२०८३ भाद्र २८

चोटका कारण अल्काराज विम्बल्डनबाट बाहिरिए

काठमाडौँ । दुई पटकका विम्बल्डन विजेता कार्लोस अल्काराज चोटका कारण यस वर्षको विम्बल्डन प्रतियोगिताबाट बाहिरिएका छन् । दाहिने हातको नाडीमा समस्या देखिएपछि उनले प्रतियोगिता नखेल्ने निर्णय गरेका हुन् ।

विश्व वरीयताको दोस्रो स्थानमा रहेका अल्कारेजले गत महिना बार्सिलोना प्रतियोगिताको पहिलो चरण खेल्ने क्रममा चोटिल भएका थिए । त्यसपछि उनले फ्रान्स खुला प्रतियोगिताबाट पनि नाम फिर्ता लिएका थिए । उनी उक्त प्रतियोगिताका लगातार दुई संस्करणका साविक विजेता थिए ।

२३ वर्षीय अल्कारेजले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमा सुधार भइरहेको भए पनि अझै प्रतिस्पर्धाका लागि तयार नभएको बताएका छन् । उनले क्वीन्स प्रतियोगिता र विम्बल्डन आफूका लागि विशेष रहेको उल्लेख गर्दै ती प्रतियोगिता गुमाउँदा दुःख लागेको प्रतिक्रिया दिएका छन् ।

गत वर्षको विम्बल्डनको उपाधि भिडन्तमा अल्कारेज इटालीका जन्निकसिन्नेरसँग पराजित भएका थिए । यस वर्ष उनले अस्ट्रेलियन खुला जित्दै चारवटै प्रमुख उपाधि जित्ने सबैभन्दा कान्छा खेलाडी बन्ने कीर्तिमान बनाएका थिए ।

चोटका कारण अल्कारेजले घाँसे मैदानको सम्पूर्ण सत्र र अधिकांश माटे मैदानका प्रतियोगिता गुमाउने भएका छन् । विम्बल्डनअघि हुने क्वीन्स प्रतियोगितामा पनि उनी सहभागी हुने तालिकामा थिए ।

अल्कारेज प्रतियोगिताबाट बाहिरिएपछि सिनरको उपाधि सम्भावना थप बलियो बनेको छ । पछिल्ला नौ प्रमुख एकल उपाधिमध्ये अल्कारेज र सिनरले बाँडेर जितेका छन् । त्यसमा अल्कारेजले पाँच उपाधि जितेका छन् ।

नाडीको चोट खेलाडीका लागि निकै संवेदनशील मानिन्छ । समयमै सावधानी नअपनाए खेल जीवनमै असर पर्न सक्ने चिकित्सकहरूको भनाइ छ । अल्कारेजले पनि भविष्यका प्रतियोगितालाई ध्यानमा राख्दै जोखिम नलिने बताएका थिए ।

यसअघि डोमिनिक थिएम र जुआन डेल पोट्रो जस्ता खेलाडीको खेल जीवन पनि नाडीको चोटका कारण प्रभावित भएको थियो । सात पटकका विम्बल्डन विजेता नोभाक जोकोभिचलाई यस पटक उपाधिका बलिया दाबेदारका रूपमा हेरिएको छ ।

Read More

काठमाडौँका ८ पार्कमा मौरीका घार राखियो: मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा जोगाइने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न ८ वटा पार्कमा मौरीको घार राखेको छ । करिब ९ लाख रुपियाँ लागतमा सेरेना जातका रैथाने मौरीलाई आधुनिक घार बनाएर पार्कहरुमा राखिएको हो । यो जातका मौरीहरु उच्च पहाडी, मध्य पहाडी र तराई क्षेत्रमा पाइने मौरी हुन् । यी मौरीहरुले सृष्टिको सन्तुलन र बोटविरुवाको वंश जोगाउने काम गरिरहेका हुन्छन् । 

