काठमाडौं । बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर छनोट गर्ने प्रक्रिया अब स्वचालित हुने भएको छ। नेपाल बीमा प्राधिकरणले ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ तयार गरी परीक्षणसमेत गरेको छ। प्रणालीले दाबीको प्रकृति र सर्भेयरको क्षमता हेरेर उपयुक्त सर्भेयर छनोट गर्नेछ।
सर्भेयर छनोटमा नयाँ व्यवस्था
सिस्टमले सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक क्षेत्र, वरिष्ठता, पोर्टफोलियो र यसअघि पाएको कामका आधारमा जिम्मेवारी तोक्नेछ। यसबाट बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट गर्ने तथा केही सर्भेयरले बढी र केहीले कम काम पाउने गुनासो घट्ने अपेक्षा गरिएको छ।
हाल प्रणालीमा ८८ संस्थागतसहित ६८० सर्भेयरको विवरण समावेश भइसकेको छ। सर्भेयरले पाएको काम, सम्पन्न गरेको जिम्मेवारी र थप काम लिन सक्ने अवस्थासमेत प्रणालीबाट निगरानी गर्न सकिनेछ।
तालिमदेखि साइबर सुरक्षासम्म
प्राधिकरणले निर्जीवन बीमा कम्पनीका ३६ जना आईटी तथा क्लेम प्रमुखलाई प्रणालीबारे तालिम दिइसकेको छ। अब सर्भेयरलाई पनि प्रशिक्षण दिने तयारी छ भने पुनर्बीमा कम्पनीलाई समेत प्रणालीमा समेट्ने योजना रहेको छ।
पूर्ण सञ्चालनअघि प्रणालीको कार्यक्षमता र साइबर सुरक्षाको परीक्षण गरिनेछ। प्राधिकरणका अनुसार नयाँ व्यवस्थाले सर्भेयर खटाउने समय घटाउनुका साथै दाबी प्रक्रियामा पारदर्शिता, जवाफदेहिता र कामको समान वितरणमा सहयोग पुर्याउनेछ।




