२०८३ जेष्ठ १४

वर्षापछि बाढी र पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीले बिहीबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा आवागमन प्रभावित भएको जनाएको हो ।

प्राकृतिक प्रकोप र सम्भावित जोखिमका कारण कतिपय सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा ‘एकतर्फी’ रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन् । बाढी र पहिरोको सबैभन्दा बढी असर कोशी प्रदेशमा परेको प्रहरीले जनाएको छ । विशेषगरी मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथर खण्ड पूर्ण रूपमा अवरुद्ध बनेको छ ।

प्रहरीका अनुसार बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै यातायात रोकिएको छ । वैशाख २२ गतेदेखि बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

यस्तै, गण्डकी प्रदेशको म्याग्दीमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ । अन्नपूर्ण गाउँपालिका–३ जलथलेमा वैशाख १६ गते र रघुगंगा गाउँपालिका–३ तल्लो बैसरीमा जेठ ७ गते गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्डमा यातायात ‘एकतर्फी’ रूपमा मात्र सञ्चालन भइरहेको छ ।

कर्णाली प्रदेशको हुम्लामा पनि सम्भावित पहिरोको जोखिमका कारण यातायात प्रभावित बनेको छ । नाम्खा गाउँपालिका–२ स्थित हिल्सा–सिमकोट सडक खण्डमा वैशाख २९ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।