यी मौरीका घारहरु महानगरपालिकाले नमूना कार्यक्रमका रुपमा राखेको होे । यसबाट प्राप्त हुने नतिजाका आधारमा थप कार्यक्रम सञ्चालन हुनेछन् ।  कार्यक्रमको पहिलो चरणमा शंखधर उद्यान (रत्नपार्क)मा २ घार, वडा नं. ३ को रानीवारी सामुदायिक बन भित्र ४ घार, वडा नं. १६ को वालाजु वाइसधारा उद्यान भित्र ५ घार, यही वडाको गुरु नानक पार्कमा २ घार, वडा नं. ४ को शंखपार्कमा २ घार, वडा नं. ६ को लाखे पोखरी पार्कमा २ घार मौरी राखिएका छन् । यस्तै वडा नं. १४ को भुवनेश्वरी पार्कमा ४ घार र वडा नं. ३२ को मदन भण्डारी पार्कमा २ घार राखिएको आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिए । 

इञ्जिनियर श्रेष्ठले भने- ‘एउटा घारमा १४ हजारदेखि २२ हजारसम्म मौरी बस्छन् । यो भन्दा धेरै संख्यामा माहुरी भए भने छुट्टै रानी मौरी बनाएर समूह विभाजन गरेर बस्छन् । हामी एउटा घारबाट मौरीको संख्या बढेर धेरै हुन् भन्नका लागि वातावरण मिलाउँदै जान्छौँ ।’

वातावरण संरक्षणका दृष्टिले मौरीलाई पारिस्थितिकीय इञ्जिनियरका रुपमा लिइन्छ । मौरीको अभावमा पृथ्वीको जैविक विविधता र खाद्य सुरक्षा दुवै संकटमा पर्न सक्छन् । फूलहरुको पराग सेचनका लागि मौरीलाई मुख्य माध्यम मानिन्छ । एउटा फूलबाट अर्को फूलमा पराग कण ओसारेर बिरुवाहरूको प्रजनन प्रक्रियामा मौरीको ठुलो भूमिका हुन्छ । संसारका लगभग ८०५ भन्दा बढी फूल फुल्ने बिरुवा र एक तिहाइभन्दा बढी खाद्य बालीहरू पराग सेचनका लागि मौरीमा निर्भर हुन्छन् ।

मौरीको यही भूमिकाले फलफुल, बालीनाली र वनजंगलको विकास तथा विस्तार स्वभाविक र स्वचालित रुपमा भइरहेको हुन्छ । वनस्पतिहरूको विविधता कायम राख्ने मौरीको यही कामले गर्दा अन्य वन्यजन्तु, चराचुरुङ्गी र कीराहरूका लागि बासस्थान र आहारा सुनिश्चित हुन्छ । मौरीको यो गुणको उपयोग गरेर काठमाडौँ महानगरपालिकाले जैविक विविधता तथा पारिस्थितिकीय अवस्थालाई जोगाउने योजना बनाएको हो । पारिस्थितिकीय स्वास्थ्यको सूचक मौरी निकै संवेदनशील जीव हो । 

Read More

कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि

काठमाडौँ ।  कोशी प्रदेश सभाको नवौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।

कोशी प्रदेश सभा सचिवालयका अनुसार अधिवेशन आज दिउँसो ३ बजे विराटनगर महानगरपालिका–७ स्थित वीरेन्द्र सभा गृहमा बस्ने भएको छ ।

कोशी प्रदेश सभाको विराटनगरस्थित भवन जेनजी आन्दोलनका क्रममा आगजनीपछि ध्वस्त बनेपछि प्रदेश सभाको बैठक वीरेन्द्र सभा गृहबाटै अधिवेशन सञ्चालन गर्न लागिएको हो । यसअघिको अधिवेशन समेत सोही सभा गृहबाट सञ्चालन गरिएको थियो ।

त्यस्तै कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम विहिबार जेठ ७ गते प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिएका छन् ।

Read More

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दै

काठमाडौँ । आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ ।

आज बिहान ८ बजेदेखि शुरु हुने बैठकमा परराष्ट्र मन्त्रालयको नीति, योजना र चालु कार्यक्रमबारे छलफल हुने कार्यसूची रहेको छ ।

बैठक सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको बैठक कक्षमा हुने समितिले जानकारी दिएको छ ।

Read More

आइपिएलमा लखनउको अर्को हार, राजस्थान ७ विकेटले विजयी

काठमाडौँ । राजस्थान रोयल्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले लखनउलाई ७ विकेटले पराजित गरेको हो ।   

