२०८३ आश्विन १

अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानमार्फत काठमाडौँबाट दिल्ली गएका हुन्।

भ्रमणका क्रममा नेपाल–भारत आर्थिक सम्बन्ध, द्विपक्षीय सहकार्य, विपद्पछिको पुनर्निर्माण तथा राजनीतिक र कूटनीतिक विषयमा छलफल हुने कार्यक्रम छ।

भ्रमणको पहिलो दिन बिहीबार साँझ भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग वाग्लेको भेटवार्ता तय गरिएको छ।

कूटनीतिक संवाद र भेटघाट
शुक्रबार पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा सहभागी हुने कार्यक्रम छ। त्यसै दिन भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने तथा भारत व्यापार प्रवर्द्धन संगठनले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

शनिबार भारतीय उद्योग परिसंघले आयोजना गर्ने औद्योगिक सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। त्यसपछि दिल्ली स्कुल अफ इकोनोमिक्सको विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा सहभागी भएर शनिबार साँझ ४ बजे नेपाल फर्किने कार्यक्रम छ।

भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी र नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापालगायत सहभागी छन्।