले जनाएको छ।

Read More

भोटेकोशी बाढी, सुरक्षाकर्मीसँग सम्पर्कविहीन

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको ठूलो बाढीपछि टिमुरे क्षेत्रमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी टोलीसँग सम्पर्क टुटेको छ। बाढीका कारण टिमुरे क्षेत्रमा ठूलो क्षति भएको आशंका गरिएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक अनुमान छ। टिमुरेमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) भवन भने सुरक्षित रहेको उनले बताए।

तर, कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मीसँग भने हालसम्म सम्पर्क हुन सकेको छैन। बाढीका कारण प्रभावित क्षेत्रमा सम्पर्क तथा आवागमन प्रभावित भएको जनाइएको छ।

सम्पर्कविहीन सुरक्षाकर्मीसँग सम्पर्क स्थापित गर्न तथा टिमुरे क्षेत्रको वास्तविक अवस्था बुझ्न प्रयास भइरहेको सहप्रवक्ता थापाले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

Read More

भोटेकोशी भीषण बाढी : चार जिल्ला उच्च जोखिममा, मुग्लिनसम्म सतर्कता

काठमाडौं । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रलाई उच्च जोखिममा राखेको छ।

बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीका अनुसार भदौ १० गते बिहान करिब ९ बजे तिब्बततर्फबाट ठूलो मात्रामा पानीको बहाव भोटेकोशी नदीमा प्रवेश गरेको हो। बाढी रसुवा हुँदै नुवाकोटको विदुरभन्दा तलसम्म पुगिसकेको छ। बाढीले माथिल्लो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको प्रारम्भिक सूचना प्राप्त भएको उनले बताए।

मुग्लिनसम्म अति उच्च जोखिम, पाँच घण्टाभित्र बाढी पुग्नसक्ने

विभागका अनुसार त्रिशूली नदी हुँदै मर्स्याङ्दी नदीसँगको दोभान मुग्लिनसम्मको क्षेत्रलाई अति उच्च जोखिममा राखिएको छ। बाढी मुग्लिनसम्म पुग्न करिब चारदेखि पाँच घण्टा लाग्नसक्ने अनुमान गरिएको छ। त्यसैले आज बेलुकीसम्म नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन पराजुलीले आग्रह गरेका छन्।

बाढीको जोखिमलाई ध्यानमा राख्दै पृथ्वी राजमार्ग तथा त्रिशूली नदी किनारका अन्य प्रमुख सडकखण्डमा आवागमन नगर्न विभागले सुझाव दिएको छ। सम्भव भएसम्म जोखिमयुक्त क्षेत्रमा यातायातसमेत बन्द गर्न विभागले आग्रह गरेको छ।

त्रिशूली नदीमा पानीको सतह बढेसँगै तादी, बूढीगण्डकी र मलेखुलगायतका सहायक नदीमा समेत पानीको बहाव बढ्न वा पानी फर्किन सक्ने भएकाले ती क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरिएको छ।

वर्षाका कारण नभई आकस्मिक रूपमा ठूलो बाढी आएको देखिएकाले तिब्बत क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने आशंका गरिएको छ। यद्यपि बाढीको वास्तविक कारणबारे अहिलेसम्म यकिन विवरण सार्वजनिक भएको छैन।

बाढीको स्रोत र कारणबारे थप जानकारी लिन चिनियाँ अधिकारीसँग समन्वय भइरहेको तथा उपग्रहबाट समेत अध्ययन भइरहेको बाढी पूर्वानुमान शाखाका प्रमुख पराजुलीले जानकारी दिए।

Read More

गुल्मीमा ट्रकको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिका–७ स्थित जिपपार्क सडकमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका एक पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–७ भुजेलखर्कका २५ वर्षीय पवन विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

मंगलबार अपराह्न गुल्मीदरबार गाउँपालिका–७ का ५० वर्षीय टेकबहादुर खत्रीले पार्किङ गरेर राखिएको लु १ ख ८९०७ नम्बरको ट्रक स्टार्ट गरी अगाडि बढाउने क्रममा पैदलयात्री विकलाई ठक्कर दिएका थिए।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका विकलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मंगलबार राति नै बुटवलस्थित चौराहा अस्पताल लगिएको थियो। उपचारका क्रममा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