लखनउले दिएको २२१ रनको लक्ष्य पछाएको राजस्थानले १९.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

राजस्थानको जितमा वैभव सुर्यबंशीले सर्बाधिक ९३ रन बनाए भने ध्रुव जुरेलले अविजित ५३ रन बनाएका थिए । त्यस्तै यशश्वी जैसवालले ४३ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लखनउले मिचेल मार्शको ९६, जोश इङलिशको ६० र कप्तान ऋषव पन्तको ३५ रनको मद्धतले २० ओभरमा ५ विकेट गुमाएर २२० रन बनाएको थियो ।

यो जितपछि राजस्थानको १३ खेलमा १४ अंक भएको छ र प्लेअफको नजिक पुगेको छ । अब राजस्थानले आफ्नो अन्तिम खेल जितेमा प्लेअफमा पुग्ने छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरु, गुजरात टाइटन्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् ।

राजस्थानले अब अर्को खेल आइतबार मुम्बई इण्डियन्सविरुद्ध खेल्दैछ । 

त्यस्तै लखनउको भने यो यस सिजनमा नवौं हार हो । १३ खेलमा केवल ८ अंकसहित लखनउ पुछारमा रहेको छ ।

Read More

विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दै

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज स्कटल्याण्ड र अमेरिका खेल्दैछन् । टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

जारी सिरिजको पहिलो खेलमा स्कटल्याण्डले खेलेका ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ । स्कटल्याण्डले नेपाल र अमेरिकालाई पराजित गरेको थियो भने पछिल्लो खेलमा नेपालसँग पराजित भएको थियो  । त्यस्तै अमेरिकाले भने यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ ।

एकदिवसीय खेलमा अमेरिका र स्कटल्याण्ड अहिलेसम्म ९ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ६ र अमेरिकाले ३ खेल जितेका छन् । 

जारी विश्वकप डिभिजन लिग- २ मा हाल स्कटल्याण्ड ३१ खेलमा ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अमेरिका २६ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस सिरिज अन्तर्गत अब अर्को खेल मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।

Read More

आर्सनलले २२ वर्षपछि जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौँ । आर्सनलले २२ वर्षपछि पहिलोपटक इङ्ग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । गएराती म्यानचेस्टर सिटी बर्नमाउथसँग १-१ गोलको बराबरीमा रोकिएसँगै आर्सनलले एक खेल अघि नै प्रिमियर लिगको उपाधि जितेको हो ।

अघिल्ला आठ सिजनमध्ये छ पटक उपाधि जितेको म्यानचेस्टर सिटीलाई उपाधि दौड अन्तिम खेलसम्म पुर्‍याउन जित अनिवार्य थियो । तर बर्नमाउथसँग १–१ को बराबरीमा रोकिएपछि पेप ग्वार्डिओलाको टोली उपाधि रक्षा गर्न असफल भयो ।

यो आर्सनलको इतिहासमा १४औँ प्रिमियर लिग उपाधि हो । सर्वाधिक २०–२० पटक उपाधि जितेका लिभरपुल र म्यानचेस्टर युनाइटेडपछि आर्सनल तेस्रो स्थानमा छ । यसअघि आर्सनलले सन् २००३–०४ मा अन्तिमपटक उपाधि जितेको थियो । त्यस सिजन प्रशिक्षक आर्सेन भेङ्गरको नेतृत्वमा टोली अपराजित रहँदै च्याम्पियन बनेको थियो ।

मिकेल आर्टेटाको टोली यस सिजन युरोपेली च्याम्पियन्स लिगको फाइनलमा समेत पुगेको छ । मे ३० मा हुने फाइनलमा आर्सनलले पिएसजीसँग खेल्नेछ । आर्सनल पहिलोपटक युरोपेली च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ ।

सन् २०१९ मा प्रशिक्षक बनेका आर्टेटा प्रिमियर लिग खेलेका पूर्व खेलाडीमध्ये प्रशिक्षकका रूपमा उपाधि जित्ने पहिलो व्यक्ति बनेका छन् । लगातार तीन सिजन उपविजेतामै सीमित भएपछि यसपटक भने उनले टोलीलाई सफलतामा पुर्‍याएका हुन् ।

