काठमाडौं। असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले बागलुङका विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार विपद्मा १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। निसीखोला र तमानखोला सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रशासनको विवरणअनुसार बाढीपहिरोले ६१ घर तथा गोठमा पूर्ण क्षति पुर्याएको छ भने थप ५१ घरमा आंशिक क्षति भएको छ। तीन झोलुङ्गे पुल बगेका छन् भने दुई प्रहरी कार्यालयमा क्षति पुगेको छ। दरमखोलाको कटानले गलकोट–९ को वडा कार्यालयसमेत बगाएको छ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार दुई जलविद्युत् आयोजनासहित एक विद्यालय, रिसोर्ट र कृषि फार्ममा क्षति पुगेको छ। विपद्मा २५६ पशुचौपाया तथा २१५ कुखुरा पनि क्षति भएका छन्।
निसीखोलामा बढी क्षति
निसीखोला–४ मा २० कच्ची र दुई पक्की घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ११ घर जोखिममा छन्। चार गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। निसीखोलाका अन्य क्षेत्रमा समेत घर तथा संरचनामा क्षति पुगेको प्रशासनले जनाएको छ।
तमानखोला–३ मा दुई घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। बडिगाड–९ खाल्लेचौरमा १६ घर पूर्ण र १४ घर आंशिक क्षतिग्रस्त भएका छन्। ढोरपाटनका वडा नं. ७ र १२ मा चार घर प्रभावित भएका छन् भने तमानखोला–४ मा आठ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
गलकोट–१ फैरसोतमा पाँच घर, दुई होटल/रिसोर्ट र एक गोठमा पूर्ण क्षति पुगेको छ। बागलुङ नगरपालिका र काठेखोलाका विभिन्न क्षेत्रमा पनि घर तथा गोठ प्रभावित भएका छन्।
१२ जनाको मृत्यु, एक बेपत्ता
बाढीपहिरोमा परी ताराखोलाका तीन, निसीखोलाका पाँच र तमानखोलाका चार जनाको मृत्यु भएको छ। तमानखोलाको पहिरोमा एक महिला अझै बेपत्ता रहेको प्रहरी प्रमुख फणिन्द्र प्रसाईँले जानकारी दिएका छन्।
निसीखोला गाउँपालिकाले विपद्बाट प्रभावित परिवारलाई नगद, खाद्यान्न र त्रिपाल वितरण गरेको छ। मृतकका परिवारलाई ५० हजार रुपैयाँ, पूर्ण क्षति भएका परिवारलाई ३० हजार रुपैयाँ र आंशिक क्षति भएका परिवारलाई १० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
हालसम्म पाँच मृतकका परिवार, पूर्ण क्षति भएका २४ परिवार र आंशिक क्षति भएका २१ परिवारलाई आर्थिक सहयोग दिइएको छ। प्रभावित परिवारलाई चामल र त्रिपालसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।