प्रहरीले ट्रक र चालक खत्रीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Read More

रसुवामा फेरि ठूलो बाढी, टिम्बुरे भन्सारमा राखिएका गाडीमा क्षति

काठमाडौं। गत वर्ष असारमा लेन्दे खोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको १४ महिनापछि रसुवामा फेरि ठूलो बाढी आएको छ। बाढीका कारण टिम्बुरे भन्सारमा राखिएका गाडीमा ठूलो क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

गत असार २३ गते नेपाल–चीन सीमास्थित रसुवागढी क्षेत्रमा भोटेकोसी खोलामा आएको बाढीपहिरोले ठूलो जनधनको क्षति गरेको थियो। लेन्दे खोला उर्लिएपछि भोटेकोसीमा आएको बाढीबाट १९ जनाको मृत्यु भएको थियो। बाढीका कारण नेपाल–चीन जोड्ने मितेरी पुलसमेत बगेपछि रसुवागढी नाकाबाट हुने व्यापार अझै सहज हुन सकेको छैन।

हाल भोटेकोसी नदीमा बाढीको बहाव उच्च रहेकाले जिल्ला प्रशासन कार्यालय रसुवाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न प्रशासनले अनुरोध गरेको हो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान करिब साढे ९ बजे जारी गरेको सूचनामा जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा पानीको बहाव उच्च रहेको उल्लेख गरिएको छ। प्राधिकरणले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन तथा सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।

Read More

ओखलढुङ्गामा विद्युत् सर्ट भएर आगलागी, दुई घर जलेर नष्ट

काठमाडौं। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। मंगलबार साँझ भएको आगलागी करिब तीन घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा विद्युत्को तार सर्ट भएर आगलागी भएको थियो। आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल तथा स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। घटनामा करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

त्यस्तै, ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र ५० हजार रुपैयाँ नगद जलेर नष्ट भएको छ। उनको घरमा करिब १४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए।

Read More

किशोरमा बढ्दो लामो कपालको मोह, विद्यालयमा व्यवस्थापन चुनौती

काठमाडौं । पछिल्लो समय विद्यालय तथा कलेज तहका किशोरहरूमा लामो कपाल राख्ने मोह बढ्दै गएको छ। सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले किशोरहरू छोटो कपालको परम्परागत शैलीभन्दा फरक आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेका छन्। यसले अभिभावक र विद्यालयबीच कपालको विषयलाई लिएर थप चुनौतीसमेत सिर्जना गरेको छ।

चितवनको कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल छोटो बनाओस् भन्ने लाग्छ। विद्यालयबाट समेत छोराको कपाल काट्न आग्रह गर्दै फोन आएपछि उनले छोरालाई सम्झाए। तर छोराले नमानेपछि जबर्जस्ती नगरेको उनी बताउँछन्।

भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको अनुभव पनि उस्तै छ। कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडिसकेका उनी कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि आफ्नो आग्रह नटेर्ने बताउँछन्।

यी घटना प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय धेरै अभिभावकको गुनासो छोराहरूले कपाल छोटो बनाउन नमानेको भन्ने हुने गरेको छ। कतिपय विद्यार्थी लामो कपाल राख्न मात्र नभई त्यसलाई कोर्ने वा मिलाउनेभन्दा जस्तो छ त्यस्तै राख्नसमेत रुचाउने गरेका छन्।

विद्यालयले विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाउन नपाउने व्यवस्था भएपछि कतिपय विद्यालयले अभिभावकको सहयोग लिन थालेका छन्। तर कपाल काट्न दबाब दिएको भन्दै विद्यार्थीले हेलो सरकार तथा प्रहरीमा समेत उजुरी गर्ने गरेको पाइएको छ।

भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख सुवास आचार्यका अनुसार विद्यालयले दबाबमा कपाल काट्न लगाएको भन्दै विद्यार्थीले हेलो सरकारमा उजुरी गरेको जानकारी आफूले पाएका छन्। विशेषगरी हजुरबुबा–हजुरआमासँग बस्ने, होस्टलमा रहने तथा अभिभावकबाट टाढा रहेका विद्यार्थी कपाल छोटो बनाउन कम इच्छुक देखिएको उनको भनाइ छ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष मदन पुरीले विद्यार्थीलाई कपाल काट्न भन्न छाडिएको बताए। उनका अनुसार देशभर ३५ भन्दा बढी निजी विद्यालयविरुद्ध विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न लगाएको भन्दै हेलो सरकारमा उजुरी परेको जानकारी आफूले पाएका छन्।

