काठमाडौं । बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दार्चुलाका महाकाली, चमेलिया र नौगाड खोलामा जलस्तर तथा पानीको बहाव नियमित रूपमा मापन गर्न थालिएको छ।
जल तथा मौसम विज्ञान विभागले दत्तु, कर्कले र नौगाडमा स्थापना गरेका जलमापन केन्द्रबाट दैनिक तीनपटक नदीको अवस्था मापन गरी जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा विवरण पठाउने गरिएको छ। यसबाट तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई समयमै पूर्वसूचना दिन सहज भएको अधिकारीहरूले बताएका छन्।
नेपाल–भारत सीमामा पूर्वसूचना प्रणाली
महाकाली नदी आसपासका नेपाल र भारतका बासिन्दालाई जोडेर बाढी पूर्वसूचनाका लागि ह्वाट्सएप समूह सञ्चालनमा ल्याइएको छ। समूहमा दुवै देशका करिब १५० जना आबद्ध छन्। जलमापन केन्द्रबाट प्राप्त सूचना तत्काल समूहमा पठाउँदा जोखिमका बेला पूर्वसतर्कता अपनाउन सहयोग पुगेको जनाइएको छ।
भारतको उत्तराखण्डस्थित धौलीगङ्गा बाँधबाट महाकाली नदीको बहाव प्रभावित हुन सक्ने भएकाले त्यसतर्फ पनि निगरानी भइरहेको छ। विसं २०७० मा बाँध खोलिएपछि आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गामा ठूलो क्षति पुर्याएको थियो। हाल बाँध खोल्नुपर्ने अवस्था आएमा भारतीय पक्षबाट पूर्वसूचना दिने व्यवस्था रहेको प्रशासनले जनाएको छ।
स्थानीय आपत्कालीन केन्द्रलाई सक्रिय बनाइँदै
मनसुनजन्य विपत्को जोखिमलाई ध्यानमा राख्दै जिल्लाका स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रलाई सक्रिय बनाउने निर्णय गरिएको छ। स्थानीय तहबाट प्राप्त सम्भावित विपत्सम्बन्धी सूचना जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा तत्काल पठाइने व्यवस्था मिलाइने भएको छ।
स्थानीय तहले विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्ने, खोज तथा उद्धार सामग्री तयारी अवस्थामा राख्ने र आवश्यक राहत सामग्रीको भण्डारण गर्ने व्यवस्था मिलाउने निर्णयसमेत गरेको छ।