सन् २०२३ र २०२४ मा आर्सनलले अग्रता लिए पनि अन्तिम समयमा म्यानचेस्टर सिटीले उपाधि खोसेको थियो । गत वर्ष लिभरपुलपछि दोस्रो स्थानमा सीमित बनेको आर्सनलले यसपटक भने लामो प्रतीक्षा अन्त्य गरेको हो ।

आर्सनलको सफलताको मुख्य आधार बलियो रक्षापङ्क्ति र निश्चित अवस्थाबाट गरिएको प्रभावकारी प्रदर्शन रह्यो । टोलीले ३७ खेलमा लिगकै कम २६ गोल मात्र व्यहोरेको छ भने १९ खेलमा गोल खानबाट जोगिएको छ । 

सन् २०१७ पछि पहिलोपटक म्यानचेस्टर सिटी वा लिभरपुल बाहेकको टोली च्याम्पियन बनेको हो । खेलपछि ग्वार्डिओलाले आर्सनललाई बधाई दिएका छन् । उनले प्रशिक्षक मिकेल आर्टेटा, टोलीका खेलाडी, प्रशिक्षक समूह र समर्थकलाई उपाधिको शुभकामना दिँदै आर्सनल उपाधिको योग्य टोली रहेको बताएका छन् ।

Read More

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुनेछ । 

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले (क) ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने । (ख) ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने । (ग) ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने । र (घ) ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

Read More

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई  भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ। साथै बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८३ जेठ ६ गते बुधवार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ ६ गते बुधवार ईस २०२६ मे २० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्थी, रौद्र नाम संवत्सर सूर्य दक्षिणायनं, गृष्म ऋतु, जेठ शुक्ल चतुर्थी, चन्द्रमा मिथुन राशिमा, आद्र्रा नक्षत्र, शूल योग, विष्टि करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४९ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर १२ मिनेट देखि ०६ बजेर ५४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष राशि

आजको दिन कामकाजमा प्रगति हुने संकेत देखिन्छ। विगतदेखि रोकिएका केही कामहरू पूरा हुन सक्छन्। कार्यक्षेत्रमा तपाईंको मेहनत र सक्रियताको प्रशंसा हुने सम्भावना छ। आर्थिक रूपमा सामान्य सुधार देखिए पनि अनावश्यक खर्च नियन्त्रणमा राख्नु आवश्यक हुनेछ। परिवारका सदस्यसँगको सम्बन्ध राम्रो रहनेछ, तर सानो विषयमा विवाद हुन नदिन संयमित बोली उपयोगी हुनेछ। स्वास्थ्यतर्फ थकान र तनाव बढ्न सक्ने भएकाले आरामलाई प्राथमिकता दिनु राम्रो हुनेछ।

वृष राशि

आज धैर्य र समझदारीले राम्रो परिणाम दिलाउने दिन हो। व्यवसाय वा जागिरमा स्थिरता आउनेछ। आर्थिक रूपमा लाभको संकेत देखिन्छ, विशेष गरी रोकिएका रकम प्राप्त हुन सक्छन्। परिवारको साथ र सहयोगले आत्मविश्वास बढाउनेछ। प्रेम सम्बन्धमा विश्वास र निकटता बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनु राम्रो हुनेछ, किनकि सामान्य स्वास्थ्य समस्या देखिन सक्छ।

मिथुन राशि

आज आत्मविश्वास र उत्साह दुवै बढ्नेछन्। नयाँ योजना सुरु गर्न वा महत्वपूर्ण निर्णय लिन अनुकूल समय देखिन्छ। साथीभाइ तथा सहकर्मीको सहयोगले काम सहज बन्नेछ। आर्थिक रूपमा सुधारका संकेत छन्। अध्ययन, सञ्चार, लेखन वा सिर्जनात्मक क्षेत्रमा राम्रो प्रगति हुने सम्भावना छ। यात्राको अवसर पनि आउन सक्छ। परिवारमा खुसीको वातावरण बन्नेछ।

कर्कट राशि

आज भावनात्मक रूपमा केही संवेदनशील बन्न सक्नुहुन्छ। कामको चापले थकान बढाउन सक्छ। आर्थिक रूपमा सामान्य अवस्था रहनेछ, तर खर्च बढ्ने सम्भावना भएकाले सावधानी आवश्यक छ। परिवारका सदस्यसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। स्वास्थ्यतर्फ पेट वा पाचनसम्बन्धी समस्या देखिन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ।