विशेषगरी कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीमा लामो कपाल राख्ने प्रवृत्ति बढी देखिएको उनको भनाइ छ। “अहिले कपाल काट्ने विषयमा केही गर्न सक्ने अवस्था छैन,” उनले भने।

सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको १०औँ संशोधनमा विद्यार्थीलाई जबर्जस्ती कपाल काट्न नपाउने व्यवस्था गरिएको छ। विद्यार्थीको इच्छाविपरीत कपाल काट्ने तथा काट्न लगाउने विषयमा गुनासो बढेपछि यस्तो व्यवस्था गरिएको हो।

नियमावलीको नियम २५ मा विद्यार्थीको शारीरिक, मनोवैज्ञानिक तथा मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पर्ने गतिविधि विद्यालय परिसर वा कक्षाकोठाभित्र सञ्चालन गर्न वा गराउन नपाइने उल्लेख छ। विद्यार्थीको शारीरिक स्वरूप, पहिरन, शृङ्गार वा साजसज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने वा चरित्रमाथि प्रश्न उठाउने कार्यसमेत निषेध गरिएको छ।

वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरका मनोविज्ञान विषयका उपप्राध्यापक डा. सुरेन्द्र घिमिरेका अनुसार इन्टरनेट तथा सामाजिक सञ्जालको पहुँच सानै उमेरदेखि भएकाले किशोरमा सेलिब्रेटी तथा विश्वव्यापी फेसनको प्रभाव बढेको छ।

पहिले विद्यार्थीले क्याम्पस पुगेपछि चलचित्र तथा अन्य माध्यमबाट विश्वका गतिविधि थाहा पाएर त्यसको अनुकरण गर्ने गरे पनि अहिले बाल्यकालदेखि नै त्यस्ता सामग्रीमा पहुँच हुने भएकाले अनुकरण गर्ने प्रवृत्ति कम उमेरमै विकास भएको उनको भनाइ छ।

“नक्कल गर्ने मानिसको नैसर्गिक गुण हो। जे चिज सेलिब्रेटीले गर्छन्, त्यसको नक्कल उनीहरू गर्न चाहन्छन्,” उनले भने।

उनका अनुसार लामो कपाल राख्नु आफैंमा नराम्रो होइन। तर त्यसको स्याहार–सुधारमा लाग्ने समय र खर्चका कारण पढाइमा असर पर्न सक्ने पक्षलाई पनि ध्यान दिन आवश्यक छ। किशोरावस्थामा घर तथा विद्यालयबाट लामो कपाल नराख्न गरिएको आग्रह नमान्नु कतिपय अवस्थामा आज्ञाकारिताविरुद्धको सांकेतिक विरोधका रूपमा पनि बुझ्न सकिने उनको भनाइ छ।

विद्यालय तथा कलेज तहका किशोरहरू परम्परागत छोटो कपालको शैलीभन्दा फरक आफूलाई आकर्षक र आधुनिक देखाउने शैलीतर्फ आकर्षित हुन थालेका छन्। सामाजिक सञ्जाल, चलचित्र, सङ्गीत तथा विदेशी फेसनको प्रभावले लामो कपाल राख्ने प्रवृत्तिलाई थप बढावा दिएको देखिन्छ।

विज्ञहरूका अनुसार लामो कपाल हुँदा सफा गर्न कठिन हुने, दैनिक हेरचाहमा बढी समय लाग्ने तथा खर्चसमेत बढ्ने गर्छ। उचित स्याहार नगर्दा जुम्रा, चाया तथा अन्य स्वास्थ्य समस्या देखिन सक्छन्।

विशेषगरी धेरै लामो वा बाक्लो कपालमा पसिना र फोहोर जम्ने भएकाले गर्मी मौसममा समस्या बढी हुनसक्छ। त्यसैले कपालको लम्बाइभन्दा पनि व्यक्तिगत सरसफाइ, नियमित हेरचाह र विद्यार्थीको स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ।

Read More