२०८३ आश्विन २

प्रस्तावित निर्वाचन आयुक्तद्वयको संसदीय सुनुवाइ सुरु

काठमाडौं। सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित निर्वाचन आयुक्त गुरूप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सुनुवाइ प्रक्रिया सुरु गरेको छ।

समितिको आजको बैठकमा प्रस्तावित आयुक्तद्वयलाई आफ्नो कार्ययोजना प्रस्तुत गर्ने कार्यसूची तय गरिएको थियो। उजुरी दर्ता तथा छानबिनको प्रक्रिया पूरा भएपछि उनीहरूलाई कार्ययोजना प्रस्तुत गर्ने अवसर दिइएको हो।

बैठकमा समितिका सदस्यहरूले निर्वाचन प्रणालीलाई थप पारदर्शी, व्यवस्थित, विश्वसनीय, मितव्ययी र निष्पक्ष बनाउने उपाय, विद्यमान निर्वाचन कानुनमा आवश्यक संशोधन तथा विदेशमा रहेका नेपाली मतदाताको मतदान व्यवस्थालगायत विषयमा प्रश्न उठाउँदै प्रतिबद्धता माग गरेका थिए। ती जिज्ञासाको जवाफ प्रस्तावित आयुक्त वाग्लेले दिएका थिए भने डा. सुब्बाको सुनुवाइ केही समयपछि सुरु हुने जनाइएको छ।

समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित आयुक्तहरूलाई नतिजामुखी कार्ययोजना प्रस्तुत गर्न निर्देशन दिएका थिए।

संवैधानिक परिषद्को गत असार १९ गते बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा गुरूप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गरेको थियो। प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ बुधबार हुने कार्यतालिका छ।