सिंह राशि

आज प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुने सम्भावना छ। काममा तपाईंको नेतृत्व क्षमता देखिनेछ र वरिष्ठ व्यक्तिबाट प्रशंसा प्राप्त हुन सक्छ। व्यवसायमा लाभको संकेत छ। सामाजिक रूपमा मान–सम्मान बढ्नेछ। परिवारको साथले आत्मबल बढाउनेछ। यात्राबाट लाभ मिल्ने सम्भावना पनि देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ।

कन्या राशि

आज निर्णय गर्दा धैर्य अपनाउनु आवश्यक हुनेछ। काममा केही ढिलाइ वा अवरोध आउन सक्छ, तर निरन्तर प्रयासले सफलता दिलाउनेछ। आर्थिक रूपमा स्थिरता रहनेछ। परिवारसँगको सम्बन्धमा समझदारी आवश्यक हुनेछ। अध्ययन वा नयाँ सीप सिक्न चाहनेहरूका लागि दिन उपयोगी बन्न सक्छ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकान महसुस हुन सक्छ।

तुला राशि

आजको दिन उत्साहजनक रहने संकेत छ। नयाँ अवसर प्राप्त हुन सक्छ र सामाजिक भेटघाट बढ्न सक्छ। आर्थिक पक्ष बलियो बन्ने सम्भावना छ। प्रेम सम्बन्धमा खुसी र विश्वास बढ्नेछ। सिर्जनात्मक तथा कलात्मक क्षेत्रमा लागेकाहरूका लागि दिन राम्रो रहनेछ। परिवारमा रमाइलो वातावरण बन्नेछ।

वृश्चिक राशि

आज जिम्मेवारी बढ्न सक्छ। काममा दबाब भए पनि तपाईंको मेहनतले सकारात्मक परिणाम ल्याउनेछ। आर्थिक लाभको संकेत भए पनि खर्च पनि बढ्न सक्छ। परिवारबाट सहयोग प्राप्त हुनेछ। पुराना समस्या समाधानतर्फ जाने सम्भावना छ। स्वास्थ्यतर्फ आरामको कमीले थकान बढ्न सक्छ।

धनु राशि

आज नयाँ अवसर र नयाँ योजना दुवै प्राप्त हुन सक्छन्। आत्मविश्वास बढ्नेछ र रोकिएका कामहरू अघि बढ्नेछन्। यात्राबाट लाभ मिल्ने सम्भावना छ। आर्थिक रूपमा सुधारका संकेत देखिन्छन्। साथीभाइ तथा परिवारसँगको सम्बन्ध अझ राम्रो बन्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने समय हो।

मकर राशि

आज काममा स्थिरता र जिम्मेवारी दुवै बढ्नेछन्। धैर्य र मेहनतले राम्रो परिणाम ल्याउनेछ। आर्थिक रूपमा सन्तुलन कायम रहनेछ। परिवारबाट सहयोग प्राप्त हुनेछ। भविष्यका योजना र लगानीबारे सोच्ने समय अनुकूल देखिन्छ। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामले थकान बढ्न सक्छ।

कुम्भ राशि

आज सोचविचार गरेर निर्णय लिनुपर्ने दिन हो। खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ। सहकर्मी वा साथीभाइको सहयोगले काम सहज बन्नेछ। नयाँ अवसर आए पनि हतारमा निर्णय नगर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्धमा धैर्य र समझदारी आवश्यक रहनेछ। स्वास्थ्यमा सामान्य तनाव महसुस हुन सक्छ।

मीन राशि

आज मन शान्त र सकारात्मक रहनेछ। काममा क्रमिक प्रगति हुनेछ र मेहनतको फल प्राप्त हुन थाल्नेछ। परिवारबाट साथ र हौसला प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। कला, लेखन, अध्ययन वा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्न सक्छ। आर्थिक अवस्था सामान्य रहे पनि सानो लाभ प्राप्त हुने सम्भावना छ। दिन समग्रमा सुखद र सन्तुलित रहने संकेत देखिन्छ ।

Read More