काठमाडौं। विद्यालय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन–२०२५ सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई सुदृढ बनाउने विषय समेटिएको प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आज आयोजना गरेको कार्यक्रममा सार्वजनिक गरेको हो।
प्रतिवेदन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगर, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का, अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोम, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा तथा डब्लुएफपीका नेपालका देशीय निर्देशक रियाज लोधीलगायतको उपस्थितिमा सार्वजनिक गरिएको थियो।
प्रतिवेदनमा नेपालमा पाँच दशकभन्दा बढी समयदेखि सञ्चालन हुँदै आएको विद्यालय दिवा खाजा कार्यक्रमको उपलब्धि र यात्रालाई समेटिएको छ। सन् १९६७ मा सुरु भएको यो कार्यक्रम हाल देशका सबै ७७ जिल्लामा सञ्चालनमा रहेको छ र करिब ३० लाख बालबालिका प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन्। कार्यक्रमले विद्यालय भर्नादर, विद्यार्थीको नियमित उपस्थितिका साथै सिकाइ उपलब्धिमा सकारात्मक सुधार ल्याएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिवेदनअनुसार समुदाय र सहकारीमार्फत स्थानीय साना किसानसँग विद्यालयलाई जोडेर घरेलु खाजा उपलब्ध गराउने अभ्यासले विद्यार्थीको पोषण तथा स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुर्याएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्टले बालबालिकामा लगानी गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै शिक्षा, पोषण, कृषि र स्थानीय आर्थिक विकासलाई एकीकृत रूपमा अघि बढाउन विकास साझेदारको भूमिका महत्त्वपूर्ण रहेको बताए।
फिनल्याण्डका राजदूत पेट्री पुहाक्काले दिवा खाजा कार्यक्रमले बालबालिकाको शिक्षामा सहयोग पुर्याउनुका साथै सामूहिक सहकार्यको उदाहरण प्रस्तुत गरेको बताए। अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बोमले उक्त कार्यक्रममा नेपालसँग आफ्नो देशको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगरले कार्यक्रमका कारण बालबालिकामा पुड्कोपन, ख्याउटेपन र रक्तअल्पता घट्नुका साथै सिकाइ निरन्तरतामा सुधार आएको बताए। डब्लुएफपीका देशीय निर्देशक रियाज लोधीले नेपाल सरकार, विकास साझेदार र समुदायसँगको सहकार्यमार्फत खाद्य सुरक्षा र पोषण सुधार गर्दै मानव पुँजी विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नीति निर्माता, विकास साझेदार, विज्ञ तथा सरोकारवालाबीच विद्यालय दिवा खाजा कार्यक्रमको प्रभाव र भविष्यका रणनीतिबारे छलफलसमेत भएको थियो।



